स्थानीय तहका असल अभ्यासलाई संस्थागत कसरी गर्ने ?
काठमाडौं । सामुदायिक विद्यालय सुधार धेरैका लागि अहिले पनि चुनौतीकै विषय हो । तर केही स्थानीय तहले आफ्नै बलमा शिक्षा सुधारमा लागिपरेका उदाहरण पनि भेटिन्छन्।
एक समय झण्डै बन्द हुने अवस्थामा पुगिसकेका इलामको सूर्योदय नगरपालिकाका सामुदायक विद्यालयहरु अहिले सक्रिय हुन थालेका छन् । त्यसैमध्ये विद्यार्थी अभावमा बन्द हुनै लागेको बौद्धधाम मा.वि ले अहिले निजी विद्यालयभन्दा पनि उत्कृष्ट नजिता दिन थालेको छ ।
मेयर रणबहादुर राईका अनुसार सामुदायिक विद्यालयलाई सुधार्न नगरपालिकाले अपनाएको कार्यसम्पादन सम्झौताले शिक्षक र प्रधानाध्यापकको भूमिकामा सुधार ल्यायो । त्यसले विद्यालयको गुणस्तर बढायो । त्यसअघि छोराछोरीका लागि राम्रो स्कुल खोज्दै दार्जिलिं पढ्न पठाउने अभिभावकले अब गाउँकै स्कुल रोज्न थालेका छन् ।
नगरपालिकाको यो प्रयासले शिक्षा सुधारको महत्व झल्काउँछ, जुन सिंगो देशका लागि उदाहरणीय छ ।
मधेश प्रदेशमा एकातिर भूमिहिनको संख्या बढ्दै थियो, अर्कोतिर खेतियोग्य जमिन बगरमा परिणत बन्दै थियो । बर्षौंदेखिको यो समस्याको सरल समाधान स्थानिय तहले पहिचान गरे । भूमिहीन किसानलाई बगरमा खेति गर्न लगाउने पालिकाको अवधारणाले एकातिर रोजगारी सिर्जना, अर्कातिर बगर बनेको जग्गाको रुपान्तरणसँगै जग्गाविहिनहरुको संख्यामा कटौती भयो । त्यहाँका गौशाला, कर्जन्हा, मिथिला, बर्दिबास, हरिवन नगरपालिकाले यस्तो अभ्यास गर्दै आएका छन् ।
नगरपालिकाका उपमेयर सुनिता सिंह बुढाथोकीले न्यायिक समिति, अनुगमन, महिला बालबालिका शाखार राजश्व वृद्धि र संघ संस्थासँग समन्वय गर्ने कामलाई तीव्रताका साथ अघि बढाइरहेको बताउँछिन् । यसअघिको कार्यकालमा न्यायिक समिति उत सक्रिय थिएन, सिक्ने अवस्थामै थियो । वर्तमान अवस्थामा आफूले न्यायिक समितिलाई वास्तावमै सक्रिय बनाएको उनको दाबी छ । त्यसको लागि मेलमिलापकर्ताको गठन, मेलमिलाप केन्द्रहरु र उनीहरुलाई सूचिकृत गर्नेदेखि तालिम दिने काम भएको छ । जसले मुद्दाहरुलाई त्यहीं फर्छौट गर्न मद्दत पुगेको छ ।
मिथिला नगरपालिकाको आन्तरिक स्रोतलाई व्यवस्थित गर्न राजश्व सुधार कार्यक्रम बनाउने काम भइरहेको छ । यसको कार्यान्वयनसँगै राजश्व बढ्ने लक्ष्य राखिएको छ ।
हरिवन नगरपालिकालाई मधेश प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले दुईपटक सम्म उत्कृष्ट ठहर गरिसकेको छ । स्वास्थ्य क्षेत्रमा गरेको लगानीको प्रतिफलका कारण लगातार दुईपटकसम्म नगरपालिकाले यो सफलता हासिल गरेको मेयर रमेश बुढाथोकीले बताए । अहिले हरिवन नगरपालिकामा तीन हजार भन्दा बढी प्रेसर र सुगरका विरामीले निशुल्क औषधी पाएका छन् । करिब १७ सयलाई निशुल्क थाइराइडको औषधि दिइने गरिन्छ । नेपाल सरकारले तोकेको मापदण्डअनुसार ९८ अनुसार निशुल्क दिनुपर्छ, त्यसको मात्रा नगरपालिकासँ पर्याप्त छ । त्यसको अलावा पनि एन्टिबायोटि सेवा पनि प्रशस्त उपलब्ध गराइएको छ भने विशेषज्ञ सेवा पनि नियमित सञ्चालनमा रहेको उनले बताए । मधेश प्रदेशमै थर्मल कोबुलेसन मेसिन भएको हरिवन नगरपालिकामात्रै रहेको मेयर बुढाथोकीको दाबी छ । नागरिकलाई स्वरोजगार बनाउन तालिम दिनेसँगै र नगरपालिकाले उनीहरुलाई काम खोज्न पनि मद्दत गर्छ ।
प्रदेश सांसद तथा मिथिलाका पूर्व मेयरसमेत रहेका हरिनारायण महतोले स्थानीय तहसँग लामो समय नजिक रहेर काम गरिसकेका छन् । आफ्नो कार्यकालमा मिथिला सागर पोखरिया निर्माण गरेर पर्यटनक आकर्षित गरेको उनले बताए । नगरपालिकाले आय आर्जन गर्न सक्ने काममा आफूले योजनाहरु अघि बढाएको उनको भनाई छ ।
