NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

यी हुन् माओवादीका मुख्यमन्त्रीलाई विश्वासको मत हाल्ने एमालेका १७ सांसद [सूचीसहित]

काठमाडौं । मंगलबार सुदूरपश्चिम प्रदेशसभामा भएको विश्वासको मतदानमा नेकपा एमालेकै सांसदहरुको सहयोगका कारण माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकार जोगिएको छ । केन्द्रमा दुई पार्टीमा विभाजन भएपछि त्यसको असर प्रदेशमा पनि देखिएको हो । केन्द्रमा माओवादीले कांग्रेसँग मिलेर सरकार ढाल्ने क्रियाकलाप गरेसँगै नेकपा एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको थियो । सुदूरपश्चिम प्रदेशसभामा जम्मा ५२ सांसद छन् । त्यसमध्ये सबैभन्दा ठूलो दल नेकपा एमाले नै हो । जसका एक्लै २४ सांसद् छन् । प्रदेशसभामा बुहमत पुग्नका लागि २७ सांसदको आवश्यकता हो । तर, उनले ३० मत पाएका छन् । आज त्यही नेकपा एमालेको समर्थनका कारण मुख्यमन्त्री त्रिलोचन भट्टको सरकार जोगिएको छ । नेकपा एमालेका माधव नेपाल समूहका सांसदले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएका छन् । स्थायी कमिटीले विश्वासको मत नदिन निर्देशन जारी गरे पनि माधव समूहको बहुमत रहेको प्रदेशसभामा मंगलबार बिहानै एमाले संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई नै विश्वासको मत दिने निर्णय गरिसकेको थियो । एमालेकै सांसदहरुले विश्वासको मत दिँदा कांग्रेसले तटस्थ बसेरै पनि सरकार जोगियो । जसमा एमालेका १७ सांसदले विश्वासको मत दिएका हुन् । २४ मध्ये सात जनाले भने विपक्षमा मतदान गरेका छन् । यस्तै दुई सांसद रहेको जनता समाजवादी पार्टीले पनि विपक्षमा मतदान गरेको छ । सुदूरपश्चिममा रहेका दुई जसपाका सांसद महन्थ ठाकुर पक्षका हुन् । सुदूरपश्चिममा फ्लोर क्रस भएसँगै नेकपा एमालेभित्रको विवाद झन् उग्र हुने भएको छ । यसअघि कर्णालीमा माधव समूहले फ्लोर क्रस गराएर माओवादी केन्द्रको सरकार जोगाइदिएको थियो । यी हुन् माओवादी नेतृत्वको सरकारका पक्षमा मतदान गर्ने एमाले सांसदहरु १. अमरबहादुर साउद२. अर्चना गहतराज३. कुलवीर चौधरी४. कृष्णराज सुवेदी५. चुनकुमारी चौधरी६. तारा लामा तामाङ्ग७. दीर्घ सोडारी८. दुर्गाकुमारी कामी९. पूर्णा जोशी१०. प्रकाशबहादुर शाह११. प्रकाश रावल१२. बलबहादुर सोडारी१३. मनाकुमारी साउद१४. माया भट्ट१५. लालबहादुर खड्का१६. सुशीला बुढाथोकी१७. हर्कबहादुर कुँवर ।