NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध गरेको छ । मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढी शुल्क लिएको पाइएमा त्यस्ता स्वास्थ्य संस्थामाथि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेशका सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा उजुरी गर्न अनुरोध गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सरकारले तोकेको भन्दा बढी शुल्क लिन गरेको जनगुनासो आएकोले उजुरी गर्न अनुरोध गरिएको बताए । उनले उजुरीको आधारमा त्यस्ता स्वास्थ्य संस्थालाई नियमानुसार कारवाही गरिने बताए । सरकारले संक्रमितको उपचार व्यवस्थापनका लागि सामान्य बिरामीलाई तीन हजार ५०० रुपैयाँ प्रतिदिन, मध्यमबिरामीका लागि सात हजार रुपैयाँ प्रतिदिन र गम्भिर प्रकृतिका बिरामीलाई १५ हजार रुपैयाँ प्रतिदिन तोकेको छ । उक्त शुल्क सरकारी अस्पताल र सरकारले तोकेका अस्पतालमा संक्रमित बिरामीको उपचार गरेवापत मन्त्रालयले ती अस्पताललाई शोधभर्ना दिने गरेको छ । सरकारले सबै सरकारी अस्पताल र मन्त्रालयले सार्वजनिक गरेको सूचिअनुसार सेवा सम्झौता गरेका नीजि अस्पतालमा संक्रमितको भने निःशुल्क उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले कुनै बिरामीले आफ्नै खर्चमा उपचार गर्न चाहेमा सरकारले तोकेको शुल्कमा ५० प्रतिशत थप शुल्क लिन सक्ने जनाएको छ ।