मिथिला नगरपालिकामा अहिले खेतीयोग्य जमिनहरु बाँझो बन्दै गइरहेका छन् । यसको समाधान गर्न त्यहाँ वगर खेती कार्यक्रम भइरहेको छ । बगरमा खेती भन्ने अवधारणाले सामूहिक खेती भइरहेको छ जसले हरियाली प्रवद्र्धन भइरहेको छ भने खोलाको बाँध पनि बलियो भइरहेको छ । भूमिहिन १२३ वटा घरपरिवारलाई १२ विघा जग्गा बाँडिएको छ । त्यहाँ उनीहरुले तरकारी फलाएर आफ्नो जिविकोपार्जनसँगै विक्री पनि गरिरहेका छन् । यस्तै कार्यक्रम हरिवन नगरपालिकामा पनि सञ्चालनमा छ जसबाट २५० घर भन्दा बढी भूमिहीन परिवारले प्रत्यक्ष लाभ लिइरहेका छन् ।
हरिवनमा मधेश प्रदेशकै सबैभन्दा ठूलो खसीबजार भएको मेयर बुढाथोकीले बताए । हाल नगरपालिकाले ऋण लिएर व्यापारिक भवन बनाएको छ जुन टेन्डरको क्रममा छ । त्यहाँका खोलाबाट गिटी बालुवा पनि आम्दानीको स्रोत हो । नगरपालिकाले शहरी विकास मन्त्रालयसँगको समन्वयमा अर्को व्यापारिक भवन निर्माण गरेर भाडामा लगाउने योजनामा छ । धेरै भन्दा धेरै व्यापारीलाई करको दायरामा ल्याएको छ, जसले गर्दा आन्तरिक स्रोत वृद्धि हुँदै गएको उनले बताए । अहिले आन्तरिक राजश्व चार करोड भन्दा माथि उठ्छ यसलाई विस्तारै बढाउँदै जाने लक्ष्य लिइएको छ ।
मिथिला नगरपालिकाले गर्भवती महिलालाई लक्षित गरेर थालेको हेल्लो सिस्टर कार्यक्रम निकै प्रभावकारी रहेको उपमेयर सुनिता सिंह बुढाथोकीले बताइन् । गर्भवती महिलाको स्वास्थ्य जाँच गर्ने समय भएपछि नगरपालिकाले आफैं फोन गरेर बोलाउथ्यो । अहिले उद्यमीसँग उपमेयर भन्ने कार्यक्रम पनि सञ्चालनमा छ । महिलाहरुलाई उद्यामी बनाउनका लागि यो कार्यक्रम सुरु गर्न लागिएको हो जसमा मिथिला कला, ढाकाको उत्पादन, सर्वोत्तम पिठोको उत्पादनजस्ता क्रियाकलापलाई कार्यक्रममा राखिएको छ ।
त्यहाँ उत्पादन हुने आँपको परिकार, उखुबाट बनाउने परिकारको उत्पादनलाई पनि यो कार्यक्रममा समावेश गरिनेछ । यो भन्दा पनि महत्वपूर्ण काम आफूले भोलिको उपमेयर तयार पार्नका लागि महिलाको क्षमता विकास र नेतृत्व विकासमा काम गपरिरहेको उनले बताइन् । त्यसका लागि महिला अधिकार मञ्च बनाइएको छ । टोलदेखि वडासम्म यसका विभिन्न समितिहरु बनाएर १५ सय भन्दा महिलालाई समेटिने उनले बताइन् । अहिलेसम्म टोलस्तरमा समिति बनिसकेको छ । यसबाट महिलाहरुको आवश्यकताका आधारमा सशक्तिकरण गरिने उनको योजना छ । यो काम अन्य स्थानीय तहले पनि सिक्नुपर्नेजस्तो उनलाई लाग्छ ।
यस्ता कामले प्रोत्साहन पाएमा अझै फैलिन सक्छन् । त्यसका लागि संघीय सरकारले विशेषगरी समयमै प्रमुख प्रशासकीय अधिकृत पठाएर सहयोग गर्नुपर्ने हरिवनका मेयर रमेश बुढाथोकीले बताए । नगरपालिकामा भएको अनावश्यक खर्च घटाएर नेतृत्वले सहयोग गर्नुपर्ने उनको भनाई छ । उनको आफ्नै नगरपालिकामा विगतमा अतिथि सत्कारमामात्रै खर्च हुने गरेको ३३ लाख रुपैया घटाएर ७ लाखमा झारेको उनले सुनाए । राम्रो भन्दा पनि नेतृत्वले असल अभ्यासको सुरुवात आफैंबाट गर्नुपर्ने उनको सुझाव छ । हरिवनले अहिले उत्पादन बढाउने उद्देश्यले उत्पादन बढाउने किसानलाई अनुदान दिन थालेको छ ।
प्रदेश सांसद महतोले आफ्नो कार्यकालमा बनाएको ढल्केबरको आँखा अस्पतालले अहिले सकारात्मक प्रतिफल दिइरहेको बताए । अधिकार बाँटफाँटका सवालमा प्रदेश र स्थानीय तहबीच सधैं द्वन्द्वको अवस्था छ । दुई निकायबीचको समन्वय बलियो बनाउनुपर्ने सांसद महतोको जोड छ ।
प्रतिक्रिया