NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

सुनिताको बैंकिङ यात्रा : टेलरदेखि ब्रान्च म्यानेजरसम्म

काठमाडौं । आफ्नो करिअर उकास्न हर कोहीले संघर्ष गरिरहेका हुन्छन् ।  नेतृत्व तहसम्म पुग्न त अझै धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । यस्तो संघर्ष अझ पुरुषको तुलनामा महिलाले बढी गर्नुपर्छ ।

सामाजिक सोच, पारिवारिक जिम्मेवारीलगायत कारणले महिलालाई नेतृत्व तहमा पुग्न अझै पनि थुप्रै चुनौतीसँग जुध्नुपर्ने अवस्था छ । तैपनि धेरै महिला सामुन्नेका अवरोधहरू छिचोलेर धैर्यता र दृढताका साथ आफ्नो गन्तव्यमा अविचलित अघि बढिरहेका छन् । नबिल बैंकको इलामस्थित फिक्कल ब्रान्चकी ब्रान्च म्यानेजर सुनिता बस्नेत तिनैमध्येकी एक हुन् ।

चाहना र अवसरले मात्र महिला स्थापित हुन सक्दैनन् । सँगै उनीहरूमा दक्षता, जिम्मेवारी पूरा गर्ने आत्मविश्वास, लगनशीलता, धेर्यता पनि जरुरी हुन्छ । यिनै कुराको तालमेल मिलाएकैले सुनिता आज देशकै ठूलो वाणिज्य बैंकमध्येको एक नबिल बैंकको ब्रान्च म्यानेजर बन्न सफल भएकी छन् ।

पढ्नैका लागि बिहे

झापामा ०४३ सालमा जन्मिएकी सुनिताको परिवारको आर्थिक अवस्था कमजोर थियो । त्यसैले जन्मनेबित्तिकै उनको भेट अभावसँग भयो । बाबुआमाले उनलाई बताएअनुसार, उनी जन्मिँदा लगाइदिने एकसरो कपडासमेत थिएन परिवारसँग ।

पछि सुनिताका बाबुले स्कुलमा जागिर पाए, अकाउन्टेन्टको । त्यसपछि भने परिवारको आर्थिक अवस्था सुधारिँदै गएको सुनिता बताउँछिन् । बुवाले काम गर्ने स्कुलमा भर्ना भएकी उनले त्यहीबाट कक्षा एकदेखि उच्च माध्यमिक तहसम्मको अध्ययन पूरा गरिन् ।

बुवा विद्यालय जाँदा आमाले घर सम्हाल्थिन् । यहीबीचमा उनका बाबुआमाले सानो किराना पसल खोले । तरकारी खेती पनि लगाइयो । बाबुआमाले उमारेर फलाएको तरकारी बिक्री गर्न सुनिता र उनका भाइ बहिनी बजार जान्थे ।

उनी सानैदेखि लजालु थिइन् । घुलमिल कम हुने, अरूको अगाडि बोल्न नसक्ने, डराउने स्वभाव उनमा थियो । त्यसैले उनलाई आज यो अवस्थामा आइपुग्छु भनेर उनले सोचेकीसम्म थिइनन् ।

सुनिता ब्याचलरपछि पनि पढाइलाई निरन्तरता दिन चाहन्थिन् । तर आर्थिक अवस्था कमजोर भएकाले छोरीको मास्टर्स डिग्री गर्ने चाहना पूरा गर्न बाबुआमा असमर्थ थिए । विवाहले आफ्नो गन्तव्यमा अवरोध आउने भय पालेकी सुनिता अध्ययन पूरा नभई विवाह गर्ने मनस्थितिमा थिइनन् ।  उनीसँगै दुई भाइबहिनीको पढाइ लेखाइ अघि बढाउनुपर्ने जिम्मेवारी काँधमा रहेकाले बाबुआमा भने विवाह गरिदिने सोचमा थिए ।

