NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

प्रधानमन्त्री ओलीको तीन वर्ष : वचन र व्यवहारमा कति अन्तर ?

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति पूर्व प्रशासक भोजराज पोखरेलको समिक्षा छ, ‘अत्यन्त कठिन अवस्थामा सरकारको नेतृत्व गर्न आउनु भयो । उहाँलाई इतिहासले अत्यन्तै ठूलाे अवसर पनि दियो । सुरुवातका दिनमा आशा लाग्दा काम पनि देखिए । तर, जनताले जुन किसिमले म्याण्डेट दिएका थिए । विस्तारै–विस्तारै त्यस अनुसार नभएको अनुभूती जनतामा हुन थाल्यो । अनि सबैतिरबाट प्रश्नहरु उठ्न थाले ।’ काठमाडाैँ । ‘म ठान्दछु, सबै नागरिकलाई न्याय, अवसर, समानता र मर्यादासहितको लोकतन्त्र मात्र ‘कम्प्रिहेन्सिभ’ अर्थात परिपूर्ण वा वास्तविक लोकतन्त्र हो ।’सरकार सञ्चालनको २ वर्ष पूरा भएको विशेष सन्दर्भमा ठिक एक वर्ष अघि ३ फागनु ०७६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा गरेको सम्बोधनको एक वाक्य हो यो । तर, यस्तो बाचा गरेको १० महिना बित्दा नबित्दै प्रधानमन्त्री ओलीले संविधान विपरित ५ पुस ०७७ मा प्रतिनिधि सभा विघटन गरेर लोकतन्त्रकै घाँटी निमोठे । ओली सरकारले प्रतिनिधि सभाको घाँटी निमोठे वापत बिरोध सभामा जुटेका नागरिक अगुवाहरुलाई १२ माघमा पानीको फोहरा हानियो । जब कि लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेकै शान्तिपूर्ण बिरोध प्रर्दशन गर्न पाउनु हो । प्रधानमन्त्री ओलीका अध्यादेशदेखि प्रतिनिधि सभा विघटनसम्मका सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मसी सुक्न नपाउँदै सदर गरि दिने गरेकी छन् । राष्ट्रपतिको यस शैली विरुद्ध गोरखामा पुगेर अभिव्यक्ति दिएकी नेतृ रामकुमारी झाँक्रीलाई अस्ति २९ पुसमा ‘राज्य बिरुद्धको कसुर’ को आक्षेपमा प्रहरीले पक्राउ गर्यो । जानकारका अनुसार प्रधानमन्त्री ओलीकै प्रत्यक्ष निर्देशनमा झाँक्रीलाई पक्राउ गरिएको थियो । तर, उनलाई पक्राउ गरिएको केही घण्टाभित्रै चर्को जनआक्रोश पोखियो । यसपछि ओलीकै निर्देशनमा झाँक्रीलाई रिहा गरियो । ‘संख्यामा बोल्ने हो भने करिब ८० लाख जनसंख्या गरिबीको रेखामुनी थिए । आर्थिक वर्ष २०७६ को अन्त्यतिर जनसंख्याको ४२ प्रतिशतको अवस्थाबाट यो १६.५ प्रतिशतमा झरेको छ । अब हामी गरिबी निवारण मात्रै होइन, उन्मूलन नै गर्ने गरी अघि बढ्छौं ।’ सरकार सञ्चालनको दुई वर्ष पुगेकै अवसरमा ओलीले दिएको अर्को अभिव्यक्तिको अंश हो यो । ओलीका अभिव्यक्तिहरु सुन्दा यस्तो लाग्छ, उनले जति लोकतन्त्रको रक्षा र विकास–समृद्धिमा चमत्कार आजसम्मका अरु कुनै प्रधानमन्त्रीले गरेका छैनन् र आगामी दिनमा पनि कसैले गर्न सक्ने छैनन् । वचन एउटा कुरा हो । तर, व्यवहार ठीक विपरित चलायमान छ । गरिबी, महंगी, अवैध बजारी, मुल्य बृद्धिले सर्वसाधारण आहात छन् । यता ओली भने गरिबीको मात्र ४२ प्रतिशतबाट घटेर १६.