पक्राउ गरेर लुटपाट गर्ने तीन प्रहरी जेल चलान

काठमाडौं । काठमाडौंमा लुटपाटमा संलग्न तीन प्रहरीसहित पाँच जना जेल चलान भएका छन् । यौनकर्मी सप्लाई गर्ने समूहलाई पक्राउ गरेर लुटपाट गर्नेहरुलाई जिल्ला अदालतले थुनामा पठाएको हो ।
लुटपाटमा प्रहरी सहायक निरीक्षक सुनबहादुर तामाङ, प्रहरी सहायक हवल्दार खगराज अधिकारी र प्रहरी जवान भुवन बराल पक्राउ परेकोमा डाँका चोरी मुद्दा चलेको थियो । उनीहरु प्रहरी वृत्त महाराजगञ्जका प्रहरी हुन् । उनीहरूले एक महिनाअघि मदन पुरी र सन्तोष पुरीसँग मिलेर लुटपाट गरेका हुन् । पाँचै जना कारागार चलान भउका छन् ।
उनीहरुले २१ असोजमा बर्दीको आडमा लुटपाट गरेका हुन् । निजी गाडीमा ठमेलबाट बालुवाटार जाने क्रममा कुमार रोका र नवराज नगरकोटीलाई रोकेर लुटपाट गरेका हुन् । उनीहरू राती साढे ११ बजे छुट्टाछुट्टै गाडीमा बालुवाटार जान लागेका थिए । रोकाको गाढीमा तीन जना युवतीहरू थिए । युवतीहरु ‘सप्लाई’ गरी बेश्यावृत्ति धन्दामा लगाएकोले फसाइदिने भन्दै धम्काएर प्रहरी समेतले लुटपाट गरेको पीडितहरूको भनाई छ ।
पूर्व योजनाअनुसार पानीपोखरी सडकमा उनीहरुले गाडी रोकेर अपरिचित युवतीहरूलाई कहाँ बेच्न लैजान लागेको भन्दै धम्काएका थिए । युवतीहरुलाई नियन्त्रणमा लिई प्रहरीको सिआरभी भ्यानमा राखे । दुवै जनालाई उनीहरुले निर्मल निवासको गल्लीतर्फ लगेका थिए । जहाँ १७ हजार पाँच सय नगद लुटेका थिए । थप डेढ लाख रुपैयाँ मागेकोमा उनीहरुसँग थिएन । त्यसपछि जबरजस्ती इसेवामा पैसा हाल्न लगाएका थिए । रोकाको मोबाइलबाट सन्तोष पुरीको नम्बरमा पाँच सय ट्रान्सफर गरेका थिए । त्यस्तै, नवराज नगरकोटीको आइडीबाट २५ हजार ट्रान्सफर गराएका थिए । पैसा लिएपछि उनीहरूले पाँचै जनालाई छाडिदिएका हुन् । यसरी धम्काएर उनीहरूले ४७ हजार पाँच सय रुपैयाँ लिएका थिए । सोही रकमलाई बिगो बनाई मुद्दा दायर भएको छ । बिगो रकम कम भएपछि घटना गम्भीर प्रकृतीको भएकाले उनीहरु जेल चलान भएका हुन् ।
प्रतिक्रिया