गीताको एउटा भनाइ छ, जे हुन्छ, राम्रैका लागि हुन्छ । सुनिताको विवाह गरिदिने बाबुआमाको प्रस्ताव पनि उनका लागि दुरुस्त भइदियो ।  उनलाई माग्न आएका श्रीमानले बिहेपछि पढाइदिने सर्तमा मञ्जुरी जनाए ।

बिहेको कुरा चल्दै गर्दा सुनिता भर्खर २० वर्षकी  थिइन् । हुनेवाला श्रीमान् काठमाडौंमा बस्ने भएकाले मास्टर्स पढ्न जसरी पनि उनी काठमाडौं उक्लनै पर्रथ्यो । झापामा मास्टर्सको पढाइ पनि नहुने, बाबुआमाले पढाउन काठमाडौं पठाउन नसक्ने भएकाले पढ्नैका लागि बिहे गर्न राजी भएको उनी बताउँछिन् ।

बिहेपछि थपिएको जागिरको सुर्ता

बिहेको दुई महिनापछि उनको स्नातक तहको अध्ययन सकियो । तर संघर्ष बल्ल सुरु भएको थियो । एकातिर  करिअर बनाउनुपर्ने बाध्यता  थियो भने अर्कातिर नयाँ ठाउँ, नयाँ घर, संस्कार र परिवेशमा घुलमिल हुनुपर्ने  ।

‘सानोमा म बाबासँग बाहिर कतै गइरहन्थे । कहिले सपिङ, कहिले बैंक या कहिले कतै । त्यहाँ कम्युटर अगाडि बसेर मान्छेहरुले काम गरिरहेका हुन्थ्यो, मलाई पनि यस्तै कम्युटर अगाडि काम गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो,’ बालापनको एक घटना साझा गर्दै सुनिताले सुनाइन् ।

काठमाडौं पसेपछि उनलाई त्यो तृष्णाले अझै सम्मोहित ग–यो । त्यसपछि सुरु भयो, जागिर खोज्न सुनिताको दौडधुप । उनी आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रसहित जागिर माग्न उनी काठमाडौंका गल्लीगल्ली चहारिन् । तर चाहेको र खोजेको जस्तो जागिर कतै पाइनन् ।

जागिर खोज्ने क्रममै नबिल बैंक (तत्कालिन बंगलादेश बैंक) मा कर्मचारी माग गरिएको उनले कतैबाट थाहा पाइन् । त्यो उनको योग्यताअनुसारकै भ्याकेन्सी थियो । अप्लाइ गरिन् । नतिजा उनले चाहेजस्तै आएको थियो । जीवनमै पहिलो पटक उनको खुशी बेस्सरी मुस्कुरायो ।

कन्ट्राक्ट बेसमा सुनिताले ०६४ सालमा टेलरबाट काम थालेकी थिइन् ।  चार वर्षसम्म उनले कन्ट्राक्ट बेसमै काम गरिन् । त्यसपछि भने स्थायी रूपमा नियुक्त भएको र यही क्रममा स्नातकोत्तर तहको अध्ययन पूरा गरेको उनले बताइन् ।

दुईमहिने बच्चा छाडेर जागिर

पढ्ने रहरले चाँडै बिहे । बिहेपछि पढाइ र कामलाई एक साथ लिएर अघि बढ्नु पर्ने बाध्यता । यी सबको तालमेल मिलाएर सुनिता अघि बढिरहेकै थिइन् । आमा बनेपछि अझै अर्को जिम्मेवारीको भारी थपियो ।

सुत्केरी भएपछि दुई महिना बैंकले बिदा दियो । जब बिदा सकियो, उनलाई जागिरलाई निरन्तरता दिने कि नदिने भन्ने प्रश्नले गिजोल्न थाल्यो । परिवारबाट ‘जागिर नगर’ भन्ने सुझाव आएको थियो । आमा न हुन्, उनलाई पनि अन्य आमाजस्तै बच्चासँगै बसेर मातृत्वमो रस्वस्वादन गराउने चाहा थियो । सुनितालाई भावनामा बहकिने छुट छँदै थिएन, किनभने करिअर कुनै मूल्यमा उकास्नुपर्ने खाँचो थियो । त्यसैले सन्तानप्रतिको स्नेहलाई मुटुमा गाँठो पारेर परिवारको सदस्यको जिम्मा लगाएर उनले बैंकको जागिरलाई निरन्तरता दिइन् ।