५ प्रतिशतमा झरेको विवरण पस्किरहेका छन् । सर्वसाधारणको दयनीय हालत देख्दा प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको विवरणलाई पत्याउन सकिने आधार छैन । प्रधानमन्त्री ओलीकै शब्द सापटी लिने हो भने एकातिर उनले यो सरकारले जति समृद्धि र सुशासनको काम कसैले गर्न नसकेको, राष्ट्रियताका पक्षमा पत्याई नसक्नु उभार ल्याएको बताउने गरेका छन् । अर्कातिर सरकारलाई काम गर्न नदिएकैले प्रतिनिधि सभा विघटन गर्नु परेको जिकिर गरिरहेका छन् । उनको यो विरोधाभाषले ओली सरकारको उपलब्धी के हो ? खुट्याउन कठिन छ । ओली सरकारमा स्वास्थ्य तथा जनसंख्या र कानून न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हालेका पुर्वउपप्रधान मन्त्री उपेन्द्र यादवका शब्दमा ओली सरकारले के गर्यो, के गरेन ? देखिने काम हो । तर, यी–यी उपलब्धी हुन् भनेर तीन वर्षका तीन वटा काम देखाउन सक्ने अवस्था छैन् । कोरोना रोकथामको औषधी खरिद गर्दा समेत खुलेआम अनियमिता भएको छ । भ्रष्टाचार, आर्थिक अनियमितता बढेको छ । कोरोनाबाट रोजगारी गुमाएका र अति विपन्न वर्गलाई सरकारले केही नै गर्न सकेको छैन् । अर्थतन्त्र चौपट्ट भएर गएको छ । वैदेशिक लगानी र प्रविधि बाहिरबाट भित्रिएको छैन । भित्रिएका एकाध पनि अलपत्र अवस्थामा छन् । ‘शान्ति सुरक्षाका नाममा उस्तै कुशासन छ । महिला अस्मिताको रक्षा हुन सकेको छैन । हत्यारा बलात्कारीहरु खुलेआम हिडिरहेका छन् । सरकारले उनीहरुको पहिचान गरेर कानूनी दायरामा ल्याउन सकेको छैन् । कृषि र उद्योग धरापमा परेका छन् । तीन वर्षसम्म समयमा मल ल्याउन सकेको छैन् । उद्योग धराशायी बन्दैछन् । शिक्षा क्षेत्र चौपट्ट भएको छ । स्वास्थ्य क्षेत्रको हालत उस्तै छ’, यादव बुँदागत रुपमा भन्छन्, ‘परराष्ट्र मामिलामा हेर्ने हो भने कुनै पनि छिमेकीले विस्वास गर्न छाडेका छन् । ओलीले छिमेकीलाई युज एण्ड थ्रो मात्र गरे । त्यसैले सबै मामिलामा देश पछाडि धकेलिएको छ ।’ यादव थप्छन्, ‘राजनीतिक रुपमा हेर्दा प्रधानमन्त्री ओलीले लोकतन्त्र, संघीयता, गणतन्त्र, धर्म निरपेक्षतलाई धरापमा पारेर मुलुकलाई अस्थिर बनाएका छन् । त्यसैले उनले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको नारा विपरित दरिद्र नेपाल, दुःखी नेपाली पो भयो । ओलीले कथनी र करनीमा उल्टो गरेका छन् ।’ जापान सरकारको थिंक ट्याङ्क समुहमा रहेर काम गरिसकेका पुर्वाधार विकास विज्ञ सुर्यराज आचार्य (विद्यावारिधी) को मत पनि यादवको जस्तै छ । आचार्यका अनुसार प्रधानमन्त्री ओलीले तीन वर्षमा देश, वाम आन्दोलन, आफ्नै पार्टी र व्यक्तिगत इतिहासका लागि समेत एैतिहासिक मौका गुमाए । यो तीन वर्षलाई पहिलो ओलीले नै ‘सेटअप’ गरेको शब्द विकास–समृद्धि, दोस्रो लामो समयदेखिको अस्थिरतालाई स्थिरतामा बदल्ने, तेस्रो अन्तराष्ट्रिय सम्वन्धका दृष्टिले नियाल्नु पर्ने आचार्य बताउँछन् । ‘ओलीले लामो राजनीतिक