NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

आर्थिक संकट झेलिरहेको श्रीलंकामा अहिले अवस्था कस्तो छ ?

कोलम्बो । झन्डै २ करोड २० लाख जनसंख्या भएको श्रीलंकाले अहिले गम्भीर संकटको सामना गरिरहेको छ । अर्थ अभावका कारण आयात हुन नसक्दा खाद्यान्न, पेट्रोलियम पदार्थ, ग्यासको मूल्य लगातार बढीरहेको छ ।

केही महिना यतादेखि नै संकट सुरु भएको श्रीलंकामा युक्रेन-रुस युद्धले अवस्था झन् खराब बनाइदिएको छ । अहिले श्रीलंकामा दैनिक १६ घण्टा बिजुली कटौती हुन्छ । एटिएम खाली भएका छन्, पेट्रोल पम्पमा लामो लाइन देखिन्छ ।

श्रीलंकाको केन्द्रीय बैंकका अनुसार कोरोना संक्रमणको सुरुवाती समयमा देशमा महंगी दर ५ प्रतिशतभन्दा थोरै थियो तर सन् २०२२ को फेबु्रअरीमा १८ प्रतिशतसम्म पुग्यो । यो गत वर्षको तुलनामा १३ प्रतिशत बढी हो । देशमा अत्यावश्यक सामानको आपूर्ति सीमित छ ।

त्यहाँ सुकेको खुर्सानीको मूल्य गत वर्षको तुलनामा १९० प्रतिशत बढेको छ । केन्द्रीय बैंकका अनुसार अप्रिल २०२१ मा श्रीलंकामा एक किलो स्याउको मूल्य ५५ थियो भने अहिले बढेर ११० पुगेको छ । पछिल्ला दिनमा चामलमा ६०, प्याज ६३, आलु ८९, चिनी ९५प्रतिशतले मूल्य बढेको छ ।

मानिसहरुले आवश्यक सामानहरु जम्मा गरेर राख्न थालेपछि बजारका सुपरमार्केटहरु खाली भएका छन् । औषधिको अभावले अस्पतालमा बिरामीको उपचार रोकिएको छ । जसका कारण मृत्यु हुनेको संख्या पनि बढ्ने चेतावनी चिकित्सकहरुले दिएका छन् ।

श्रीलंकाले कपडा, औषधि, गहुँ, चिनी, पेट्रोलियम पदार्थलगायत अधिकांश वस्तु आयात गर्छ । सन् २०२० मा मात्रै १.२ अर्ब डलरको पेट्रोलियम पदार्थ आयात गरेको थियो । त्यही अवधिमा २१ करोड डलरको कार, ३० करोड डलरको प्याकिङ दुध आयात गरेको थियो ।

विश्लेषकहरुले आगामी दिनमा अझ संकट बढ्ने र मानिसहरुले एक छाक मात्रै खाना खानु पर्ने अवस्था आउन सक्ने बताएका छन् ।

सन् २०२२ को फेबु्रअरीमा श्रीलंकामा ७० प्रतिशत पर्यटक युरोपबाट पुगेका थिए । त्यहाँ पर्यटन रिपोर्टका अनुसार उक्त महिनामा १५ हजा ३ सय ४० जना रुसी नागरिक श्रीलंका घुम्न पुगेका थिए । तर युक्रेनमा युद्ध सुरु भएपछि त्यहाँ रुसी पर्यटकको संख्यामा कमी भएको छ ।

यसअघि कोरोना महामारीका कारण पनि पर्यटन गतिविधि शुन्य थियो । पर्यटन गतिविधि ठप्प, निर्यातभन्दा आयात बढी भएका कारण बढ्दो व्यापारिक घाटा, वैदेशिक ऋणका कारण त्यहाँको अर्थतन्त्र बिग्रिएको हो ।

यसैसाता सोमबार श्रीलंकाले विदेशी ऋण नतिर्ने घोषणा गरेको थियो । यसका साथै अर्थव्यवस्थालाई ट्रयाकमा फर्काउन आगामी साता अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ऋण योजनाहरु छलफल गर्न लागेको छ । ऋण नतिर्ने निर्णयलाई क्रेडिट रेटिङ एजेन्सीहरुले अझै पनि डिफल्ट मानेका छैनन । यसको अर्थ श्रीलंकालाई आधिकारिक रुपमा अझै डिफल्टर घोषणा गरिएको छैन ।

अप्रिल १४ बाट श्रीलंकाको नयाँ वर्ष सिंहली सुरु हुन्छ । तर यसपटक नयाँ वर्षमा त्यहाँ कुनै हर्षोल्लास थिएन । श्रीलंकालीहरु सडकमा सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् ।

राष्ट्रपति गोटाबाय राजपाक्षे र प्रधानमन्त्री महिन्दा राजपाक्षेलाई सत्ताबाट हटाउन उनीहरुले माग गरेका छन् । राष्ट्रपति कार्यालयनजिक दुई दर्जनभन्दा बढी पाल टाँगेर बसेका सर्वसाधारणले राजपाक्षे परिवारकाे राजीनामा मागिरहेका छन् ।

श्रीलंका लोकतान्त्रिक देश भए पनि संविधानको माध्यमबाट राष्ट्रपतिलाई तानाशाहको जस्तो शक्ति दिइएको छ । राष्ट्रपति राजीनामा नदिएसम्म अन्य कुनै प्रावधानले पनि उनलाई हटाउन सक्दैन । सन् २०१९ नोभेम्बरमा बहुमतसहित सत्तामा आएका गोटाबाय आफ्नो पद छोड्ने पक्षमा छैनन । श्रीलंकामा सन् २०२४ मा निर्वाचन हुनेछ ।

राजपाक्षे परिवार पछिल्ला १८ वर्षदेखि श्रीलंकाको सत्तामा छन् । यसभन्दा अगाडि राजपाक्षे त्यहाँ निकै लोकप्रिय थिए । तर अब नागरिकहरुले यस परिवारको भ्रष्टाचारले नै देशको अर्थतन्त्र बिग्रिएको बताइरहेका छन् । हम्बनटोटा पोर्ट, मटाला राजपाक्षे विमानस्थल र कोलम्बोको विशाल लोटस टावर परियोजनामा ठूलो भ्रष्टाचार गरेको आरोप राजपाक्षे परिवारलाई लागेको छ ।

श्रीलंका कसरी फस्यो आर्थिक संकटमा ?