NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

विश्वासको मत पाएपछि मुख्यमन्त्री भट्टले भने, ‘गणतन्त्रको जित भयो, संसदीय प्रणाली जाेगाउन लाग्नेछु’

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएपछि गणतन्त्रको जित भएको बताएका छन् । विश्वासको मत पाएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको जित भएको छ । यसको थप संस्थागत विकास गर्न यो मत प्राप्त भएको हो । अब प्रदेश सरकारको सम्पूर्ण ध्यान प्रदेशको आर्थिक विकासमा केन्द्रीत हुनेछ ।’ उनले समग्र विकासको लागि पहिलेभन्दा अझै थप शसक्त रुपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । लोकतन्त्र, संविधान, गणतन्त्र, राष्ट्रियता र संसदीय प्रणालीलाई संस्थागत गरी विकासमा लाग्ने उनको भनाइ छ । ‘समग्र विकासको लागि अझै सशक्त रूपबाट काम गर्नेछु’, उनले भने, ‘संविधान, लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियता र संसदीय प्रणालीलाई बचाउने र विकास गर्ने गरी मैले काम गर्नेछु ।’ नयाँ संरचनासहितको पहिलो अनुभव भएकोले गएका तीन वर्षमा गरेका कामको प्रतिफल देखिन अझै केही समय लाग्ने मुख्यमन्त्री भट्टले बताए । नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिएका हुन् । जम्मा ५० सदस्यी प्रदेशसभामा उनले ३० मत पाएका छन् । उनको विपक्षीमा २० मत परेको थियो । जसमा एमाले ओली समूहका सात जना र २ जना जसपाका सांसदले मतदान गरेका थिए । यसअघि नै मंगलबार बिहान एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टलाई नै मत दिने भएको थियो । एमालेमा माधव समूहका जम्मा १७ सांसदले मुख्यमन्त्रीको पक्षमा मतदान गरेका छन् ।कांग्रेस भने तटस्थ बसेको छ । कांग्रेसले आवश्यक परे सरकारलाई समर्थन गर्ने नत्र तटस्थ बस्ने निर्णय गरेको थियो ।