NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

यतिधेरै सद्भाव र माया पाएका को हुन् उज्जवल थापा ?

काठमाडौं । वर्तमान खिचातानीयुक्त राजनीतिले नागरिकमा चरम वितृष्णा छाइरहेका बेला नागरिक र विशेष गरी युवाहरुमा आशाको दियो संचार गराउने नेता हुन् उज्जवल थापा । विकृतिउन्मुख राजनीतिबाट दिक्क भएका नागरिकलाई आशाको किरण देखाउने उनै विवेकशील नेपालीका संस्थापक एवं विवेकशील साझाका पूर्व संयाेजक उज्जवल थापा भौतिक रुपमा अस्ताएका छन् । कोरोना महामारीबाट विश्व नै आक्रान्त भइरहेका बेला दोस्रो लहरले थापालाई पनि सदाको लागि यो धर्तीबाट लग्यो । कोरोना संक्रमणबाट जटिल स्वास्थ्य अवस्थापछि ह्याम्स, ग्रान्डीदेखि मेडिसिटी अस्पतालसम्म उपचार गराउँदा पनि थापालाई मेकिडल साइन्सले बचाउन सकेन । काेराेना रिपाेर्ट नेगेटिभ आए पनि संक्रमणले स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनको निधन भएको हो । आशाका उज्जवल किरण वर्षौदेखि राजनीतिक संक्रमण देखाउँदै राजनीतिक गरिरहेका परम्परागत शक्तिलाई चुनौती दिंदै विवेकशील नेपाली दल खोलेर आशा देखाउने नेता हुन् थापा । आइटी अध्ययन गरेका थापा पाँच वर्ष अमेरिका बसेर फर्किएका थिए । काल्पनिक जस्तो लाग्ने भए पनि नवीन र समृद्धि नेपालको आशा थापाले युवाहरुलाई देखाएका छन् । उनको यही आशा र भरोसाले उनको उपचारका लागि देश विदेशबाट थोरै समयमा ५० औं लाख रुपैयाँ संकलन भएको थियो । नागरिकप्रति आशा जगाउने नेतालाई बचाउन एउटा सानो सूचनालाई लाखौं रकम ओइरिएपछि उनको परिवार र शुभेच्छुकले सहयोग रकम उठाउन स्थगित नै गर्नुपरेको थियो । थापाको पार्टी राज्यको मूलधारको राजनीतिमा चर्चित र हस्तक्षेपकारी होइन । तर युवा र नागरिकमा विस्तारै अशा र वैकल्पिक भविष्यको संचार गराएर सकारात्मक प्रभाव पारिरहेको दल हो । यही दलको नेतालाई बचाउन २४ घण्टामा ५० औं लाख सहयोग रकम उठेको हो । ‘नेपाली समाजमा आशा जगाउनु काल्पनिक जस्तो देखिए पनि आशा जगाउन थापाले खेलेको भूमिका उहाँप्रति देखिएको सम्मान र सद्भावले देखाएको छ’ विवेकशील साझाका सूचना तथा संचार विभाग प्रमुख प्रकाशचन्द्र परियार भन्छन्, ‘एक्लैले सकिंदैन भन्दै सामूहिकताको भावनामा सबैलाई डोहोर्याउने सबैका प्रिय नेता हुनुहुन्छ उहाँ ।’ नेताको गुणमा खोजिने प्रष्ट वाकपटुकता र अरु जस्तो लोकप्रिय नभए पनि आशा जगाउने, सरलता, शान्त र युवाहरुलाई नेतृत्वमा विकास गर्ने उनको शैलीले धेरैलाई प्रेरित गर्दै आएको छ । शिक्षा, स्वास्थ्य र नागरिकका सरोकारका विषयमा शान्त शैलीमा खरो आवाज उठाउने थापाहरुको पहललाई धेरैले रुचाउने गरेका छन् । ‘सुरुको अभियानमा धेरै युवाहरुलाई आफ्नो अभियानमा सहभागी गराउनुभयो । कसले कति पढेको छ भनेर होइन जोस र जाँगर भएको युवा तिमीले काम गर्न सक्छौं भनेर उहाँले युवालाई विश्वास गर्नुभयो’ संयोजक परियार भन्छन् । उमेरले ७० देखि ८० वर्ष पुग्न लागेकोले पनि राजनीति नछोड्नेका लागि थापा प्रेरणाका स्रोत हुन् । उमेर ४० हाराहारी मात्रै हुँदा पनि आफू अध्यक्षसहितका पदाधिकारीमा अघि नबढी उनले युवालाई अघि सारेका थिए । मिलन पाण्डे, रन्जु दर्शना, हरिस भट्ट, सुभुना बस्नेत, अतिजा राई, आलोक सुवेदी र पुकार बमसहितका नेताहरु थापाबाटै प्रेरित युवा नेता हुन् । जसले अरु युवालाई देशको लागि केही गर्नुपर्छ भन्ने आशा र हिम्मत गर्न सिकाइरहेका छन् । यतिमात्र होइन नेपाली परम्परागत राजनीतिक दलको विकल्प चाहिन्छ भन्ने हिम्मतका साथ युवाहरु अझ विशेष गरी सहरी युवालाई आफ्नो अभियानमा आश्वस्त पार्न सक्ने नाम हुन् थापा । ‘नेपालमा परम्परागत राजनीतिक दलको विकल्प चाहिन्छ भन्ने धेरै अगाडिदेखिको नागरिकको अपेक्षा थियो’ नेता परियार भन्छन्, ‘विवेकशील स्थापना गरी उज्जवल दाइले त्यो अपेक्षमा इट्टा हाल्ने काम गर्नुभएको छ । यो सानो उपलब्धी होइन ।’ ४५ वर्षीया थापाका आमा र श्रीमती छन् । २०७४ सालमा भएको निर्वाचनमा उज्जवल काठमाडौं-५ बाट उम्मेदवार बनेका थिए । नेकपा (एमाले)बाट ईश्वर पोखरेल २३ हजार २९ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका प्रकाशशरण महतले १३ हजार १६९ मत र विवेकशील साझा पार्टीका उज्जवल थापाले ६ हजार ८ सय ५३ मत ल्याएका थिए । थापाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सर्वसाधारणदेखि नेतासम्मले उनको स्वास्थ्यलाभको कामना निरन्तर गरिरहेका थिए । मृत्यु शय्यामा छटपटाइरहेका बेला र उनको निधनपछि उनप्रति व्यक्त भएका भावना र सद्भावले पनि उज्जल साँच्चै वैकल्पिक राजनीतिको एउटा तारा नै रहेको बुझ्न गाह्रो छैन । यस्तो छ विवेकशील र साझाको उतारचढाव थापाको नेतृत्वमा सन् २०१२ मा विवेकशील नेपाली दल स्थापना भएको थियो । देशको नेतृत्व अब युवाले गर्नुपर्छ भनेर विवेकशीलले परम्परागत झोले राजनीतिलाई एउटा चुनौती नै दिंदै आएको छ । पछि चर्तित पत्रकार रविन्द्र मिश्रले साझा पार्टी गठन गरेका थिए । राजनीतिमा युवा र विषयविज्ञलाई प्राथमिकता दिंदै परम्परागत राजनीतिलाई चुनौती दिने यी दुई दलबीच २०७४ साउनमा एकीकरण भएको थियो । एकीकरणपछि पार्टीको नाम विवेकशील साझा राखियो । तर, नेपाली राजनीतिको बिडम्वना जस्तै रहेको टुटफुटको राजनीतिबाट नयाँ शक्तिको रुपमा उदाउँदै गरेको यो दल पनि अछुतो रहेन । २०७५ पुस २७ मा यो पार्टी पनि फुट्न पुग्यो । थापाले पार्टी गलत दिशामा गइरहेको भन्दै रविन्द्र मिश्रको कार्यशैलीप्रति असहमति जनाउँदै समीक्षा प्रतिवेदन नै सार्वजनिक गरेका थिए । तर मिश्रले थापाको प्रतिवेदनमाथि छलफल नै नगरेपछि पार्टीमा विवाद बढ्दै जाँदा पार्टी फुटसम्म पुगेको थियो । मिश्रले एकलौटी गरेर पार्टी चलाएको आरोप थापा पक्षले लगाएको थियो । जुन विवाद बढ्दै जाँदा पार्टी फुट्न पुगेको थियो । उनै उज्जवल थापा २०७६ असोज २९ सम्म विवेकशीलका अध्यक्ष थिए । तर, राजनीतिमा नयाँ पुस्ताको पक्षमा रहेका थापाले आफू अगाडि बढेनन् । थापा अघि नबढेपछि निर्वाचनबाट मिलन पाण्डे अध्यक्ष बन्न पुगे । पाण्डे अध्यक्ष भएकै बेला विवेकशील र मिश्रको साझा पार्टीबीच एकता भएको थियो । पार्टी फुटेपछि फेरि २०७७ मंसिर २४ मा यी दुई दलबीच एकता भएर विवेकशील साझा पार्टी बन्यो । एकतापछि मिश्र अध्यक्ष र विवेकशीलबाट मिलन पाण्डे संयोजक बनाइए । विवेकशील साझा पार्टीको फुट भए पनि परमपरागत दल जस्तो एक अर्काले हिलो छ्याप्ने गाली गलौज गर्ने र तेजोबध गर्ने काम भएन । पछि थापाकै शुभेक्षामा २ पार्टीबीच एकता भयो । तर, विवेकशीलका संस्थापक उज्जवल थापा एकतापछि आफू सक्रिय भएनन् । कुनै पनि पदाधिकारीमा बस्न इन्कार गरी उनी युवालाई सक्रिय बनाउन लागे । याे पनि पढ्नुस् सामाजिक संजालमार्फत् उज्जवल थापाप्रति सम्मानको लहर, कसले के भने ?