सत्ताधारीले खेलाएको मधेस: शक्ति प्रदर्शनमा भीड देखाउन प्रयोग, अधिकार माग्दा ‘माखे साङलो’

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा अनौपचारिक रुपमा विभाजन भएको छ । प्रचण्ड–नेपाल खेमाका कार्यकर्ताहरुको एक समूह र ओली खेमाका कार्यकर्ताहरुको अर्को समूहमा नेकपा बाँडिएको छ । दुवै समूहले अहिले राजधानीसँगै देशका विभिन्न शहरमा प्रर्दशन र आमसभा गरिरहेका छन् ।२८ माघमा प्रचण्ड–नेपाल समूहले गरेको विरोध प्रदर्शनमा मधेसी मुलका मानिसहरुको बाहुल्यता देखिएको थियो । उक्त प्रदर्शनमा बर्दिवासबाट आएका शिवचरण यादवले नेपालवाचसँगको कुराकानीमा ‘आफू ओली समूहले गरेको सभाको विरोधमा पनि बोलाएको भए आउने’ बताएका थिए । उनी के कारण र कसका लागि काठमाडौं आए भन्ने थाहा नभएको बताएका थिए । यसअघि सिके राउतले काठमाडौंमा आयोजना गरेको सभामा पनि आएका उनले ‘कुनै पार्टी विशेष नभएर जसले बोलाउँछ उसकोमा आउने’ गरेको बताए । त्यसको ठीक पाँच दिनअघि कामचलाउ प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीको समूहले २३ माघमा नारायणहिटी अघि गरेको आमसभामा पनि मधेसी मुलका मानिसहरुको बाहुल्यता थियो । प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि उनका पार्टीका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतको संयोजकत्वमा काठमाडौं उपत्यकामा ‘धोती जुलुस’ निकालिएको थियो । उक्त जुलुसमा सबै जसो मधेसी मुलका मानिसहरु सहभागी थिए । प्रतिनिधिसभा विघटन भएसँगै प्रधानमन्त्री ओलीका प्रिय पात्र महेश बस्नेतले तराईंका जिल्लाहरुमा पुगेर सभा तथा जुलुस निकाल्ने गरिरहेका थिए । मुलधारको राजनीतिमा रहेका र प्रायः सत्तामा रहने नेता र दलहरुले अरु बेला मधेसी समूदायलाई बेवास्ता गरेपनि आफू सत्तामा नहुँदा र सत्ता असुरक्षित हुन लाग्दा आफ्नो शक्तिको रुपमा भने यिनै समूदायलाई प्रयोग गरिरहेका छन् । अर्थात मधेसका जनतालाई राजनीतिक पार्टीहरुले देशको नागरिकको रुपमा भन्दा ज्यादा आन्दोलनमा भिड देखाउन प्रयोग गरिने ‘बुख्याचा’ को रुपमा प्रयोग गरिरहेका छन् । मधेसमाथि मुलधारको राजनीति नेपालको राजनीतिक इतिहास हेर्ने हो भने मुलधारका राजनीतिक दल तथा नेताहरुले मधेसी समुदायलाई आफू अनुकुल मात्रै प्रयोग गरिरहेका छन् । ००७ साल यताको राजनीतिलाई केलाउँदा मधेसी समुदायलाई मात्रै नभएर तराईको भूमिलाई नै प्रयोग गरेर मुलधारको राजनीतिमा नेताहरुको उदय भएको छ । बि.पी कोइरालाको राजनीतिक यात्राको सुरुवातमा गजेन्द्र नारायण सिंह लगायतका मधेसी मुलका नेताहरुले निकै सहयोग गरेका थिए । प्रधानमन्त्री तथा नेकपाको एक खेमाका अध्यक्ष केपी शर्मा ओली जेल पर्नु अघि पनि मधेसकै भूमिमा शरण लिएर बसेका थिए । जेल जीवनअघिको समय उनले रौतहटमा बिताएका थिए ।