व्यापारको डुङ्गा डुबेपछि लोकसेवाको सहारा

इलामको ज्योति विद्या मन्दिरबाट एसएलसी दिएपछि नै मैले तय गरिसकेको थिएँ, ‘उच्च शिक्षा लिएपछि बिजनेसम्यान बन्छु ।’
त्यसको लागि पहिलो खुट्किला थियो व्यवस्थापन विषय लिएर पढ्नु । इलामकै आदर्श उच्च माध्यामिक विद्यालयमा मैले उच्च शिक्षा लिएपछि व्यापार गर्ने सोच बनाएँ ।
काम सुरु गरिहाल्ने हुटहुटी बढेपछि मैले इलाम बजारमै मोबाइल पसल खोलें । म त्यतिबेला २१ वर्षको थिएँ । कामसँगै पढाइलाई पनि निरन्तरता दिनुपर्ने थियो।
स्नातक पहिलो वर्षमा कलेज भर्ना भएको थिएँ । तर, व्यापार गर्न थालेको हुँदा कलेज जान भ्याउदैनथेँ । पसल खोलेको दुई वर्षमा व्यापारले राम्रो गति लिँदै थियो । त्यहीबेलामा इलाम बजारमा आगलागी भयो । आगलागीमा परेर निमेषभरमै पसल खरानी भयो । १५ लाख रूपैयाँ लगानी डुबेपछि व्यापारी बन्ने सपनाको पहिलो गाँसमै ढुङ्गा साबित भयो। मोबाइल बेचेर सुरु गर्ने भनिएको मेरो व्यापारिक यात्रामा ब्रेक लागेपछि म अल्मलिन थालें ।
सम्बन्धित समाचार
२२ वर्षमा अधिकृत, अब पालो सचिव हुने
मलाई पहिलैदेखि मोटरसाइकल स्टन्टमा पनि रूची थियो। व्यापारिक जीवनमा विश्राम लागेपछि स्टन्टमै आफ्नो करियर बनाऔं कि भन्ने सोचाइ पलायो । तर, यो गतिविधि घरमा बुबा आमाले रूचाउनुभएन ।
घरमा छोरो बिग्रियो भनेर बुबाआमाले धेरै चिन्ता गर्न थाल्नुभयो । एकदिन रिसमै सोधें, ‘सप्रिनचाहिँ के गर्नुपर्छ ?’ जवाफ आयो, ‘बरु लोकसेवा पढेर सरकार जागिर खा ।’
सम्बन्धित समाचार
सास नफेरी पढ्ने अभ्यास गर्थेँ
ममा इख पलायो । जसरी पनि नाम निकालेर देखाउँछु भन्ने सोचका साथ घर छोडेर काठमाडौं आएँ । काठमाडौंमा आएर सुरुमा पढ्न खोेज्दा मरिगए ध्यान दिन सकिनँ । किताबका अक्षरहरू आफैं हराएजस्तो लाग्थ्यो।
पढाइको ‘ग्याप’, पहिलो व्यापारिक प्रयासमा भएको घाटा र घर परिवारको किचलोले म ‘डिस्टर्ब’ थिएँ । मलाई आत्महत्या गर्न मन लाग्ने, काममा ध्यान नजाने, पढ्न नसक्ने समस्याले पिरोलिरहेको थियो।
सम्बन्धित समाचार
छ महिना पढेर एकैपटक पाँचवटा परीक्षा पास गरेँ
फेसबुकमा पुरूषहरूको एउटा ग्रुप छ ‘मेन्स रुम रिलोडेड’(एमआरआर) । मनको वह कता गएर पोखम्जस्तो भइरहेको थियो । एकदिन फेसबुक चलाइरहेको बेलामा त्यही ग्रुपमा आफ्नो समस्या लेखें ।
यी समस्या फेसबुकमा पोष्ट गरेपछि त्यहाँ सल्लाह दिनेको ओइरो लाग्यो । कतिले योग र ध्यान गर भन्दै थिए। आफूलाई सबैभन्दा मन नपर्ने चिज भनेकै योग र ध्यान थियो । त्यहाँ आएका कमेन्टमध्ये एकजनाको नामले मेरो ध्यान खिच्यो। डा.षड्यन्त्रकारी बाबा नाम गरेका व्यक्तिले ‘आर्ट अफ लिभिङ’ मा जाऊ भनेर लेख्नुभएको रहेछ।
एकपटक प्रयास गर्ने कि भन्ने सोचाइ आयो। मैले उहाँलाई फेसबुकमा मेसेज गरें। उहाँसँग फेसबुकमा कुुराकानी भएपछि भेट्ने कुरा भयो । त्यतिबेला म भर्खरै काठमाडौं आएको थिएँ । चिन्दै नचिनेको मान्छेसँग कसरी भेटूँजस्तो भयो। कतै किड्नी पो बेच्दिने हो कि ? भन्नेसम्मका सोचाइ आयो।
सम्बन्धित समाचार
किताबै नपढी अधिकृतमा नाम निकालेँ
तैपनि भेट्नलाई राजी भएँ । भेटिसकेपछि थाहा भयो, उहाँ पनि मेरै उमेरको हुनुुहुँदो रहेछ । उहाँकै सल्लाहमा म ‘आर्ट अफ लिभिङ’मा जान थालें । त्यहाँ योग ध्यान गर्न थालेपछि ममा विस्तारै आत्मविश्वास बढ्दै गयोे । त्यसकै प्रभाव हुनुपर्छ, पढाइप्रति रूची फेरि फर्किन थाल्यो ।
