NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

राउटे युवतीमाथि दुव्र्यवहार, मदिरा खुवाएर भिडियो बनाएपछि तीन जना पक्राउ

सुर्खेत । कर्णाली प्रदेशमा नेपालको एकमात्र फिरन्ते राउटे समुदायका युवतीलाई मदिरा खुवाएर होटेलमा भिडियो बनाउने होटेल सञ्चालकसहित तीन जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षका भुपेन्द्र बुढा र २९ वर्षका होटल सञ्चालक विनोद पुनलाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी एवं प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए । उनका अनुसार कानुनी कारबाहीका लागि घटनाको थप अनुसन्धान भइरहेको छ । पुनको होटेलमा उनीसहित तीन जना युवाले राउटे समुदायका युवतीहरूलाई लिएर आफू अर्धनग्न बनेर ‘अस्लिल’ बोल्दै बनाएको भिडिओ सामाजिक सञ्जालमा अपलोड भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती युवाहरूले भिडियोमा जबरजस्ती युवतीलाई बोल्न लगाएका छन् । हाल राउटे समुदाय गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदीको किनारामा ४६ घरधुरीका १४५ जना बसोबास गरिरहेका छन् ।