दुई महिने सुत्केरी । शरीर राम्रोसँग तंग्रिएको पनि थिएन । अझै पनि आरामको जरुरत थियो, उनको शरीरलाई । त्यसै पनि बैंकको जागिरमा दबाब नै हुन्छ, ‘टाइम टु टाइम’ काम हुनुपर्छ । सुनिताले काममा भने त्यस्तो प्रेसर लिनु नपरेको सुनाइन् । बैंकमा सबैको सर्पोटले गर्दा राहत महसुस गरे उनको अनुभव छ ।

बच्चा घरीघरी बिरामी हुने भएकाले उनलाई के होला, कसो होला भनेर चिन्ताले सताउँथ्यो । तन बैंकमा भए पनि मन बच्चामा गएर बसेको हुन्थ्यो । घर र अफिस गरेर मात्र पनि उनलाई धर थिएन, पढाइ पनि सँगै अघि बढाउनु थियो । जीवनमा हरेक नखाइ गन्तव्यमा अघि बढ्नुपर्छ भन्ने सच्याइले अप्ठ्यारा परिस्थिति अघिल्तिर आउँदा हरेस नखाइ आफ्नो बाटोमा अघि बढेको सुनिता बताउँछिन् ।

‘तनाव धेरै थियो तर हरेक कुरा मिलाउँदै गए । त्यतिबेला बच्चा धेरै बढी बिरामी भइरहने । चिसोको एलर्जी थियो । अस्पताल लगिराख्नुपर्ने । भोलिपल्ट मास्टर्सको परिक्षा थियो, आज बच्चा बिरामी भइदियो, मैले बाबुलाई अस्पताल लगेर भोलिपटल्ट परिक्षा दिन गए,’ उनले विगतमा झेलेको अप्ठ्यारो परिस्थितिमध्येको एक स्मरण गरिन् ।

टेलरको जागिरदेखि ब्रान्च म्यानेजरसम्म

सुनिताले पहिलो पटक बिजुली बजार ब्रान्चबाट काम थालेकी थिइन् । सुरुमा काम गर्दा असहज महसुस गरे पनि अन्य सिनियर कर्मचारीको सहयोगले सहज भएको उनको अनुभव छ ।

उनी कामप्रति इमानदार त थिइन् नै उत्तिकै दक्ष र लगनशील पनि थिइन् । विस्तारै बैंकमा जिम्मेवारी थपिँदै गयो । त्यसपछि भने अलिक प्रेसर परेको उनी बताउँछिन् ।

टेलरबाट बैंकिङ करिअर थालेकी सुनिताले अप्रेसन डिपार्टमेन्टअन्र्तगत क्यासको जिम्मेवारी पाइन् । त्यसपछि क्लियरी, रेमिट्यान्स डिपार्टमेन्टमा पनि काम गरिन् । कर्जा डिपार्टमेन्टमा छिरेपछि भने कामको चाप बढी परेको उनी बताउँछिन् । बिजुलीबजारमा उनले ०६४ सालदेखि ०६७ सम्म काम गरिन् । त्यसपछि पुतलीसडक ब्रान्चमा पुगिन् । त्यहाँ उनले रेमिट्यान्स र क्लियरिङमा काम गरिन् । त्यसपछि उनले दुई वर्षजति बैंककै केन्द्रीय कार्यालयमा काम गरिन् ।

०७२ सालको भूकम्पछि भने सुनिता काठमाडौंबाट पुनः झापा झरिन् । झापामा रहेको बैंकको बिर्तामोड ब्रान्च उनको कार्यक्षेत्र थियो । त्यहाँ  कर्जा डिपार्टमेन्टमै बसेर लगभग ८ वर्ष काम गरेको सुनिता बताउँछिन् ।