मैले लोकसेवाको फारम भर्न थालें । म र मेरा दाजुले सँगै लोकसेवाको तयारी गर्न सुरु गर्यौं।
पढाइमा ध्यान दिन थालेकोे थिएँ । पढने बेलामा मैले विशेषगरि ‘सिलेबल्स’लाई विशेष ध्यान दिन्थें। अधिकांशले तयारी गर्दा सिलेबल्स बुझ्ने प्रयास नै गर्दैनन् । त्यसो हुँदा पढेको कुरा स्पष्ट बुझिन्न ।
सम्बन्धित समाचार
१९ औं पटकको अन्तिम अवसरमा लोकसेवा पास गरेँ
अर्को, म पढेको कुरा लेख्थें । पढ्दै लेख्दै गर्दा पढेको कुरा सम्झिन सजिलो पनि हुन्छ । म लेख्ने कामलाई बढी नै जोड दिन्थें । लेख्ने बेलामा समय छुट्याएर लेख्ने प्रयास गर्थें । लोकसेवा पढ्ने धेरैले गर्ने अर्को गल्ती हो, आफूले जानेको प्रश्नको उत्तरचाहिँ धेरै समय दिएर लेख्ने, नजानेकोमा लेख्दै नलेख्ने ।
यस्तो गर्नु हुँदैन । सबै प्रश्नलाई उत्तिकै महत्व दिएर लेख्नुपर्छ। कोर्सका विषयवस्तु पढ्नेबाहेक लोकसेवामा समसामयिक विषयमा ध्यान दिनु पनि उत्तिकैै महत्वपूर्ण हुन्छ । त्यसको लागि पत्रपत्रिकामा आउने आर्टिकल, समाचार नियमित पढ्न सकिन्छ ।
करिब ६ महिना यसरी तयारी गरेर परीक्षा दिएपछि घर गएको थिएँ ।
फारम भर्दा दाजुले बुबाको फोन नम्बर हाल्नुभएको रहेछ । एकदिन बुबाको फोनको घन्टी बज्यो । हामी दुवैजनाले कम्पुटर अपरेटरको लागि परीक्षा दिएका थियौं । त्यसमा नाम निस्कियो भनेर फोन आएको रहेछ ।
सम्बन्धित समाचार
गोठालो जाँदा पनि पढ्थेँ, पहिलो पोस्टिङ्ग हुँदा सात दिन हिँडेर कार्यालय पुगेँ
घरमा हुँदा बाइक उडाएर हिँड्ने छोराले लोकसेवा पास गर्यो भनेर बुबा त बिछट्टै खुशी हुनुभएछ । त्यो खुशी उहाँले त्यतिबेला गाउँघरतिर पनि बाँड्न भ्याउनुभयो ।
जागिर खान थालेपछि मैले फेरि स्नातकको पढाइ सुरु गरें । स्नातक महेन्द्र रत्न बहुमुखी क्याम्पसबाट सकाएँ । त्यसपछि तुरुन्तै अधिकृतको लागि परीक्षा दिएँ । तर, पहिलो प्रयासमा सम्भव भएन । त्यतिबेला बाहिर गएको हुँदा तयारी पुगेको थिएन । दोस्रो पटकको प्रयासमा अधिकृतमा नाम निकालें । अहिले भूमि व्यवस्थापन तथा अभिलेख विभागमा म शाखा अधिकृतकोे रूपमा कार्यरत छु ।
सम्बन्धित समाचार
हतियार बोकेर राज्यसँग विद्रोह गर्ने विद्रोहीको लोकसेवा अनुभव: भूकम्प आउँदा नि पढिरहेँ
व्यापार गर्ने मेरो सपना बेलाबेलामा बल्झिन्छ । निकट भविष्यमा सरकारसँग स्वीकृति लिएरै भएपनि व्यापार व्यवसायमा पनि काम गर्न मन छ । अहिले भने त्यसको तृष्णा मेट्नका लागि बेलाबेलामा व्यापारसँग सम्बन्धित विषयमा ‘कोचिङ’ पनि दिइरहेको हुन्छु ।
योग र ध्यान मन नपराउने म अहिले बरू खाना खान छुटाउँछु, योग ध्यान गर्न छुटाउन्न । यसले नै मलाई लोकसेवामा आउन मद्दत गरेको हो ।
निजामतीको आकर्षण
निजी क्षेत्रको जागिरमा जस्तो तलब धेरै नभएपनि सरकारी सेवाको भिन्नै आकर्षण छ। राष्ट्रको साँच्चै सेवा गर्ने इच्छा हुनेलाई यो जत्तिको आकर्षक ठाउँ अन्त कतै छैन । यदि आर्थिक रूपमा सम्पन्न बन्ने सपना हो भनेचाहिँ सरकारी सेवामा नआउँदा हुन्छ।
मेरो अनुभवमा सरकारी सेवाबाटै देश र जनताको अवस्था नजिकबाट नियाल्न सकिन्छ । हाम्रो देशमा अझै पनि जनतालाई कहाँ कुन सेवा लिने भन्ने ज्ञान छैन भने सेवा दिनेहरूमा शासकीय प्रवृत्ति देखिन्छ । यी कुराहरूमा सुधार आउनु जरुरी छ।
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८, १३:०२:००
प्रतिक्रिया