NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

बनेपाको शिल हटाइयो : कोरोना सङ्क्रमित घट्दै

बनेपा । बनेपा नगर क्षेत्रमा लगातार दुई हप्ता गरिएको शिल हटाइएको छ । नगरक्षेत्रमा सङ्क्रमित सङ्ख्या घटिरहे पनि जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञा भने आउँदो २६ गतेसम्म जारी नै राखिएको छ । शिल अवधिभर बनेपाले मर्निङवाकसमेत गर्न दिइएको थिएन । नगरद्वारा सोमबार जारी सूचनामा स्वास्थ्यका मापदण्ड अपाई अत्यावश्यक सेवामात्रै सञ्चालन गर्न पाइने तथा विहान ६ देखि १० बजेसम्म खाद्यान्न, ग्यास, तरकारी, फलफूल, खानेपानी तथा पशुको दाना बिक्री गर्ने पसल खोल्न पाइने जनाइएको छ । बैंक–वित्तीय संस्था, विद्युत्, सञ्चार कार्यालय, फोहर व्यवस्थापनका कार्यालय खोल्न पाइए पनि निजी तथा सार्वजनिक सवारी, भीडभाड हुने जिमखाना, सिनेमा हल, विद्यालय, पार्टीप्यालेस, रेष्टुरेन्ट सञ्चालन गर्न पाइने छैन् । केही दिनदेखि सङ्क्रमणदर घटिरहेको बनेपा नगरका हाल २११ पुरुषसहित ३९४ सक्रिय सङ्क्रमित छन् । हालसम्म यहाँका २२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । अन्य चार स्थानीय तहमा भने शिल कायमै छ । पनौती नगर, भुम्लु गाउँपालिका र बेथानचोक गाउँपालिकाको शिल–अवधि पनि सोमबार सकिएको छ । नमोबुद्ध नगर र रोशी गोउँपालिका शिलको समयसीमा बुधबारसम्म छ । जेठ ७ गते पाँच दिन नगर क्षेत्र शिल गरेको धुलिखेलले एकैपटक पुनः १० दिन शिलको अवधि थपेको छ । पाँचखालले भने ८ गतेदेखि एकैपटक १५ दिन नगर शिल गरेको थियो । मण्डनदेउपुरले दोस्रो लहरको कोभिड–१९ नगरमा तीव्ररूपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा सङ्क्रमण, नियन्त्रण, न्यूनीकरण तथा सङ्क्रमण शृङ्खला तोड्नुपर्ने जनाउँदै १२ गतेदेखि एकैपटक १० दिन नगरक्षेत्र शिल गरेको छ । शिल गरिएका सबै तहले आफ्नो क्षेत्रमा स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्णरूपमा बन्द गरेको जनाउँदै आएका छन् । सूचना विभागबाट जारी प्रेस पासबाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइने स्थानीय तहद्वारा जारी सूचना एवं प्रेस विज्ञप्तिमा उल्लेख गरिएका छन् । जिल्ला प्रशासन कार्यालयले दोस्रोपटक थपेको निषेधाज्ञा २४ गतेसम्म छ । काभ्रेपलाञ्चोकमा ६ नगरपालिका र ७ गाउँपालिका छन् । केही गाउँपालिकाले पनि निषेधाज्ञामा थप कडाइ गरेको जनाउँदै आएका छन् ।