NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

कोभिशिल्डमाथि हत्या आरोप, मेडिकल प्रोफेसरको मृत्युपछि १६ अर्ब क्षतिपूर्ति माग

काठमाडौं । महाराष्ट्रमा कोरोना भ्याक्सिनलाई लिएर विवादित घटना बाहिरिएको छ । मुम्बई उच्च अदालतमा एक अपिल दायर गर्दै एक मेडिकल प्रोफेसरका बाबुले १६ सय करोड रुपैयाँ क्षतिपूर्ति माग दावी गरेका छन् ।

उनले आफ्नी छोरीको मृत्यु कोरोना भ्याक्सिनको असर भएको अपिलमा दावी गरेका छन् । उच्च अदालतमा मुद्दा दायर गर्ने महाराष्ट्रका दिलीप लूनावत हुन् । उनकी ३३ वर्षीया छोरी स्नेलह लूनावत नागपुरमा रहेको एक मेडिकल कलेजमा प्रोफेसर थिइन् ।

दिलीपले आफ्नी छोरीको मृत्युको कारण कोरोनाविरुद्धको भ्याक्सिन भएको दावी गरेका छन् । उनले कोभिशिल्ड बनाउने सिरम इन्स्टीट्युट अफ इन्डिया, यस कम्पनीका सहयोगी बिल गेट्स, केन्द्र सरकार र राज्य सरकारका अधिकारीलाई विपक्षी बनाएका छन् ।

उनले कोभिशिल्डकै असरले आफ्नी छोरीको ज्यान गएको भन्दै विपक्षीहरूविरुद्ध करिब १६ अर्ब नेपाली रुपैयाँ बराबर क्षतिपूर्तिको दावी गर्दै मुम्बई उच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

यस्तो थियो पूरा घटना

कोरोना संक्रमित भएपछि स्नेहलले सन् २०२१ जनवरी २८ मा कोभिशिल्डको पहिलो डोज नासिकमा लिएकी थिइन् । ५ फेब्रुअरीमा उनलाई टाउको दुख्न सुरु भयो ।

चिकित्सकलाई सम्पर्क गरेपछि उनलाई माइग्रेनको औषधि दिइयो । त्यसपछि उनले ६ फेब्रुअरीमा गडगाउँको यात्रा गरेकी थिइन् । त्यसको भोलिपल्टदेखि उनलाई थकान महशुस भयो ।

नजिकैको आर्यन अस्पतालमा भर्ना भएपछि स्नेहललाई उनको ब्रेनमा ब्लीडिङ हुनसक्ने चिकित्सकले बताएका थिए । न्यूरो सर्जन नभएपछि उनलाई अर्को अस्पतालमा रेफर गरियो ।

त्यहाँ चिकित्सकले स्नेहलको दिमागमा रगतको ढिक्का परेको हुनसक्ने आशंका व्यक्त गरे । पछि उनलाई ब्रेन ह्यामरेज भयो । चिकित्सकले रगतको ढिक्का हटाउनका लागि सर्जरी गरे ।

त्यसको १४ दिनसम्म स्नेहल भेन्टिलेटरमा रहिन् । तर, उनको अवस्थामा कुनै सुधार भएन । अन्ततः १ मार्च २०२१ मा उनको मृत्यु भयो ।

भ्याक्सिन सुरक्षित रहेको दावी गलत : लूनावत

दिलीप लूनावतले आफ्नी छोरी स्वास्थ्यकर्मी भएका कारण भ्याक्सिन लगाउनका लागि दवाव दिइएको बताएका छन् । उनका अनुसार डूथ कन्ट्रोलर जनरल अफ इन्डिया र अल इन्डिया इन्स्टीट्युट अफ मेडिकल साइन्सले भ्याक्सिनको सुरक्षाबारे गलत बयान दिएको छ ।

उनले आफ्नो जाहेरीमा सिरम इन्स्टीट्युटलाई भ्याक्सिन सुरक्षित भएको भन्दै गलत प्रतिक्रिया दिएर मानिसलाई भ्रममा राखेको आरोप पनि लगाएका छन् ।

उनले भने, ‘कम्पनीले भ्याक्सिनको कुनै दुष्प्रभाव छैन भनेर गरिएको दावी गलत छ । केन्द्र सरकारको आफ्टर इफेक्ट्स फलोइङ इम्यूनाइजेशन कमिटीले २ अक्टुबर २०२१ मा स्नेहलको मृत्यु भ्याक्सिनकै असरका कारण भएको पुष्टि गरिसकेको छ ।’

लूनावतले राज्यका जिम्मेवार अधिकारी र कोभिशिल्ड भ्याक्सिन निर्माता सिरम इन्स्टीट्युट पुणेका तर्फबाट आफूले माग गरेको क्षतिपूर्ति दिनुपर्ने माग जाहेरीमा उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘क्षतिपूर्ति मात्र होइन, स्नेहललाई शहीद घोषणा गर्नुपर्छ । र उसको नाममा एक सोध संस्थान पनि स्थापना गरिनुपर्छ ।’ एजेन्सी