हाल उनी नबिल बैंकबाटै इलामस्थित फिकल ब्रान्चमा पुगेकी छिन् । त्यहाँ केही समयदेखि ब्रान्च म्यानेजरका रूपमा काम गरिरहेको सुनिताले सुनाइन् ।

ब्रान्च म्यानेजर भएर जाँदाको अनुभव

धेरैजसो बैंकहरूले महिलालाई बिएम भएर पठाउन संकोच मानिरहेको अवस्थामा उनलाई भने बैंकले विश्वासका साथ जिम्मेवारी दिएको छ । सुनिता आफूलाई पत्याएर बैंकले जिम्मेवारी दिएकोमा कृतज्ञ छिन् ।

ब्रान्च म्यानेजर भएर पठाउँदा मनको एउटा कुनो खुसी थियो भने अर्को थियो । दुःखीचाहिँ किन त ? हाम्रो प्रश्न भुइँमा नखस्दै उनले त्यसको यथार्थ खुलाइन्, ‘परिवारलाई झापामै छाडेर एक्लै इलाम जानुपर्दा दुःखी थिएँ ।’

बिएम भएर त्यहाँ पुगेसँगै उनको कामको जिम्वेवारी पनि बढेको छ । ब्रान्चमा चाहिने हरेक सामानदेखि लिएर कस्टुमरसँग डिल गर्नेसम्म सबै उनले नै त्यहाँ समाल्ने गर्छिन् । तर पनि फिकल सानो बजार भएकाले त्यति धेरै प्रेसर भाने छैन ।

‘पहिले यहाँ आउनुभन्दा अगाडि गर्न सकिन्न कि भन्ने डर पनि थियो, तर त्यो डर मात्रै रहेछ, अहिले यहाँ नयाँ पुराना सबैसँग डिल गरिरहेको छु । ठूलो ब्रान्चमा हुँदा एक किसिमको हुन्थ्यो भने सानो ब्रान्चमा अर्के हुँदो रहेछ । यहाँ ओभरल हेर्नुपर्दा बिजी भइरन्छ । कामको प्रेसर त हुन्छ तर व्यवस्थापन गरिरहेको छ,’ आफ्नो कामको अनुभव सुनाइन् ।

उनी त्यहाँ पहिलो पटक बिएम भएर गएकी हुन् । पहिलो पटक बिएम भएर जाँदा त्यहाँका मानिसहरूले चकित भएर हेरेको उनको अनुभव छ । ‘म यहाँ आउँछु भनेर हल्ला भइसको थियो । सबैले अलग नै मानेर हेर्नुभयो । महिला बिएम हुँदा कुनै कुनै कस्टुमरको बोलीमा ‘ए महिला पो रहेछ’ भन्ने फिल आउँदो रहेछ, तर कुरा गर्दै गएपछि ठीकै रहेछ भनेर प्रतिक्रिया पाइरहेको छु ।’

त्यहाँ बिएम भएर गएको तीन महिनामै उनले धेरै कुरामा परिवर्तन ल्याउने प्रयास गरेकी छिन् । त्यहाँका सबै मानिस बैंकिङ च्यानलमा जोडिएका छैनन् । सुनिता त्यहाँका हरेक मानिसलाई बैंकिङ च्यानलमा जोड्ने लक्ष्यसहित अघि बढिरहेकी छन् । यही कारण उनी बिदाको दिन निजी प्रयोजनमा खर्च नगरेर ग्राहकहरूसँग भेटघाट, घुलमिलमा व्यस्त हुन्छिन् ।

नेपालको बैंकिङ क्षेत्रमा पहिलाको तुलनामा महिला कर्मचारीको संख्या बढ्दै गएपनि माथिल्लो पोष्टमा अहिले पनि न्युन रहेको उनको बुझाइ छ । ग्रामीण क्षेत्रमा त झन् बिएम प्रायः हुँदै नहुने उनको भनाइ छ ।

