NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

प्रदेश २ सरकारमा सहभागी हुन जसपा र काँग्रेसबीच सहमति

काठमाडाैं । प्रदेश २ मा जनता समाजवादी पार्टी नेपाल (जसपा) नेतृत्वको सरकारमा सहभागी हुन नेपाली काँग्रेस र जसपाबीच २ बुँदे सहमति भएको छ । जसपाका तर्फबाट मुख्यमन्त्री तथा संसदीय दलका नेता लालबाबु राउत र काँग्रेसका तर्फबाट संसदीय दलका नेता रामसरोज यादवले हस्ताक्षर गर्नुभएको सहमतिपत्रमा लोकतन्त्र, संघीयता, समावेशी समानुपातिक र प्रादेशिक अधिकारको संरक्षण र सम्बद्र्धन तथा सुदृढीकरण गर्न राउत नेतृत्वको सरकारमा सहभागी हुने उल्लेख गरिएको छ । सरकारमा काँग्रेसका तर्फबाट यादवको नै नेतृत्व सहभागिता हुने सहमतिपत्रमा उल्लेख छ । यस्तै प्रादेशिक आवश्यकता र विज्ञहरुको रायसहित मन्त्रिपरिषद्को संरचना र कार्यविभाजनलाई अझ वैज्ञानिक बनाई मन्त्रिपरिषद् थपघट गर्न सकिने पनि सहमतिपत्रमा उल्लेख गरिएको छ । जसपा नेतृत्वको सरकारमा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ । आन्तरिक सहमतिअनुसार काँग्रेसले तीन र माओवादी केन्द्रले दुई मन्त्रालय पाउने बताइएको छ । मुख्यमन्त्री राउतका प्रमुख स्वकीय सचिव जितेन्द्र यादवका अनुसार कांग्रेसलाई दिइने मन्त्रालय टुंगो लागेको र केहीबेरमा कांग्रेसबाट सहभागी हुने मन्त्रीको शपथ कार्यक्रम राखिएको छ । कांग्रेसका प्रदेश २ का संसदीय दलका नेता यादवको नेतृत्वमा कांग्रेस प्रदेश २ सरकारमा सहभागी हुनेछ । यादवलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । त्यसैगरी कांग्रेसकै पर्साबाट निर्वाचित ओमप्रकाश शर्मालाई ऊर्जा र खानेपानी मन्त्रालय र सर्लाहीबाट निर्वाचित वीरेन्द्रप्रसाद सिंहलाई महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारी दिने बताइएको छ । त्यसैगरी माओवादी केन्द्रका तर्फबाट भरत साह र जगत यादव मन्त्री बन्ने पक्का भए पनि कुन मन्त्रालयको जिम्मा दिइने अझै खुल्न सकेको छैन ।सरकारमा कांग्रेस र माओवादी सहभागी हुने भएपछि मन्त्रालयको संख्या १० बनाइएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ६ मन्त्रालयलाई फुटाएर १० वटा बनाउने निर्णय गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिनुभयो । प्रदेश २ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा सञ्चार, अर्थ , भौतिक पूर्वाधार तथा यातायात , उmर्जा तथा सिंचाइ, सामाजिक विकास, उद्योग, पर्यटन तथा वन , भूमि व्यवस्था, कृषि तथा सहकारी , कानून, न्याय तथा प्रदेशसभा , वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि र महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालय कायम गरिएको छ । रासस