NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १५ गते

फ्री वाइफाईबाट कारोबार गर्दा रित्तिन सक्छ खाता !

काठमाडाैं । नेपाल राष्ट्र बैंकले नगद कारोबारलाई निरुत्साहित गर्दै लैजाने र विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने नीति अगाडि सारेसँगै नेपालमा विद्युतीय बैंकिङ कारोबार उल्लेख्य रुपमा वृद्धि हुँदै गएको छ । कोरोना महामारी अघिसम्म पनि खासै प्रचलनमा नआएको विद्युतीय बैंकिङ कारोबार कोभिडपछि भने यसको चर्चा र प्रयोग दुवै ह्वातै बढ्न थालको हो ।

कुनै बेला भौतिक रुपमा बैंक तथा वित्तिय संस्थामा उपस्थित भएर घण्टौंसम्म लाइनमा बसेर बैंकिङ कारोबार गर्नुपर्ने बाध्यात्मक परिस्थिति थियो । भौतिक रुपमै बैंकिङ कारोबार गर्दा समय र खर्च दुबै खपत हुन्थ्यो भने अर्कोतिर पैसा चोरिने/हराउने डरसमेतको सामना गर्नुपथ्र्यो । पछिल्लो समय हरेक काम विद्युतीय माध्यमबाटै गर्न सकिने व्यवस्था भएसँगै ग्राहकले ठूलो राहत महसुस गर्न थालेका छन् । यो सुविधासँगै भौतिक रुपमै उपस्थित भएर कारोबार गर्नुपर्ने बाध्यता हटेको छ । सबैले घरमै बसेर विद्युतीय माध्यमबाट सुरक्षित बैंकिङ कारोबार गर्न सक्छन् ।

हिजो आज साना चियापसलदेखि ठूला व्यापारिक मलसम्म, मोबाइल टपअपदेखि होटल बुकिङसम्म विद्युतीय माध्यमबाटै भुक्तानी हुने गरेको छ । नेपाल राष्ट्र बैंकको चालु आव २०८०/०८१ को चैत्र मसान्तसम्मको तथ्यांकअनुसार मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४० लाख ५३ हजार नाघिसकेको छ । गत आवको सोही अवधिको मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४ लाख ३४ हजार थियो ।

चैत्रसम्ममा वालेट प्रयोगकर्ताको संख्या  मात्रै २ करोड २२ लाख ७७ हजार पुगेको छ । चालु आवकै असारमा वालेट प्रयोगकर्ताको संख्या १ करोड ८९ लाख ४१ हजार थियो । पछिल्लो तथ्यांकअनुसार १९ लाखभन्दा बढी इन्टरनेट प्रयोगकर्ता, १२ लाख ४० हजारभन्दा बढी कनेक्ट आइपिएस प्रयोगतकर्ता छन् ।

चैत्रसम्मको तथ्यांकअनुसार क्युआर कोडमार्फत सबैभन्दा धेरै अर्थात् एक करोड ६१ लाख पटक कारोबार भएको छ । त्यस्तै मोबाइल बैंकिङमार्फत ३ करोड ५१ लाख, इन्टरनेट बैंकिङमार्फत २ करोड ८१ लाख,वालेटमार्फत २ करोड ४४ लाख, एटिएममार्फत एक करोड ९ लाख, र कनेक्ट आइपिएसमार्फत ६० लाखभन्दा बढी पटक कारोबार भएको राष्ट्र बैंकको तथ्यांक छ ।

आजको समयमा हरेक कारेबार विद्युतीय माध्यमबाटै हुँदा यसले दैनिक जीवनमा निकै सहजता ल्याउनुका साथै समय र पैसा दुवैको वचतसमेत भएको छ । खल्तीमा पैसा नहुँदा पनि विद्युतीय बैंकिङका विभिन्न माध्यमको प्रयोग गरी भुक्तानी गर्न सकिन्छ । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भुवन कँडेल विद्युतीय माध्यमको प्रयोग गरी बैंकिङ कारोबार गर्दा ग्राहक, व्यवसायी सरकार तीनै पक्षलाई फाइदा पुग्ने बताउछन् ।

विद्युतीय माध्यमबाट बैकिङ कारोबार गर्दा जति सहज भएको छ यसका जोखिम र चुनौती पनि उत्तिकै थपिएका छन् । तर आधारभूत कुरामा सावधानी अपनाए यस्ता जोखिमबाट बच्न सकिने उनको दाबी छ ।

पूर्व कार्यकारी निर्देशक कँडेलका अनुसार कसैले चिठ्ठा पर्यो भनेर फोन गर्यो भने विश्वास गरिनहाल्ने, निश्चित नभईकन कुनै पनि लिंकहरु नखोल्ने, बैंकले उपलब्ध गराउने ओटिपी कसैलाई सेयर नगर्ने जस्ता कुरामा ध्यान दियो भने मात्रै पनि विद्युतीय माध्यमबाट कारोबार गर्दा हुने जोखिमबाट बच्न सकिन्छ ।

अनलाइन बैंकिङ कारोबार र यसका जोखिम, अनलाइन कारोबार गर्दा ध्यान दिनुपर्ने कुरालगायत विषयमा केन्द्रित रहेर नबिल बैंक लिमिटेडका पूर्व डिसिईओ विनय कुमार रेग्मीसँग सानिमा बैंक लिमिटेडका पूर्व सिईओ भुवन दहालले गरेको छलफलको पूरा अंश तल हेर्नुहोस् :