पाँच लाख ५० हजार थान सिटामोल निःशुल्क उपलब्ध
काठमाडौं । डेङ्गुको सङ्क्रमण बढेपछि सरकारले काठमाडौं र ललितपुरका १४ स्थानीय तह तथा उपत्यकाका १६ अस्पताललाई पाँच लाख ५० हजार थान सिटामोल उपलब्ध गराएको छ । डेङ्गु सङ्क्रमितको उपचारमा सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले ती निकाय तथा अस्पताललाई निःशुल्क वितरणका लागि पारासिटामोल उपलब्ध गराएको हो ।
काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकालाई एक–एक लाख थान, कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, बूढानीलकण्ठ, शङ्खरापुर, महालक्ष्मी र गोदावरी नगरपालिकालाई २०-२० हजार थान सिटामोल उपलब्ध गराइएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
सशस्त्र प्रहरी बल अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गलाल राष्ट्रिय हृदयरोग केन्द्र, प्रसूतिगृह, वीर अस्पताल, नरदेवी आयुर्वेद अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, नेपाल प्रहरी अस्पताल, पाटन अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र त्रिवि शिक्षण अस्पताललाई निःशुल्क वितरणका लागि सिटामोल उपलब्ध गराइएको छ ।
डेङ्गु सङ्क्रमणको विद्यमान अवस्थालाई मध्यनजर गर्दै विभिन्न औषधि तथा भण्डारण केन्द्रमा औषधि भण्डारण गरी राखिएको र आवश्यकताअनुसार आपूर्तिको व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिनुभयो । स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई सिटामोलको उत्पादन तथा आपूर्ति व्यवस्था सहज बनाउन सहजीकरण भइरहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा डेङ्गुको सङ्क्रमण अन्य स्थानको तुलनामा बढी रहेको मन्त्रालयको भनाइ छ । डेङ्गु एडिज जातका पोथी लामखुट्टेको टोकाइबाट सर्दछ । डेङ्गु सङ्क्रमण भएमा उच्च ज्वरो आउने, शरीर दुख्ने जस्ता लक्षण देखापर्ने चिकित्सकको भनाइ छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया