NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

१३ देखि २५ गतेसम्म, यसरी हुन्छ राष्ट्रपति निर्वाचन

काठमाडौं । निर्वाचन आयोगले फागुन २५ गते राष्टपति निर्वाचनको मिति तोकेको छ । त्यसका लागि आज मनोनयनको मिति तोकेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यक्रमअनुसार आज उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको लोत्से हलमा बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ताको समय तोकिएको हो ।

मनोनयन दर्ता गर्न उम्मेदवारलाई वंशजको आधारमा लिएको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम भएको निस्सा तथा प्रस्तावक र समर्थकका रूपमा पाँच–पाँच सांसद आवश्यक पर्छ ।

योग्यता पुगेको कुनै पनि आममतदाताले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा १० मतदातालाई प्रस्तावक र समर्थक राखेर मनोनयन दर्ता गराउन सक्ने कानुनी व्यवस्था छ ।

राष्टपतिको उम्मेदवार हुन संसद हुनैपर्ने व्यवस्था छैन ।

निर्वाचनमा संघीय संसद् र प्रदेश सभा सदस्य मतदाता हुन्छन् । उम्मेदवार हुन आममतदाता नामावलीमा नाम भए पुग्छ । तर, मनोनयन दर्ता गराउन राष्ट्रपति निर्वाचनको मतदाता प्रस्तावक र समर्थक हुनुपर्छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ११ मा उम्मेदवारको योग्यता तोकिएको छ ।

जसमा वंशजको आधारमा नेपाली नागरिक भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको, अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, कुनै संघीय कानुनले अयोग्य नभएको र निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पदबाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने व्यवस्था छ ।

निर्वाचन आयोगले स्वीकृत गरेको कार्यतालिकाअनुसार १० देखि ३ बजेसम्म मनोनयनपत्र दर्ता गरेर अपराह्न ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्नेछ ।

भोलिपल्ट १४ फागुनमा १० देखि २ बजेसम्म उम्मेदवारीको विरुद्धमा उजुरी दिने समय छुट्याइएको छ ।

१५ फागुनमा दिउँसो २ बजेभित्र मनोनयन र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र ५ बजेभित्र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

१६ फागुनमा बिहान १० बजेदेखि ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र ५ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

२५ फागुनमा १० देखि ३ बजेसम्म दुईटा मतदान केन्द्रबाट मतदान हुनेछ ।