NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

अध्यागमनमा सेटिङ मिलाउने थप दुई पक्राउ

काठमाडौं । भिजिट भिसामा विदेश जानेलाई अध्यागमनमा सेटिङ मिलाउने थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एड्भिका टुर्स एण्ड ट्राभलका सञ्चालक बुद्ध लामा र कमलराज हमाललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले भिजिट भिसामा विदेश जानेलाई नक्कली कागजपत्र बनाउने र अध्यागमनमा सेटिङ मिलाउने काम गर्दै आएका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो ।

यसअघि अध्यागमन अधिकृत नरविर खड्कासहित ३६ जना पक्राउ परिसकेका छन् । थप अध्यागमन अधिकृतहरु प्रहरी छानबिनमा छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा दैनिक करिब दुई सय जनालाई भिजिट भिसाको सेटिङ मिलाइने र त्यसमा एक करोड रुपैयाँ घुस लेनदेन हुने गरेको खुलेको छ ।