विकट ठाउँमा साइड भिजिटमा महिलालाई भन्दा पुरुषलाई यात्रा गर्न सहज हुने भएकाले पनि बैंकले पुरुषलाई नै बिएम बनाएर पठाउने उनले बताइन् ।

महिलालाई सर्पोटचाहिन्छ दया होइन 

सुनिताको अनुभवमा महिलालाई अघि बढ्न साथ र सहयोग चाहिन्छ । कुनै पनि काममा फोकस गरेर अगाडि बढेको अवस्थामा महिलाले नसक्ने भन्ने कुरा केही नहुने उनको तर्क छ । ‘अघि बढ्दै जाँदा बीचमा अप्ठ्याराहरू आउन सक्छन्, नकारात्मक धारणा, निराशा छाउन सक्छ, ती सबै पन्छाएर अघि बढे सफल भइन्छ,’ उनले सफलता सूत्र सुनाइन् ।

एउटा महिला सफल हुन सकारात्मक सोचले महत्त्वपूर्ण भूमिका खेल्ने उनको विचार छ । ‘अरूले गर्न सक्छ भने मैले किन नसक्ने भन्ने सोच हरेक महिलामा  आउनुपर्ने उनको धारणा छ । एक÷दुई पटक असफल हुँदैमा हतास र निराश भएर यात्रा छाड्न नहुने उनको सुझाव छ ।

त्यसो त सुनिता महिलालाई अवसर पनि चाहिने बताउँछिन् । त्यसबाहेक महिला सफल हुनको लागि परिवारको उत्तिकै साथ चाहिने उनको आनुभव छ । जागिरे महिलासँग परिवार र काम एकसाथ अघि बढाउनुपर्ने दायित्व भएकाले परिवारले साथ हौसलना दिनुपर्ने उनी बताउँछिन् ।

बैंकमा महिलालाई अवसर नै अवसर

केही गर्न खोज्नेहरूलाई हरेक क्षेत्रमा अवसर देख्छिन् सुनिता । त्यसमा पनि बैंकिङ क्षेत्रमा झन् बढी अवसर भएको उनको बुझाइ छ । ‘काम गर्न हरेक ठाउँमा चुनौती छ तर जहाँ चुनौती त्यहाँ अवसर पनि त छ,’ उनी भन्छिन् ।

कामलाई प्रेसर र बोझका रूपमा लिनुभन्दा पनि खेलको रूपमा लिँदा धेरै सहज हुने उनी बताउँछिन् । पछिल्लो समय हरेक क्षेत्रमा महिलालाई अगाडि बढाउन खोजिएको छ, त्यसमा पनि बैंकले महिलालाई थप प्रोत्साहन गरेको सुनिताको भनाइ छ । अलिकति बढी मिहिनेती र लगनशील भए बैंकमा काम गर्न गाह्रो नहुने सुनिताले बताइन् ।

महिलाको सवाल सधै उठ्नुपर्छ

नेपालमा महिला मुद्दा कुनै दिवस र विशेष कार्यक्रममा मात्रै उठ्ने गरेको भन्दै उनले असन्तुष्टि जनाइन् । वर्षमा एक दिन नारी दिवस मनाएर, कार्यक्रम गरेर नारी अधिकारयुक्त नहुने उनको बुझाइ छ । ‘यस्ता कार्यक्रमहरू हरेक दिन, हरेक ठाउँ र तवरबाट निरन्तर हुनुपर्छ,’ उनले भनिन् ।

आफ्नो अधिकारको लागि आफैं अग्रसर आवाज उठाउन पनि उनले आममहिलालाई अनुरोध गरिन् ।

‘जुन काम पुरुषले गर्न सक्छन्, त्यो काम महिलाले पनि गर्न सक्छन् । त्यसैले महिला आफूलाई कमजोर नठानी उच्च मनोबलका साथ अघि बढ्नु पर्छ,’ कुराको बिट मार्दै उनले भनिन् ।