मधेसको राजनितीलाई नजिकबाट नियालिरहेकी विश्लेषक तथा अभियन्ता रिता साह मधेसमाथि मुलधारले गर्ने राजनीति अहिले मात्रै नभएर इतिहासदेखि चलिआएको खेल भएको बताउँछिन् । राजधानीमा आन्दोलन गर्दा होस वा नेताको भाषणमा होस, मधेसलाई समावेश गर्न खोजिएको जस्तो देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाले २३ माघमा काठमाडौंमा गरेको ‘बृहत आमसभा’ मा मधेसी मुलका सत्यनारायण मण्डलसहित अन्य नेताहरुलाई वक्ताको रुपमा राखिएको थियो । अरु बेला मधेसलाई ‘माखे साङलो’ को संज्ञा दिने प्रधानमन्त्री ओली र उनको समूहले अहिले काठमाडौंमा भएको आन्दोलनमा मधेसी मुलका नेताहरुलाई उभ्याउनुले यो चुनावी रणनिती बाहेक केही पनि नभएको प्रष्ट हुन्छ । विश्लेषकहरु पनि प्रधानमन्त्री ओली र उनको पार्टीले अहिले मधेसप्रति देखाइरहेको ‘उदारभाव’ चुनावी राजनीति र मधेसबाट भोट पाउनका लागि भइरहेको खेलभन्दा बढि केही नभएको बताउँछन् । मधेसलाई प्रयोग गरेर राजनीतिमा उदाउने यो प्रवृत्ति पञ्चायतकालदेखि खुल्ला राजनीतिमा कांग्रेस, एमाले, माओवादी लगायतका दलहरुले अपनाइरहेको बताउँछन्, मधेसको राजनीतिबारे जानकार विजय कर्ण । कर्णको बुझाईमा सत्ताले सधैँ मधेसको मुद्दालाई वेवास्ता गर्ने तर त्यहाँका नागरिकलाई भने आफू अनुकुल प्रयोग गर्दै आएका छन् । उनी भन्छन्, ‘जुन दिन सत्ताले मधेसको मुद्दालाई सम्बोधन गर्छ र मधेसको चेतनास्तर बृद्धि हुन्छ, त्यो दिनदेखि मधेसका मान्छेहरु बस चढेर काठमाडौँमा अनुहार बेच्न आउनै छोडिदिन्छन् ।’ मधेसी मुद्दा बारे निरन्तर वकालत गरिरहेका लेखक तथा पत्रकार चन्द्रकिशोर झा राज्यले मधेसको पहिचान गर्ने, समावेशी गराउने, राज्यमा सहभागिता गराउने, संघीयतालाई प्रभावकारी बनाउने काम नगरेको स्पष्ट भएको बताउँछन् । तर, काठमाडौंमा भिड देखाउन होस वा चुनावमा आफ्नो शक्ति देखाउने बेला भने सत्ताधारी पार्टी तथा नेताहरुले मधेसलाई उपयोग गरिरहेको चन्द्रकिशोरको ठम्याई छ । उनी भन्छन्, ‘मधेसी जनताको दोहन गर्ने काम अहिले मात्र नभएर राजा महेन्द्रको समयदेखि नै चलिआएको छ । जब राजा महेन्द्रले सैनिक कू गरेर जन निर्वाचित सरकारलाई फाले, उनले सबैभन्दा बढी समय मधेसलाई दिए । मधेसमै उनको स्वागत भयो । पूर्व राजा ज्ञानेन्द्रले पनि आफ्नो राजनीतिक कू गरेपछि आफ्ना अधिकांश दर्शन मधेसका मन्दिरहरूमा गरे ।’ ज्ञानेन्द्रले त्यो बेला मधेसका मन्दीरहरुमा दर्शन गरेर त्यहाँको जनमत आफ्नो पक्षमा पार्ने प्रयास गरेका थिए । ओली र प्रचण्ड प्रवृत्तिः आफ्नो लागि ‘मधेस’को प्रयोग प्रधानमन्त्री ओलीको विरोध सभादेखि उनको समर्थनमा निकालिएका जुलुसहरुमा अहिले मधेसी समूदायको बाहुल्यता प्रष्ट देखिएको छ । उनका प्रिय पात्र महेश बस्नेतले मधेसमै गएर जुलुस निकालिरहेका छन् । यता ओलीको समर्थनमा राजधानीमा भएका जुलुसहरुमा मधेसी मुलका मानिसहरु बिना जुत्ता चप्पल आइरहेका देखिन्छन् ।अहिले मधेसी समूदायमाथि उदारभाव देखाइरहेका केपी शर्मा ओलीले मधेसलाई एकपटक होइन पटक–पटक गिज्याउँदै आएका छन् । आफ्नो अनुकुलताका लागि मधेसमाथि ‘उदारभाव’ देखाउने ओलीले कुनै समय त्यहिँ मधेसलाई ‘माखे साङ्लो’ सम्म भनेका थिए । दोस्रो संविधानसभा गठन भएपछि मधेसी मूलका नागरिकले संविधान नमान्ने र संसोधन गर्नुपर्ने घोषणा गरेका थिए । त्यो बेला मधेसका शहरहरुमा प्रधानमन्त्री ओलीको पुत्ला दहनदेखि संविधान जलाउनेसम्मका घटना भएका थिए । संविधानमा मधेसी समूदायको अधिकार नसमेटिएको र विभेद भएको आवाज चर्किरहँदा २७ असोज २०७२ मा प्रधानमन्त्री ओलीले मधेसी समुदायले हुलाकी राजमार्गमा बनाएको ‘किर्तिमानी मानव साङ्लो’लाई ‘माखे साङ्लो भनेका थिए । ‘यो मानव साङलो होइन, माखे साङलो हो,’ उनले भनेका थिए, ‘संविधान घोषणा भएपछि विकासको काममा जुट्नु पर्नेमा अवरोध पार्ने गरी साङ्लो बनाइएको छ ।’ त्यहीबेला ओलीले मधेस आन्दोलनमा ज्यान गुमाएका ५४ जनालाई लक्षित गर्दै ‘दुई चारवटा आँप झरेर केही नहुने’ अभिव्यक्ति दिएका थिए । मधेसप्रति यत्ति धेरै हेयभाव देखाउने ओलीले तीन अनुहारलाई काठमाडौँमा नाङ्गो खुट्टा उतारेर नारायहिटी अघि उभिएर भने, ‘यो इतिहासकै ठूलो आम सभा हो ।’ यसरी प्रधानमन्त्री ओलीले अहिले आफ्नो सत्ता जोगाउन मधेसी मुलका मानिसलाई ल्याएर भिड जम्मा गरिरहेका छन् । यसरी मान्छेको निर्धनतामाथि राजनीति गरेर अपराधिक कार्य गरेको बताउँछन् राजनीतिक विश्लेषक कर्ण । ‘यो त टेन्डर भयो । राजनीति भन्दा बढी व्यापार भयो,’ उनी भन्छन्, ‘नागरिकले आफ्नो अधिकार नबुझेसम्म अरुले दुरुपयोग गरिरहन्छन् ।’ प्रधानमन्त्री ओलीले आफ्नो शक्ति प्रदर्शनमा मधेसी जनतालाई प्रयोग गरेको सन्दर्भमा मधेस जानकार चन्द्रकिशोर झा को प्रश्न छ, ‘ओलीले आजसम्म मधेसीका के–के मुद्दा उठाए ? सदनमा कति दिन धोती लगाएर गए ? कति दिन गम्छा बेरेर गए ? अहिले सत्ता अफ्ठ्यारोमा पर्दा मधेसी जनता भाडामा ल्याउने, जनकपुरमा गएर पाइजामा, कुर्था लगाउने ?’ ओली मात्र होईनन्, मधेसलाई प्रयोग गर्ने सन्दर्भमा नेकपाको अर्को समूहका अध्यक्षद्वय प्रचण्ड–नेपाल पनि कम छैनन् । पहिलो संविधानसभामा निर्वाचित भएर फर्किएपछि प्रचण्डले रोल्पालाई कहिल्यै फर्केर हेरेनन् । उनले दोस्रो संविधानसभाको चुनाव काठमाडौं क्षेत्र नं १० र सिराहा क्षेत्र नं ५ बाट लडे । तर काठमाडौमा आफुभन्दा निकै कनिष्ठ प्रतिष्पर्धी राजन के.सी सँग पराजित भए । त्यतिबेला सिराहको मतगणनामा पनि प्रचण्ड हार निकट देखिएका थिए । मत गणना भइरहँदा एमालेका उमेद्वार लिलानाथ श्रेष्ठभन्दा प्रचण्ड पछि परे । लगत्तै विना कारण मतगणना सात दिनका लागि रोकियो । र पछि फेरि मतगणना गरेर प्रचण्डलाई जर्बरजस्त जिताइयो । प्रचण्डले मधेसलाई आफ्नो ‘माइती’ सम्म भन्न भ्याए । २८ माघ २०७५ मा सिराहामा आयोजित एक कार्यक्रममा उनले मधेस (सिराहा) आउँदा माइत आएको जस्तो लाग्ने बताएका थिए । २०७० मा सिराहाबाट उमेद्वारी दिदाँ उनले ‘मधेससँग लभ’मा परेको समेत भन्न भ्याए । माओवादी सशस्त्र युद्ध सुरु हुनुअघि २०५२ मा र सुरु भएलगत्तै पनि प्रचण्डले केही समय सिराहामा बिताएको र उक्त क्षेत्रसँग उनको लगाव भएको कुरा प्रचण्ड स्वयंले बताउँदै आएका छन् । तर, मधेसलाई आफ्नो माइती भन्ने, लभ परेको बताउने र आफूले चुनावसम्म जितेको ठाउँ र ती क्षेत्रका मानिसको समस्या र अधिकारका लागि भने प्रचण्डले कहिल्यै पनि आवाज उठाएको भेटिदैन । सधैँ राजनीतिको केन्द्रमा रहने प्रचण्डको अगाडी मधेसको शिक्षा, स्वास्थ्य र त्यहाँको कष्टकर जिवन शैलीले कहिल्यै एजेण्डाको विषय बनेको छैन । संविधान जारी भएपछि मधेसले संविधानमा आफ्नो अधिकार सुनिञ्चित नभएको भन्दै आन्दोलन ग¥यो । तर प्रचण्ड मौन थिए । कोभिड–१९ मा मधेसी मुलका नागरिक काठमाडौँबाट पैदल हिड्दै मधेस झर्दा प्रचण्डको मौनता कायम थियो । यता मधेससँग प्रत्यक्ष जोडिने नागरिकताको विषयमा ८/१० वषैदेखि आन्दोलन र बहस भइरहेको छ । तर प्रचण्डको मौनता तोडिएको छैन । गत वर्ष उनकै पार्टी सत्तामा रहँदा आरक्षणका लागि आन्दोलन भयो । सिमान्तकृत समूदायले पाउनु पर्ने दुई हजार सिट काटिएको विषयमा भएको आन्दोलनमा उनले बोल्न आवश्यक ठानेनन् । तर आरक्षणको सिट काटिदा कयौँ मधेसी नागरिक राज्यको मुल प्रशासनिक संरचनामा प्रवेश गर्नबाट रोकिएका थिए । तर, अहिले ओली र प्रचण्ड दुवैलाई शक्तिप्रदर्शनमा मधेसी समुदायको खाँचो देखिएको छ । मधेसी समुदायलाई साक्षी राखेर उनीहरुले एक अर्का विरुद्ध विष वमन गरिरहेका छन् । विश्लेषक भन्छन्– राजनीतिक चेतनासँगै अवसरको कमि समयक्रम अनुसार मधेसी जनतालाई प्रयोग गर्ने तर अधिकार र समावेशी बनाउने कुरामा भने उनीहरू राज्यको उपेक्षामा पर्नु सबैको लागि ‘ओपन सिक्रेट’ हो । विश्लेषकहरुका अनुसार मधेसी समुदायका दलहरुले नै मुलधारमा पुगेपछि आफ्नो समूदायलाई हेर्न बिर्सन्छन् । सिराहाबाट चुनाव लडेर जितेका प्रचण्डले पछि उक्त क्षेत्रलाई वेवास्ता गरेजस्तै मधेसी दलहरुले पनि आफ्नै समुदायलाई मुलधारमा पुगेपछि बिर्सने गरेको विश्लेषकहरुको भनाइ छ । अहिले आन्दोलनमा मधेसी बाहुल्यताले मधेसमा राजनीतिक चेतनाको कमि भएको झल्काउने विश्लेषकहरुको भनाइ छ । लेखक तथा पत्रकार चन्द्र किशोर भन्छन्, ‘आफू के का लागि र किन आन्दोलनमा आएको भन्ने भेउ नै नपाइ जुलुशमा सहभागी हुने जनतामा राज्यको कमजोरी छर्लंग देखिएको छ । जनतामा यो स्तरको चेतना देखिनु राज्यकै ऐना हो ।’ मधेसको अधिकारको लागि भएको आन्दोलन नेतृत्वकै कमिका कारण असफल भएको निष्कर्ष विश्लेषकहरुले निकालेका थिए । त्यहि असफलताको असर अहिलेसम्म पनि मधेसमा राजनीति देखिएको विश्लेषकहरु बताउँछन् । लामो समयसम्म मधेसी दल तथा मधेसी नेताहरुको साथमा हिँडेका कार्यकर्ताहरुले ती नेता मुलधारमा पुगेपछि आफूलाई नहेरेका कारण निरन्तर पार्टी परिवर्तन गरिरहेको देखिन्छन् । विश्लेषक रिता शाहका अनुसार मधेस आन्दोलनमा संलग्न रहेका युवाहरु अहिले प्रधानमन्त्री ओलीको समर्थनमा भएको ‘धोती जुलुस’मा पनि देखिएका छन् । शाह भन्छिन्, ‘नेता, कार्यकर्ताहरु पनि आफूले राजनीतिमा कुनै पद पाइयोस वा कुनै अवसर पाइयोस भनिरहेका हुन्छन् । मधेसी दलले उनीहरुलाई हेरेको छैन् । मधेसी नेताहरुले सत्तामा पुगेपछि उनीहरुलाई बिर्सिएका छन् । त्यसैले उनीहरु पनि अरु पार्टीसँग आबद्ध भइरहेका छन् ।’ त्यत्ति बेला मधेस आन्दोलनमा लागेका मानिसहरु अहिले ओलीको समर्थनमा आउनुको कारण उनीहरुमा राजनीतिक चेतनाको विकास हुन नसक्नु र अवसर पनि नपाउनु रहेको उनी बताउँछिन् । विश्लेषक कर्ण राजनीतिक रुपमा सचेत नभएका मानिसहरुलाई जुलुसमा उतारेर मधेसकै समस्याको मजाक उडाइएको तर्क राख्छन् । उनी भन्छन्, ‘राजनीतिक रुपमा सचेत भएर आन्दोलनमा आउनु भनेको लोकतन्त्रलाई मजबुत बनाउनु हा । तर व्यक्तिलाई ललाई फकाई गरेर जुलुशमा उतार्नु गरिबीको मजाकवाहेक केही पनि होइन ।’ मधेसी समूदाय अहिले पनि विभिन्न विभेद र अभावहरुबाट गुज्रिरहेको छ । अशिक्षा, जातिय विभेद, लैंगिक विभेद, गरिबीजस्ता असमानताहरु त्यहाँ छन् । यी सबै जसो सामाजिक पूर्वाधारहरु विकास नहुनुको कारण सत्ताले ती क्षेत्रलाई प्राथमिकतामा नराख्नु देखिन्छ । यसरी मान्छेको निर्धनतामाथि राजनीति गर्न खोज्नेहरूले यो अपराधिक कार्य हो गरेको बताउँछन् कर्ण । उनी भन्छन्, ‘यो त टेन्डर भयो, राजनीति भन्दा बढी व्यापार भयो । नागरिकले आफ्नो अधिकार नबुझेसम्म अरुले दुरुपयोग गरिरहन्छन् ।’ मधेसी समूदाय र मधेसी जनतामा राजनीतिक चेतनासँगै अशिक्षा, आर्थिक स्थिति लगायतका आधारभूत पूर्वाधारहरु राम्रोसँग विकास नहुँदासम्म मधेसी जनताले आफ्नो अधिकार नबुझ्ने र सत्ताधारीहरुले उनीहरुलाई निरन्तर प्रयोग गरिरहने विश्लेषकहरुको भनाइ छ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया