NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

असारदेखि निषेधाज्ञा खुकुलो बनाउने तयारी

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ संक्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निशेषाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र संक्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निर्क्योल हुने जनाइएको छ । गृहप्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ् लिने क्रम जारी रहेको जानकारी दिए । ‘यसअघि ‘लकडाउन’ थियो, असारदेखि भने ‘लुज डाउन’ लागू गर्ने योजना छ, मुलुकभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने छ’, दाहालले भने, – ‘केही सहजीकरण भने पक्कै हुनेछ ।’ संक्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्युदरसमेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको छ । आ – आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रमुख जिल्ला अधिकारीलाई नै दिएकाले गृहको आवश्यक समन्वय र निर्देशनमा काम अघि बढ्नेछ । कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धि भएसँगै पछिल्लो दिन संक्रमितभन्दा निको हुनेदर उच्च हुँदै गइरहेको तथ्याङ्कल देखाएको छ । सोमबार झण्डै १८ हजारको परीक्षण गरिएकोमा चार हजार ४७२ मा संक्रमण पुष्टि भएको भएको थियो भने ६ हजार ९५१ संक्रमित निको भएका थिए । सोही अवधिमा कोरोनाबाट ९२ जनाको मृत्यु भएको छ । कोरोनाको पहिलो लहरमा जारी गरिएको बन्दाबन्दी एक्कासी खोल्दा संक्रमणले गति लिएको उदाहरण प्रस्तुत गर्दै गृह प्रवक्ता दाहालले यसपाली भने त्यो गल्ती नदोहोरिने स्पष्ट पारे । उनका अनुसार आवश्यकताका आधारमा विस्तारै खुकुलो पार्दै लगिने छ । उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्राहालय, चिडियाखाना, दर्शकसहितको खेलकूदका गतिविधि भने अझै खुल्ने छैन । मुख्यतः कृषि कर्मको बेला भएकाले त्यसलाई प्राथमिकता दिने योजना छ । दाहालले भने, – ‘दैनिक जनजीवनसँग जोडिने कुरा प्राथमिकतामा पर्छन्, वर्षाको समय छ, मल बीउ, कृषि कर्म, अत्यावश्यक जनशक्ति व्यवस्थापन, सामग्री ओसारपसार र विकास निर्माणलाई प्राथमिकता दिइने छ तर पूर्णस्वास्थ्य मापदण्ड पालनामा भने कडाइ गरिनेछ ।’ निषेधाज्ञाका कारण कोरोना नियन्त्रणमा ठूलो सहयोग मिलेको स्वास्थ्य मन्त्रालय बुझाइ छ । त्यसैले पनि एकैचोटी खुला गर्न नहुने पक्षमा मन्त्रालय रहेको छ । जोखिम कायमै रहेकाले अझै एक महिना विशेष ध्यान दिनुपर्ने स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालकया सह–प्रवक्ता डा. समीरकुमार अधिकारीको भनाइ छ ।