NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

संसदीय दलले ओली पक्षका ७ सांसदलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

धनगढी । नेकपा एमालेको सुदूरपश्चिम संसदीय दलले ७ जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन जारी गरिएको ह्वीप उल्लंघन गरेको भन्दै संसदीय दलका नेता प्रकाशबहादुर शाहले अध्यक्ष केपी शर्मा ओली पक्षका ७ जनालाई स्पष्टीकरण सोधेका हुन् । प्रदेशसभा सदस्यहरु रतन थापा, नेपालु चौधरी, लीलाधर भट्ट, पठानसिंह बोहरा, माया तामाङ, बलदेव रेग्मी र ग्याल्बोसिंह बोहरालाई स्पष्टीकरण सोधिएको छ । २६ गते बुधबार ५ बजेभित्र दलको कार्यालयमा स्पष्टीकरण बुझाउन भनिएको छ । स्पष्टीकरण नदिए वा चित्तबुझ्दो नभए दलको विधान अनुसार कारबाही गर्ने बताइएको छ । नेकपा एमाले पार्टीले विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन गरेको थियो भने संसदीय दलले पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । सभामुखसहित ५२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री भट्टले ३० मत प्राप्त गरेका छन् । प्रदेशसभामा रहेका एमालेका २४ जना मध्ये ओली पक्षका ७ जनाले विपक्षमा मतदान गरेका हुन् ।