NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

मालपोत कर्मचारीलाई सचिवको सुझाव– अंग्रेजीपानी छाडेर अध्यात्मिक चिन्तन गर्नूस्

कर्णाली । मालपोत भन्नेबित्तिकै सबैको टिप्पणी हुन्छ–भ्रष्टाचारको अखडा । त्यसैले नेपालका मालपोत कार्यालय बदनाम छन् । उसैगरी त्यहाँका कर्मचारी पनि । मालपोत कार्यालय र त्यसका कर्मचारीले आफ्नो कार्यसम्पादनबाट बदनामी कमाइरहेका बेला नेपाल सरकारका सचिवले अध्यात्मिक चिन्तन गर्न सुझाएका छन् । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले मालपोतका कर्मचारीलाई आध्यात्मिक चिन्तन गर्न सुझाव दिएका हुन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मालपोत कार्यालयले शनिबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममासचिव पाण्डेले पछिल्लो समयमा मालपोतको सेवा प्रवाहले नागरिक तहबाट थुप्रै गुनासा आउन थालेको टिप्पणी गर्दै अध्यात्मिक चिन्तन गर्न सुझाव दिए । “आध्यात्मिक चिन्तनमा लाग्नुस्, साँझ परेपछि कुखुरा र अङ्ग्रेजी पानीतर्फ लाग्ने होइन,.” कर्मचारीप्रति व्यङ्ग्य गर्दै उनले भने, “अनावश्यक चिन्तनले हाम्रो मानसिकतालाई भ्रष्ट र कमजोर बनाउँछ । औषधि खानुपर्ने अवस्थाले झनै समस्या आउला ।” हामीले आर्जन गरेको सम्पत्तिले भावी पुस्तालाई नपुग्ने भन्दै सचिव पाण्डेले भोलिको पुस्ताले नधिक्कार्ने गरी सार्थकतापूर्वक आफ्नो कर्तव्य पूरा गर्न र सेवा प्रवाहमा आएका विभिन्न त्रुटि एवं ढिलासुस्तीलाई गम्भीरताका साथ ध्यानमा राखेर प्रणालीलाई स्थापित बनाउन कर्मचारीहरुलाई निर्देशन दिए । समीक्षा कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले ‘कोभिड–१९’ का कारण लामो समयसम्म ठप्प भएको मालपोतको काम कारवाही एक्कासि खुला हुँदा बाँध फुटेजस्तो गरी मालपोत कार्यालयमा सेवाग्रहीको भीड लाग्दा बढी समस्या भएको बताए । यद्यपि पछिल्लो समयमा केही कमीकमजोरीसमेत मालपोतमा देखिएको उनको भनाइ थियो ।

ताजा अपडेट

नेपालवाच विशेष