एकै दिन दुई अभियुक्तलाई दुबईबाट पक्राउ गरी ल्याइयो

काठमाडौं । इन्टरपोल तथा यूएई प्रहरीको समन्वयमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका दुई जनालाई प्रहरीले एकै दिन नेपाल ल्याएको छ ।
विद्युतीय कारोबारको कसूरमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका प्यूठान सरूमारानी गाउँपालिका–१ का ३३ वर्षीया सगीर अहमदलाई बुधबार नेपाल फिर्ता ल्याइएको छ । अनुसन्धानको क्रममा यूएईमा रहेको खुल्न आएका अहमद विरुद्ध अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत भदौ २० गते रेड नोटिस जारी भएकोमा उक्त शाखाबाट खटिएको प्रहरीले दुबईबाट पक्राउ गरी नेपाल ल्याएको हो । साइबर ब्यूरोले उनीमाथि अनुसन्धान अघि बढाएको छ ।
त्यस्तै, जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका स्याङजा वालिङ नगरपालिका–११ भोर्लेका ३५ वर्षीय गोपाल बुढाथोकी भन्ने याम बहादुर बुढाथोकीलाई बुधबार नेपाल फिर्ता ल्याइएको छ । अनुसन्धानको क्रममा यूएईमा रहेको खुल्न आएका बुढाथोकी विरुद्ध अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट नोटिस जारी भएकोमा उक्त शाखाबाट खटिएको प्रहरीले दुबईबाट पक्राउ गरी नेपाल ल्याएको हो ।
नेपालमा अपराध गरेर विदेशमा भागेका उपर कारबाहीलाई तिव्रता दिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया