ठगी गरी फरार रहेका रजिन्द्रलाई कतारबाट पक्राउ गरी ल्याइयो

काठमाडौं । ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका धनुषा औरही गाउँपालिका–५ का ४४ वर्षीय रजिन्द्र पासमानलाई प्रहरीले कतारबाट पक्राउ गरी नेपाल ल्याएको छ । एनसिबि दोहा, कतारको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने÷गराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको नेपाल प्रहरीले जनाएको छ ।
पासमान लगायत अन्य व्यक्तिहरूले पीडितको माछापुच्छ्रे बैंकको खातामा रहेको ९ लाख रूपैयाँ अनाधिकृत रूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न बैंकहरूको एटिएम कार्डहरू मार्फत निकालेर प्रयोग गरेको र अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो । अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ डिसेम्बर ७ मा उनी विरुद्ध रेड नोटिस जारी भएको थियो ।
गत साता मात्र चार जनालाई प्रहरीले विदेशबाट पक्राउ गरी ल्याएको थियो ।
प्रतिक्रिया