ललितपुर बसेर हेटौंडाको प्रमाणपत्र जारी गर्ने सरकारी चिकित्सक निलम्बित

काठमाडौं । ललितपुरमा बसेर हेटौंडाका गाईगोरु स्वस्थ रहेको प्रमाणपत्र जारी गर्ने भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र, ललितपुरका प्रमुख डा. रामप्रकाश प्रधान श्रेष्ठ निलम्बनमा परेका छन् ।
प्रधानले आफ्नो कार्यक्षेत्रमा नपर्ने हेटौंडाका गाईगोरु ढुवानीका लागि भेटेरिनरी प्रमाणपत्र जारी गरेको विषय प्रकाशमा आएपछि पशु चिकित्सकहरूको नियामककारी निकाय नेपाल पशु चिकित्सा परिषदले प्रारम्भिक अनुसन्धान गरेको थियो । प्रारम्भिक अनुसन्धानमा उनीमाथि थप अनुसन्धान गर्नुपर्ने देखिएपछि परिषद्ले निलम्बन गरेको हो ।
सोमबार बसेको परिषदको बैठकले उनीमाथि थप अनुसन्धान गर्न पशु चिकित्सा परिषद् नियमावली, २०५७ को नियम २१ को उपनियम (१) बमोजिम निलम्बनको निर्णय गरेको परिषद्का निमित्त रजिष्ट्रार डा. मनोजकुमार शाहीले जनाएका छन् ।
दुई महिनाका लागि निलम्बनमा परेका उनले अब भेटेरिनरी चिकित्सकका हैसियतमा कुनै गतिविधि गर्न पाउने छैनन् ।
सरकारी चिकित्सकले बिनापरीक्षण ललितपुर बसेर हेटौंडाको प्रमाणपत्र जारी गरेको खुलासा
डा. प्रधान श्रेष्ठको पेसागत आचरणविपरीतको हर्कतबारे नेपालवाच डटकमले समाचार लेखेको थियो ।
त्यसैगरी, अर्का पशु चिकित्सक रिकेश देव भण्डारीलाई पनि परिषद्ले निलम्बन गरेको छ । पशु चिकित्सकको आचारसंहिताविपरीत गतिविधि गरेको उजुरीपछि उनलाई निलम्बन गरिएको डा. शाहीले बताए ।
चार जनालाई भने सफाइ दिइएको छ । सफाइ पाउनेमा डा.भक्त निउरे, डा. श्यामकृष्ण तिवारी, डा. निमेश खनाल र डा. केशवप्रसाद यादव छन् । उनीहरूविरुद्ध पनि आचरणविपरीतको गतिविधि गरेको उजुरी परेको थियो । प्रारम्भिक छानबिनमा आरोप पुष्टि नभएपछि सफाइ दिइएको हो ।
निमित्त रजिष्ट्रार शाहीका अनुसार ८ जनालाई एक पटकका लागि सचेत गराइएको छ । पाँच जनाविरुद्ध आचारसंहिताविपरीत गतिविधि गरेको उजुरी परेकोमा उनीहरूमाथि अनुसन्धान चलिरहेको शाहीले जानकारी दिए ।
पशुपन्छी एक स्थानबाट अर्को स्थानमा लैजाँदा ढुवानी मापदण्डअनुसार अनिवार्य भेटेरिनरी प्रमाणपत्र जारी गर्नुपर्ने प्रावधान छ । यस्तो प्रमाणपत्र चिकित्सकले आफैं उपस्थित भएर पशु परीक्षण गरी जारी गर्नुपर्ने हचुवाका भरमा गर्ने गरेको घटना पछिल्ला दिन बढेको छ । विभागले यस्तै प्रकरणमा यसअघि पनि दुई चिकित्सकलाई निलम्बन गरिसकेको छ ।
प्रतिक्रिया