NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

‘हाम्रा विश्वविद्यालय सुध्रिएरमात्रै विद्यार्थीहरू विदेशिने चाप रोकिन सम्भव छैन’

काठमाडौं । शिक्षा क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका सरकारका सहसचिव डा. हरि लम्सालको बुझाइमा वर्तमान अवस्थामा शिक्षाको पहुँचमा नागरिकको सहभागिता राम्रो छ ।

जनसहभागिता बढेपनि विगतको दशकदेखि नै शिक्षाको गुणस्तर भने ज्यूँका त्यूँ रहेको उनले सुनाए । जसकारण विद्यालयको सिकाइ उपलब्धी सुध्रिन सकेको छैन । यो विद्यालयमामात्रै नभएर प्राविधिक तथा व्यवसायिक, उच्च शिक्षामा पनि व्यापक छ । त्यसैले शिक्षामा अहिलेको प्रमुख चुनौती नै समग्र शिक्षाको गुणस्तर देख्छन् उनी ।

नेपालवाचले नियमित भिडियो प्रस्तुती अन्तर्गत सञ्चालन गर्दै आएको ‘एजुकेसन डायलग’ को यसपटकको श्रृंखलामा डा. लम्सालले बुझेको नेपालको शिक्षा, चुनौती र उपायहरूबारे विस्तृतमा कुराकानी गरेको छ ।

कार्यक्रम प्रस्तोता नरोत्तम अर्यालसँग भएको उक्त संवादमा विद्यार्थीलाई कक्षाकोठासम्म ल्याएपनि उनीहरुलाई सिकाउन नसकिएको उनले बताए । विद्यार्थीको शिक्षा राम्रो हुनका लागि पाठ्यक्रम, शिक्षक, शिक्षक सिकाइको क्रियाकलाप, मूल्यांकन, शिक्षा नीति र क्रमशः घर, परिवार वातावरणीय कुराहरु आउँछन् । अहिले सबैभन्दा ठूलो चुनौती नै शिक्षण सिकाइ क्रियाकलापअन्तर्गत कक्षाकोठाभित्र हुनुपर्ने अन्तरक्रियामै  रहेको उनले बताए । यसलाई नै सुरुमा सुधार गर्नुपर्ने आवश्यकता उनले देखेका छन् ।

राज्यको घट्दै गएको जवाफदेहीतालाई जगाउनका लागि हरेक नागरिकले प्रश्न नगर्न छोड्न नहुने उनको तर्क छ । समयमा क्यालेण्डर बन्न नसक्दा तत्काल प्रश्न गर्न उनले आग्रह गरे ।

अहिले विद्यार्थीहरुको बढ्दो विदेश मोहबारे पनि अर्यालले उनीसँग जिज्ञासा राखेका छन् । अधिकांशले विद्यार्थीको विदेश मोह बढ्नुमा हाम्रा विश्वविद्यालयको खस्किदों गुणस्तरलाई औंल्याएका छन् । तर डा. लम्सालको दृष्टिकोणमा विश्वविद्यालयहरू सुध्रिएरमात्रै विद्यार्थीलाई नेपालमै रोक्न मुस्किल छ ।

मूलभूत रूपमा अधिकांश नेपाली विद्यार्थीको प्राथामिकतामा पहिला काम र त्यसपछिमात्रै पढाइ पर्ने भएकाले विश्वविद्यालय सुध्रिएरमात्रै यो समस्या समाधान नहुने तर्क उनले प्रस्तुत गरे ।

शिक्षकको क्षमता विकास, भएका स्रोतको समन्वय, शिक्षामा ऐन अभावमा रोकिएका कामहरू, नेपालको शिक्षाको आधारभूत मान्यताबारे गरिएको संवादको पूरा अंश तल भिडियोमा हेर्न सक्नुहुनेछ ।