NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत २१ गते

‘कोरियाको कमाइ पाँच वर्षसम्म हुण्डीबाटै पठाएँँ’

काठमाडौं । रूकुमका रमेश तिवारी (नाम परिवर्तन) वैदेशिक रोजगारीको सिलसिलामा ४ वर्ष १० महिना दक्षिण कोरिया बसे । कोरियामा उनी च्याउ उत्पादन गर्ने कृषि फार्ममा काम गर्थे । फार्ममा च्याउ उत्पादन, प्रशोधन, प्याकिङ गर्ने र बजारसम्म पुर्‍याउन गाडीमा लोड गर्नुपर्थ्यो । नेपालमै केही गर्ने सोच राखेर उनी फर्किएको वर्ष दिन हुँदैछ ।

तिवारीले ५ वर्षमा राम्रै पैसा कमाए । त्यसैबाट भक्तपुरमा घडेरी जोडे । घर बनाए । तर गज्जब कुरा, कोरिया छँदा उनले जति पैसा कमाए, सबै पैसा हुण्डीमार्फत पठाए ।

सबै हुण्डीबाट ? अरू माध्यम थिएनन् र ? नेपालवाचको यो प्रश्नमा उनी सहज प्रस्तुत भए, ‘धेरै साथीले त्यसरी नै पठाउने, मलाई पनि सजिलो लाग्यो । पाँच वर्षमा मैले एक पटक पनि बैंक वा रेमिटन्समार्फत् पैसा पठाइनँ ।’

धेरै साथीले हुण्डीबाट पठाउने र सजिलो माध्यम पनि भएकाले मैले पाँच वर्षसम्म एकपटक पनि बैंक वा रेमिटन्समार्फत् पैसा पठाइनँ

उनी न्यूनतम दैनिक ८ घण्टा काम गर्थे । फार्ममा काम अलि धेरै भएको दिन अतिरिक्त काम (ओभर टाइम) पनि गर्नुपथ्र्यो । अतिरिक्त काम गरेबापत पैसा राम्रै आउँथ्यो । पैसा कमाउन गाह्रो हुने बुझेका तिवारी दक्षिण कोरिया जानु पहिले कतारमा थिए । सुरूमा तिवारी कम्पनीमै एक्ला नेपाली थिए । चार वर्षपछि दुई नेपाली महिला थपिए । काम गर्ने र बस्ने ठाउँ नजिकै थियो । शहरबाट भने च्याउ फार्म अलि टाढा थियो ।

उनको मासिक न्यूनतम पारिश्रमिक एक लाख ४० हजार रूपैयाँ हो । तर अतिरिक्त काम भएको बेला दुई लाख रूपैयाँसम्म कमाए । उनी भन्छन्, कोरियामा अहिले त न्यूनतम तलब एक लाख ८० हजार भएको छ । अहिले कृषि क्षेत्रमा काम गर्नेले दुई लाख रूपैयाँभन्दा बढी कमाउँछन् । उनका अनुसार अन्य म्यानुफ्याक्चरिङलगायत कम्पनीमा काम गर्नेले अझ धेरै पैसा कमाउँछन् । ‘त्यस्ता कम्पनीमा ओभरटाइम बढी हुन्छ । त्यही कारण कम्पनीमा काम गर्नेले अहिले मासिक अढाइ लाखदेखि तीन लाख रूपैयाँसम्म कमाउँछन्,’ उनले भने ।

यसरी आर्जन गरेको पैसा वैधानिक बाटोबाट नेपाल पठाउन सकिन्छ । तर हुण्डीजस्तो अवैध बाटो रोज्ने धेरै छन् । तिवारीका अनुसार, त्यहाँ बस्ने कामदार वर्गका मानिसलाई हुण्डी वैध वा अवैध भन्ने खासै ख्याल हुँदैन । उनी भन्छन्, ‘त्यहाँ जसरी पठाउन सजिलो र नेपालमा आफन्तको हातमा पैसा पर्दा पठाएबापत कम चार्ज काटिन्छ, त्यही माध्यम अपनाउँछन् । मैले पनि त्यही भएर नै हुण्डी गर्ने गरेको हुँ ।’

गैरआवासीय नेपाली संघ (एनआरएन) का कतिपय पदाधिकारी पनि यो सञ्जालका सञ्चालक छन् । तर उनीहरू बाहिर आफैं भने देखिँदैनन्

कोरियामा नेपाली कामदारहरूसँग हुण्डीको माध्यमसम्म सम्पर्क गराउने, पैसा संकलन गर्ने सम्पर्क सूत्र सबै नेपाली हुने तिवारी बताउँछन् । उनी भन्छन्, ‘पुरानो साथीहरूले नयाँ साथीहरूलाई हुण्डीबारे भन्छन् । नयाँले अर्को नयाँलाई भन्छ । यसरी एकपछि अर्को सम्पर्कको श्रृंखला तयार हुन्छ ।’

उनका अनुसार, गैरआवासीय नेपाली संघ (एनआरएन) का कतिपय पदाधिकारी पनि यो सञ्जालका सञ्चालक छन् । तर ती मान्छेहरु प्रत्यक्ष आफैं बाहिर भने देखिँदैनन् । उनी भन्छन्, ‘आफैं बाहिर नदेखिए पनि उनीहरूले नै हो हुण्डी गर्ने र गराउने । सारमा भन्नुपर्दा विभिन्न समयका एनआरएनका सचिव, अध्यक्ष, उपाध्यक्ष यिनीहरूनै हो हुण्डी गराउने ।’

हुण्डीबाटै पैसा पठाउँदाको फाइदाबारे तिवारी भन्छन्, ‘यसरी पैसा पठाउँदा शुल्क र समय धेरै लाग्दैन । यही कारण मैले हुण्डी गर्थेँ ।’

उनको बुझाइमा पैसाको स्रोत खुलाउन नपर्ने, प्रक्रियागत झण्झट पनि नहुने, कोरियाको आइडी पनि नचाहिने भएकाले अवैधानिक (भिसा नियम उल्लङ्घन) गरेर बसेका सबैले हुण्डीकै बाटो रोज्ने गरेका छन् ।

(हुण्डीकाे सम्पुर्ण शृंखला पढ्न यहाँ क्लिक गर्नुहोस् )

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८, ०९:०६:००

ताजा अपडेट

नेपालवाच विशेष