NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २ गते

शुक्रबारसम्म सिरोहिया थुनामै, के हो अभियोग ?

काठमाडौँ । नागरिकता किर्तेसम्बन्धी कसूरमा पक्राउ परेका कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहिया कम्तिमा पनि शुक्रबारसम्म हिरासतमा बस्नु पर्ने भएको छ । धनुषा जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न बुधबार प्रहरीलाई तीन दिनको म्याद दिएको हो ।

मंगलबार काठमाडौँको थापाथलीस्थित कार्यालयबाटै पक्राउ परेका उनलाई प्रहरीले रातारात जाहेरी परेको स्थान धनुषा लगेर अनुसन्धान प्रक्रिया अघि बढाएको हो । जसअनुसार प्रहरीले बुधबार सरकारी वकिलको कार्यालयमार्फत ५ दिनको समय मागेर अनुसन्धानका लागि म्याद मागेको थियो ।तर, अदालतले ३ दिनको मात्रै समय दिएको हो । यो अवधिमा प्रहरीले अनुसन्धान गर्नेछ भने थप समय चाहिएमा शुक्रबार प्रहरीले फेरि म्याद थपका लागि अदालतसमक्ष आग्रह गर्नेछ । यदि प्रहरीले ३ दिनमै अनुसन्धान सक्यो या प्रहरीले भ्याद थपका लागि आग्रह गरेपनि अदालतले अस्वीकार गरेमा उनी रिहा हुनेछन् ।

प्रहरीले दोहोरो नागरिकता प्रकरणमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गरिएको जनाउँदै आएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई पक्राउ गर्न ६ कारण र आधार लिएर अदालतमा पक्राउ पुर्जीका लागि अनुरोध गरेको थियो । जसअनुसार सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट ३९६९८८८६ नम्बरको नेपाली नागरिकता प्रमाण पत्र लिएको तर उनले नागरिकता लिनुपूर्व नै उक्त नम्बरको नागरिकता शिवजी साहु रोसीको नाउँमा जारी भएको देखिएको उल्लेख छ ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय, धनुषाको २०८१–०१–२० को पत्र अनुसार प्राप्त जबाफमा ०३३–३४ को बालिग रेकर्डमा विदेशी बाबु– आमाबाट नेपाल अधिराज्यमा जन्म भएका नागरिकको नागरिकताहरूको दर्ता किताबमा नाम दर्ता रहेको देखिनुका साथै घासीराम मारवाडी (सिरोहिया)को सन्तानहरू गोपाल प्रसाद सिरोहिया, गोविन्द प्रसाद सिरोहिया र पुनम कुमारी सिरोहियाको नागरिकता अङ्गीकृत नेपाली भएको र नाम प्रस्ट नभएको कैलाश प्रसाद सिरोहियाको नागरिकता जन्मसिद्ध नेपाली रहेको देखिएको उल्लेख छ ।

सिरोहियाले २०५७–०६–२९ मा नागरिकताको प्रतिलिपी लिँदा जिल्ला प्रशासन कार्यालयको धनुषाको रेकर्ड पुस्तिकामा फोटो सहितको अभिलेखमा अधिकार प्राप्त अधिकारीको दस्तखत गरेको नपाइएको, जन्म मितिको महलमा १८ वर्ष उमेर उल्लेख गरेको पाइएको उक्त रेकर्डमा जन्म मिति उल्लेख नरहेको देखिएको पनि प्रहरीले जनाएको छ ।

सोही ब्यहोराको नागरिकताको प्रतिलिपिमा जन्म मितिको महलमा १८ वर्ष र कोष्टमा जन्ममिति २०१९–०८–२९ समेत लेखेको पाइएको हुँदा जन्म मितिमा उल्लेखित अंकको आकृति, उक्त प्रतिलिपिमा उल्लेख भएको उमेर र अन्य अंकहरूको आकृतिसँग मेल नखाएको तथा फरक देखिएकोले पछि कोष्टमा जन्ममिति थपी कीर्ते गरेको देखिएको प्रहरीले जनाएको छ ।

सिरोहियाले प्रथमपटक प्राप्त गरेको नागरिकता प्रमाणपत्रको जारी मितिको महलमा २०३६–०५–२५, जन्म मितिको महलमा १८ वर्ष उल्लेख गरेको पाइएको छ । तर निजले २०५७–०६–२९ माप्राप्त गरेको नागरिकताको पहिलो प्रतिलिपिमा जन्म मितिको महलमा १८ वर्ष, जन्ममिति २०१९–०८–२९ लेखेको पाइएकोले उमेर, जन्ममिति र नागरिकताको जारी मितिबिच उमेर हिसाब गर्दा १६ वर्ष ८ महिना हुन आएकाले उल्लेखित १८ वर्ष उमेर मेल नखाएको पनि प्रहरीको भनाइ छ । यसैबीच प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुले प्रधानमन्त्री प्रचण्डलाई पत्र बुझाउँदै पक्राउको विरोध गरेका छन् । सिरोहिया पक्राउको कतिपयले आलोचना गर्दैगर्दा कतिपयले चाहिँ मिडिया र अपराध फरक कुरा भएको भन्दै दोषी भएमा उनीमाथि कारबाही हुनुपर्नेमा जोड दिएको छ ।

उसो त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सिरोहियामाथिको अनुसन्धान प्रेस स्वतन्त्रतामाथिको हनन नभएको बताएको छ । पार्टीका महामन्त्री तथा प्रवक्ता डा मुकुल ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा धनुषा जिल्ला अदालतको अनुमति लिएर किर्ते नागरिकताको गम्भीर अभियोगबारे अनुसन्धान गर्न प्रहरीले सिरोहियालाई पक्राउ गरेको भन्दै विधिको शासनलाई सरकारले ख्याल गरेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा थप भनिएको छ, ‘कानुन भन्दामाथि कोही हुँदैन। जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत हो । कोही कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो । यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ ।’

अदालतको आदेश लिएर पर्याप्त आधारसहित अनुसन्धान गर्दा प्रेस स्वतन्त्रताको हनन नहुने भन्दै विज्ञप्तिमा यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउने उल्लेख गरिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष