NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

समाचारले आत्महत्या दुरुत्साहन गरेकाेमा सराेकारवालाकाे चिन्ता

काठमाडौं । अहिले आत्महत्या विश्वकै चिन्ताको विषय बनेको भन्दै सरोकारवालहरुले चिन्ता व्यक्त गरेका छन् । बिहीबार राष्ट्रिय मानसिक स्वास्थ्य सहायता संगठन कोशिशले आयोजना गरेको मनोसामाजिक सुस्वास्थ्यका लागि मिडियाको भूमिका कार्यशालामा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका हुन् ।

कार्यशालामा कोशिश नेपालका कार्यकारी प्रमुख मातृका देवकोटाले समाचारले आत्महत्यालाई थप प्रोत्साहन गर्ने गरेको बताए । एक व्यक्तिले आत्महत्या गर्दा त्यसको प्रत्यक्ष प्रभाव अन्य ६ जनामा पर्ने विभिन्न अध्ययनले देखाएको कार्यक्रममा उनले उल्लेख गरे । कुनै व्यक्तिले अकालमा मृत्युवरण गर्दा समाजमा त्यसको नकारात्मक तरंग पैदा हुने गर्छ । त्यो नकारात्मक तरंग फैलाउन सञ्जार माध्यमको पनि भूमिका देखिएको उनले तर्क गरे ।

आत्महत्या प्रयास गर्ने धेरै व्यक्ति मानसिक समस्याले पीडित हुने हुँदा यसलाई कम गर्न मनोपरामर्श तथा मानसिक स्वास्थ्य सचेतनालाई बढाउन जरुरी भएको उनले बताए । सञ्चार माध्यमले सावधानी नअपनाउँदा समाचारले समाजमा नकारात्मक प्रभाव पार्ने गरेकोसमेत विभिन्न अध्ययनले देखाएको कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

आत्महत्याका समाचार प्रकाशन प्रसारण गर्दा केही विषयमा ध्यान दिन जरुरी रहेको भन्दै कोशिशले यसमा सचेत हुन आग्रह गरेको छ ।

आत्महत्या सम्बन्धी सोच तथा योजना आएको खण्डमा ११६६ मा सम्पर्क गरी परामर्श लिन सकिने कोशिशले जनाएको छ । त्यस्तै, कार्यक्रममा मनोविद् संगिता खड्काले राम्रो लेखले समाजमा सकारात्मक सन्देश पुग्ने बताइन् ।

विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जना र प्रत्येक वर्ष आठ लाख मानिसले आत्महत्या गर्दै आएको तथ्यांक सराेकारवालाले कार्यक्रममा प्रस्तुत गरेका  थिए । विश्वमा हुने ७९ प्रतिशत आत्महत्याको कम र मध्यम आय भएका देशहरुमा हुने गर्छ ।  प्रस्तुत तथ्यांकमा आर्थिक वर्ष २०७५ / ७६ मा देशभर ५ हजार ७८५ जनाले आत्महत्या गरेका थिए भने आव २०७७ / ७८ मा ७ हजार १४१ आव ७८ / ७९ मा , ६ हजार ८३० र आव २०७९/ ८० को पुस महिनासम्म ३ हजार १६४ जनाले आत्महत्या गरेका छन् । नेपालमा अहिले दैनिक १८ जनाले आत्महत्या गर्ने गरेकाे तथ्यांकमा उल्लेख छ।