अस्थिरताको अन्त्य गर्छु भन्नु भएकोमा राजनीतिको हालत देखि हालियो । त्यसका लागि उहाँलाई आम जनता, सत्ताधारी, विपक्षी नेता सबैले विस्वास पनि गरेका थिए । त्यसमा प्रधानमन्त्री ओली चुक्नुभयो । राजनीति र नेताहरुलाई व्यवस्थापन गर्ने ठूलो जिम्मेवारी थियो । उहाँले व्यवस्थापन गर्न सक्नु भएन । व्यवस्थापन गर्न नसकेकैले बिग्रह आयो’, समृद्धिको पूर्वाधारप्रति स्पष्ट दृष्टिकोण र ज्ञान भएका आचार्य भन्छन्, ‘विकासबारे उहाँका अभिव्यक्ति सुन्दा के लाग्छ भने समृद्धि चाहिन्छ भन्ने हुटहुटी छ । तर, विकास–समृद्धिको प्रकृया कसरी सुरु गर्ने त्यसको ज्ञान शुन्य छ । यसरी बुद्धि शुन्य कुरा कसरी बोल्न सकेको होला जस्तो लाग्छ । विकासका लागि नीति कस्तो बनाउनु पर्छ भन्ने कुरामै प्रधानमन्त्री ओली चुक्नुभयो ।’ आचार्य थप्छन्, ‘परराष्ट्र सम्वन्धमा पनि अलि उत्ताउलो हुनुभयो । आफ्नो अभिव्यक्तिका बाछिटा के पर्छन भन्ने जुन किसिमको गाम्भियर्तासहित प्रस्तुत हुनु पर्दथ्यो, त्यो देखिएन । झण्डै दुई तिहाइको बलियो सरकारमा जे कति उपलब्धी हासिल गर्नु पर्ने थियो । गर्न सकिन्थ्यो । त्यसमा ओली चुक्नु भयो । आफ्नै इतिहासलाई न्याय गर्न सक्नु भएन ।’ पूर्व प्रशासक भोजराज पाेखरेलका शब्दमा प्रधानमन्त्री ओलीले अत्यन्तै जटिल अवस्थामा कार्य सुरु गरेका थिए । उनले सरकारको नेतृत्व गरिरहँदा देश, राजनीति अत्यन्तै फोहोर र हिलैहिलोमा थियो । जहाँ पनि दलिय हस्तक्षेप थियो । त्यो फोहोरलाई सफा गर्ने, मुलुकलाई सुशासनमा लैजाने हाईवे बनाउने संचरना खडा गर्ने, कानून बनाउने, प्रणालीहरु विकास गर्ने, स्थिर सरकार चलाउने मौका इतिहासले ओलीलाई दिएको थियो । ‘अत्यन्त कठिन अवस्थामा सरकारको नेतृत्व गर्न आउनु भयो । उहाँलाई इतिहासले अत्यन्तै कठिन अवसर पनि दियो । सुरुवातका दिनमा आशा लाग्दा काम पनि देखिए । तर, जनताले जुन किसिमले म्याण्डेट दिएका थिए । विस्तारै–बिस्तारै त्यस अनुसार नभएको अनुभूती जनतामा हुन थाल्यो । अनि सबैतिरबाट प्रश्नहरु उठ्न थाले’, नेपालवाचसँग पोखरेलको भनाई छ, ‘प्रश्नहरु मलाई राम्रो बाटोमा लैजान नै उठाइएका हुन् भनेर ग्रहण गर्नुहोला भन्ने मलाई लागेको थियो । तर, मेरा विरुद्ध प्रश्न उठाउने भनेर लिन थाल्नुभयो । उहाँसँग मैले काम गरेको छु, उहाँ चतुर, जिज्ञासु, अत्यन्त बुझ्ने हुनुहुन्छ ।’ पोखरेल थप भन्छन्, ‘राजनीतिक जीवनको उद्धराद्धमा आएपछि उहाँले पछिल्लो जुन कदम चाल्नु भयो, आफूलाई जुवाको खालमा हाल्नुभयो । उहाँ जस्तो बुझ्ने मानिसले जीवनलाई किन जुवाको खालमा हाल्नुभयो, त्यो चाहिँ बुझि नसक्नु छ ।’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापा तीन वर्षे कार्यकाललाई आफूले समिक्षा नगरेको बताउँछन् । भन्छन्, ‘प्रधानमन्त्रीज्यूले भोलि ११ बजे प्रेस ब्रिफिङ गर्नु हुन्छ । उपलब्धीहरु त्यसमार्फत आउँछन् ।’

ताजा अपडेट

नेपालवाच विशेष