NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

त्रिवि : परीक्षा नहुँदा दुई वर्षसम्म एउटै कक्षामा, स्नातक प्रथममा दुई ब्याच

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको पुरानो प्रथम वर्षका विद्यार्थीको परीक्षाका लागि अनलाइन फारम खुलाए पनि ५० प्रतिशतले भर्न नसकेको पाइएको छ । अनलाइन फारम भर्न नसके पनि त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले आगामी साउन दोस्रो साता भौतिक रूपमै परीक्षा लिने तयारी गरेको छ । फारम भरेको झन्डै दुई वर्षसम्म पनि प्रथम वर्षको परीक्षा दिन नपाएका साढे दुई लाख विद्यार्थी छन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीले जुनसुकै अवस्थामा र जुनसुकै विधिबाट भए पनि साउनमा परीक्षा लिने गरी तयारी भइरहेको जानकारी दिए । ५० प्रतिशत विद्यार्थीले अनलाइन फारम भर्न नसकेको र परीक्षा पनि दिन नसक्ने जानकारी आएकाले विद्यार्थी रहेकै जिल्लामा परीक्षा दिन पाउने गरी भौतिक रूपमा परीक्षा लिने तयारी भएको बताए । कोभिड–१९ को संक्रमण कम हुँदै गएकाले अनलाइनमार्फत भए पनि परीक्षा लिने उनले जानकारी दिए । त्रिभुवन विश्वविद्यालयको स्नातक प्रथम वर्षमा अहिले दुई ब्याचका विद्यार्थी छन् । ०७६ भदौमा भर्ना भएका पुरानो प्रथम वर्षका विद्यार्थीले समेत परीक्षा दिन पाएका छैनन् । त्रिविले पुरानो प्रथम वर्षका लागि परीक्षा फारम खुलेको सूचना निकाले पनि अधिकांश विद्यार्थीले भर्न पाएका थिएनन् । कोभिडका कारण प्रथम वर्षका विद्यार्थीलाई कम्तीमा दुई वर्ष लाग्ने देखिएको छ । नयाँ प्रथम वर्षको विद्यार्थीका लागि ०७७ माघमा भर्ना खुलेको थियो । नयाँ प्रथम वर्षका विद्यार्थीले हाल अध्ययन गरिरहेका छन् । मानविकीका दोस्रो वर्षका विद्यार्थीले झन्डै दुई वर्ष एउटै कक्षामा बिताउन लागेका छन् । तेस्रो वर्ष सकिने वेलामा कोभिडका कारण दोस्रो वर्ष नै चालू छ । कोभिडका कारण चलिरहेको परीक्षा रोकिएपछि उनीहरूले अहिलेसम्म तेस्रो वर्ष प्रवेश गर्न पाएका छैनन् । नयाँ पत्रिकामा खबर छ।