NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १० गते

उच्च अदालतका न्यायाधीश थपलियामाथि गम्भीर कारबाहीको तयारी

काठमाडौं । न्याय परिषद्ले उच्च अदालत सुर्खेतका न्यायाधीश नवराज थपलियामाथि गम्भीर कारबाहीको तयारी गरेको छ । छानबिन प्रतिवेदनका आधारमा न्याय परिषद्ले उनीसँग स्पष्टिकरण मागेको छ। स्पष्टिकरण चित्त नबुझेमा उनी बर्खास्तसम्म हुन सक्छन् ।

सर्वाेच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अध्यक्षताको छानबिन समितिको प्रतिवेदनका आधारमा न्यायाधीश थपलियासँग स्पष्टिकरण सोध्ने निर्णय न्याय परिषद् बैठकले गरेको हो । तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग मिलेर अदालतमा सेटिङ मिलाउने काम गरेको उजुरीका आधारमा उनीमाथि छानबिन भएको थियो । जसमा उनका कतिपय गतिविधि शंकास्पद देखिएको आधारमा थप स्पष्टिकरण लिएर कारबाही प्रक्रिया अघि बढाउन लागिएको न्याय परिषद् स्रोतले जनाएको छ । १५ दिनभित्र स्पष्टिकरण दिन उनलाई समय दिइएको छ । थपलिया भने न्याय परिषद्लाई दबाब दिन सक्रिय रहेको स्रोत बताउँछ । जग्गाको लिलामसम्बन्धि एक मुद्दा जिताइदिने भन्दै एक महिलासँग घुस लिएको पुष्टि भएपछि उनी न्याय परिषद् तानिएका हुन् ।

२०७५ को चैतमा न्यायाधीश भएका थपलिया चोलेन्द्रको निकट भएर काम गरेका थिए । न्यायाधीश हुनुअघि उनी बिद्यार्थी राजनीतिमा थिए । उनी नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति हुन् । पछिल्लो सयम उच्च अदालत सुर्खेत अन्र्तगत जुम्ला इजरासमा कार्यरत रहेका त्यहाँबाट हटाइएको छ । चोलेन्द्र प्रधानन्यायाधीश हुँदा उनी उच्च अदालत पाटनमा थिए ।