‘ट्रयाक’ खुलेको २२ वर्षपछि मजुवा-नेपाने सडक कालोपत्र

बागलुङ । बागलुङ गलकोट नगरपालिका-६ स्थित मजुवा-नेपाने सडक कालोपत्र गरिएको छ । ‘ट्रयाक’ खुलेको २२ वर्षपछि उक्त सडक कालोपत्र गरिएको हो । करिब आठ किलोमिटर लामो रहेको यो सडक बि.सं. २०६० मा ‘ट्रयाक’ खुलेको थियो । सडक खुलेको लामो समयसम्म स्तरोन्नति नहुँदा बर्खामा हिलो र हिउँदमा धुलोले आजित बनेका स्थानीय कालोपत्र भएपछि खुसी भएका छन् ।
ग्रामीण क्षेत्रलाई बजारसँग जोड्नका लागि निर्माण भएको यस सडकले गलकोट नगरपालिकाको मजुवासहित कादेस, ठानालगायतका एक दर्जन गाउँ बस्तीलाई जोडेको छ । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटले कालोपत्र गरिएको हो । पूर्वाधार विकास कार्यालय बागलुङमार्फत काम भइरहेको छ ।
निर्माण कम्पनीले पहिलो चरणमा करिब दुई किलोमिटर सडक कालोपत्रका गर्नका लागि रु. दुई करोड १३ लाख १४ हजार ७२६ मा जिम्मा पाएको पूर्वाधार विकास कार्यालय बागलुङका इञ्जिनियर चन्द्र पुनले जानकारी दिए । उनका अनुसार हालसम्म ८० प्रतिशत काम सकिएको छ । सडक कालोपत्रका लागि एम/एस जेभीले जिम्मा पाएको उनको भनाइ छ ।
बि.सं. २०८१ जेठ १८ गते सडक निर्माणका लागि सम्झौता भएको पुनले बताए । अब काम गर्ने समयावधि आगामी असार १८ गतेसम्म रहेको उनको भनाइ छ । यस वर्ष नाली निर्माण, कालोपत्र तथा ढलानको काम भएको इञ्जिनियर पुन बताउँछन् । निर्माण कम्पनीले तीव्र गतिमा काम गरेको हुँदा समयमै सकिने सम्भावना रहेको उनले बताए ।
गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले सडक खुलेको दुई दशकसम्म कालोपत्र नहुँदा नागरिकलाई यात्रा र सामान ढुवानी गर्न समस्या भएको बताए । नगरपालिकाको सडक कालोपत्रका लागि बजेट कम हुने हुँदा अहिलेसम्म गर्न नसकिएको उनको भनाइ छ । प्रदेश सरकारले गत वर्षदेखि चासो दिएर बजेट विनियोजन गरेपछि काम भएको भण्डारीले बताए ।
प्रवक्ता भण्डारीले भने, “यो सडकले गलकोटमा थुप्रै गाउँ बस्तीलाई जोडेको छ, बर्खा लाग्ना साथ गाडी हिलोमा फस्ने हुँदा निकै सास्ती थियो, हिउँदमा धुलोले सडक छेउका घरहरू ढपक्कै ढाकिन्थे, अब त्यो समस्या समाधान हुने भयो, गाउँमा किसानले उत्पादन गरेका तरकारी तथा फलफूल पनि सहज रूपमा बजार ल्याउन सकिने भएको छ, यसबाट सबैभन्दा बढी किसान लाभान्वित हुने छन् ।”
ताजा अपडेट
-
जेठ १५ गते तय भएका लोक सेवाको सबै परीक्षा स्थगित
-
ज्ञानेन्द्र शाहीको आग्रह- प्रधानमन्त्रीज्यू अति गर्नुस् अत्याचार नगर्नुहोस् !
-
क्रिकेट रंगशालाको प्यारापिट ढलान आजदेखि सुरु
-
नेपालमा वंशवादमा आधारित निरंकुश राजतन्त्र सम्भव छैन : प्रचण्ड
-
सरकारले सडक स्तरोन्नतिमा क्षति हुने २७ घर टहराको क्षतिपूर्ति उपलब्ध गराउने
प्रतिक्रिया