NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

कोरोना दोस्रो लहर प्रभाव : भारतमा एक करोड बढीले गुमाए रोजगारी

काठमाडौं । कोरोनाले नराम्ररी प्रभावित बनेको भारतको अर्थव्यवस्थामा पनि नराम्रो प्रभाव परेको छ । दोस्रो लहरको चपेटाले गर्दा भारतमा एक करोड बढीले रोजगारी गुमाएका छन् । एक रिपोर्टअनुसार भारतमा ९७ प्रतिशत परिवारको कमाइमा पनि कमी आएको छ । निजी थिंक ट्यांक सेन्टर फर मोनिटरिङ इन्डियन इकोनमीका कार्यकारी निर्देशक महेश व्यासले मे अन्त्यसम्म १२ प्रतिशतसम्म युवाहरु बेरोजगार हुने बताए । अप्रिलमा बेरोजगारीको दर ८ प्रतिशत थियो । गतवर्ष देशव्यापी लकडाउनका कारण बेरोजगारीको दर २३ प्रतिशतसम्म पुगेको थियो । कैयौं विशेषज्ञले संक्रमणको दोस्रो लहर उच्च बिन्दुमा पुगेको बताएका छन् । अब राज्यहरुले विस्तारै निषेधाज्ञा हटाउँदै आर्थिक गतिविधि सञ्चालन गर्नुपर्ने धारणा विशेषज्ञले राखेका छन् । जसको रोजगारी गुमेको छ उनीहरुलाई पनि रोजगारी पाउन निकै मुस्किल हुने रिपोर्टमा बताइएको छ । साथै असंगठित क्षेत्रमा जागिर छिट्टै पाइने तर गुणस्तरीय जागिर र संगठित क्षेत्रमा रोजगारीका अवसर बन्नका लागि अझै एक वर्ष लाग्ने आंकलन गरिएको छ । लकडाउन खुकुलो गर्दै जाँदा आर्थिक गतिविधि बढे पनि बेरोजगारी समस्या पूरै तरिकाले समाधान हुन नसक्ने बताइएको छ । यस्तै, उक्त रिपोर्टमा अहिलेको समय बजारमा लेबरको सहभागिता दर घटेर ४० प्रतिशतससम्म आउने अनुमान गरिएको छ । ब्यासले भारतीय अर्थव्यवस्थामा ३ देखि ४ प्रतिशतसम्म बेरोजगारी सामान्य रहेको बताएका छन् । उनले आगामी केही महिनामा बेरोजगारीको दरमा कमी आउने उल्लेख गरे । सीएमआइइले अप्रिलमा एक लाख ७५ परिवारमाथि देशव्यापी सर्वेक्षण गरेको थियो । यस सर्भेमा पछिल्लो एक वर्षमा भएको आम्दानीको चिन्ताजनक नतिजा निकालिएको छ । तीन प्रतिशत परिवारको मात्रै यसबीचमा आम्दानी बढेको पाइएको छ ।