NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

रहेनन् विवेकशील नेपाली दलका पूर्व अध्यक्ष उज्जवल थापा

काठमाडौं । कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका विवेकशील नेपाल दलका पूर्व अध्यक्ष उज्जवल थापाको निधन भएको छ । थापाका साढुँदाई नातेदार पर्ने प्रदेश नं १ का सांसद समेत रहेका उत्तमकुमार बस्नेतले पुष्टि गरेका हुन् । उनले चिकित्सकले घोषणा गर्न मात्र बाँकी रहेको बताए । स्वास्थ्य अवस्था गम्भीर बनेपछि भेन्टिलेरमा उपचाररत थापाको केही बेरअघि निधन भएको उनले बताए । बस्नेत थापाका आफ्नै साँढुदाई हुन् । पत्नीको हस्ताक्षरपछि थापाको शवलाई भेन्टिलेटरबाट बाहिर निकाल्ने तयारी गरिएको छ । अस्पतालले केही बेरमा विज्ञप्ति जारी गर्ने भएको छ । थापालाई श्वासप्रश्वासको समस्या भएपछि करिब दुई साताअघि ह्याम्स अस्पताल भर्ना गरिएको थियो । तर, त्यहाँ आइसीयू उपलब्ध नभएकाले वीरेन्द्र सैनिक अस्पतालमा लगियो र १० दिन अगाडि फेरि मेडिसिटी अस्पतालमा सारियो । मेडिसिटीको भेन्टिलेटरमा उपचाररत थापाको केही बेरअघि निधन भएको हो । थापाको सोमबार मात्रै कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । थापाको निधनपछि परिवारका सबै सदस्य मेडिसिटी अस्पताल पुगेका छन् । शुभेच्छुक र परिवारले जारी गरेकाे विज्ञप्ति उज्वल थापा हामीबिच रहनुभएन ! हाम्रा छोरा, श्रीमान्, दाइ, भान्जा, मित्र, काका, ठूलो बुबा, नाति, मामा, हजूरबुबा, ज्वाइँ, भिनाजु, विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्व संयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, हाम्रा प्रिय उज्वल बहादुर थापा, ४४, हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद (२०७८ साल जेठ १८ गते, अपराह्न ४:२५ बजे) हामीबिच रहनु भएन । हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ ! उहाँले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरू; नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेपहरु; युवाहरूलाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ ! उज्वल थापा व्यक्ति मात्र नभई, एउटा दर्शन र विचार पनि हो र सोहीमा उहाँ जीवन्त रहनु हुनेछ भन्ने हाम्रो अनुभूति हो । उहाँले देखेका सपना पूरा गरी हरेक नेपालीको मुहारमा खुसी ल्याउन हामी सबै दृढ संकल्पित छौँ ! उहाँको उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरूप्रति हामी आभारी छौँ । यस्तो विषम परिस्थितिमा धैर्य धारण गरी संयमताका साथ उज्वलको लागि साथ, सहयोग दिनुहुने र अनवरत प्रार्थना गरिरहनु भएका उज्वलका आफन्तजन, नेपाल भित्र र बाहिरका साथी तथा शुभेच्छुक सबैप्रति हामी कृतज्ञ छौँ । तपाईंहरूले व्यक्त गर्नुभएका सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ । नेपालका राष्ट्रपतिज्यू, नेपाल सरकार तथा विभिन्न राजनीतिक दलका तर्फबाट व्यक्त भएको सहयोग गर्ने इच्छा, सद्भाव र शुभेच्छाको लागि हामी कृतज्ञ छौँ । अन्तिम पटक गरिएको कोरोना भाइरस परीक्षणमा नतिजा नेगेटिभ रहेको भए पनि अहिलेको संक्रामक रोगको समयमा उहाँको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएकोले सम्भव भएसम्म सहभागी नभइदिनुहुन हामी आग्रह गर्दछौँ । उज्वल बहादुर थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट, २०७८ जेठ १८ गते