NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

अस्पतालले ब्रेनडेथ भएको जानकारी नगराउँदा अंग प्रत्यारोपण न्यून

काठमाडौं । अस्पतालहरुले ब्रेनडेथ भएको जानकारी नगराउदा अंग प्रत्यारोपण न्यून भएको सरोकारवालाहरुले बताएका छन् । आइतबार स्वास्थ्य पत्रकार मञ्च नेपाल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आयोजनामा ‘मस्तिष्क मृत्युपछि अङ्गदानमा देखिएका कानुनी तथा व्यवहारिक जटिलता’ विषयक अन्र्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले सो कुरा औल्याएका हुन् ।

नेपालमा मस्तिष्क मृत्यु  (ब्रेनडेथ)  सम्बन्धि कानुन बनेको सात वर्ष पुग्दा पनि जम्मा पाँचजना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट १३ जनाको अंग प्रत्यारोपण हुनु कम भएको जानकारहरुले कार्यक्रमा औल्याएका थिए । कार्यक्रममा मस्तिष्कमृत्युबाट अंग प्रत्यारोपण कम संख्यामा भएको स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा.विकास देवकोटाले बताए ।

उनले मन्त्रालयले अङ्गदानलाई प्रोत्साहन गरिरहेको बताउँदै सरोकारवाला निकायबीच समन्वयको अभाव रहेको उल्लेख गरे । क्रार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले नेपालमा मस्तिष्क मृत्यु सम्बन्धि कानून भए पनि यसको कार्यान्वयनमा जटिलता भएको बताए । उनले नेपाल प्रहरी , ब्रेनडेथ भएको अस्पताल र अंग प्रत्यारोपण समन्वय इकाइबीच समन्वय हुनुपर्ने कार्यक्रममा औल्याएका थिए ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.कल्पना कुमारी श्रेष्ठले हालसम्म मस्तिष्क मृत्यु भएका ३५ जना व्यक्तिको विभिन्न अस्पतालबाट खबर आएपनि पाँचजनाको मात्रै प्रत्यारोपण गर्न सकिएको बताइन् । उनले प्रत्येक १० मध्ये एक जनामा कुनै न कुनै मिर्गौला सम्बन्धी रोग हुने गरेको बताउँदै प्रत्येक वर्ष मिर्गौलाका तीन हजार नयाँ बिरामी थपिने गरेको कार्यक्रममा उल्लेख गरिन् ।

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुंगेलले मञ्चले व्रेनडेथ सम्बन्धि कार्यक्रमको सुरुवात गरेको बताउँदै यसलाई निरन्तरता दिने जानकारी दिए। कार्यक्रममा नेपाल प्रहरीका पदाधिकारीहरु, नेपाल प्रहरीका मुद्धा फाँटका अधिकृतहरु,फरेन्सिक विभागका प्रमुखहरुको, वरिष्ठ न्यूरो सर्जन डा वसन्त पन्त, नेपाल चिकित्सक संघका महासचिव डा सन्जिव तिवारी लगायतको उपस्थिति रहेको थियो ।