NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

छापाबाट : नेकपा विवाद नसल्टिँदै आचारसंहिता तयारी

काठमाडौं । मन्त्रिपरिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि यो प्रकरण अहिले सर्वोच्चमा छ । यसबारे छिनोफानो गर्न सर्वोच्चले अझै केही साता लगाउने ठानिएको छ । अर्कातिर विभाजित नेकपाको विवाद निरूपण हुन सकेको छैन । यही अन्योलताबीच निर्वाचन आयोगले भने आचारसंहिता जारी गर्ने तयारी गरेको छ । कान्तिपुर दैनिकले आज ‘नेकपा विवाद नसल्टिँदै आचारसंहिता तयारी’ शीर्षकमा मुख्य समाचार बनाएको छ । समाचारअनुसार, आचारसंहिताको मस्यौदाबारे आइतबार आयोगले दलहरूसँग छलफल गरेको छ । जसमा नेकपा प्रचण्ड–माधव नेपाल समूहका नेताले आधिकारिकता विवाद नसल्ट्याइ निर्वाचनसम्बन्धी कुनै पनि गृहकार्य नगर्न चेतावनी दिएका छन् । ‘प्रचण्ड–दाहाल समूहका नेताले एकातर्फ प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन र अर्कोतर्फ गत निर्वाचनमा ६४ प्रतिशत मत प्राप्त गरेको पार्टीभित्र विवाद रहेकै अवस्थामा चुनावको गृहकार्य अघि बढाउन नहुने सुझाव आयोगलाई दिएका छन्,’ कान्तिपुर समाचारमा लेखिएको छ । बैतडी दोगडाकेदार गाउँपालिकाकी भागरथी भट्टको बलात्कारपछि भएको हत्याबारे निरन्तर सामग्री छाप्दै आएको कान्तिपुरले त्यही ठाउँमा पाँचवटा हत्या भएको नयाँ तथ्य सार्वजनिक गरेको छ । यसअघि पटक पटक हत्या भए पनि तिनको छानबिन नै नभएको पाइएको छ । यसअघि भएका घटनाको छानबिन नभएकाले त्यस्ता आपराधिक मनोवृत्ति पटक पटक प्रकट भएको कान्तिपुर समाचारको सार छ । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको तीनवर्षे कार्यकालको समीक्षा पनि कान्तिपुरले गरेको छ । ‘जुन जगमा टेकेर ओली ०७४ फागुन ३ मा प्रधानमन्त्री बनेका थिए, तीन वर्षमा सबैभन्दा बढी त्यही जग धर्मराएको छ । संविधान, गणतनत्र, धर्मनिरपेक्षता, संघीयतालगायत पछिल्ला शासन व्यवस्थाका उपलब्धिमाथि सबैभन्दा बढी प्रश्न उनकै कारण उठेको छ,’ कान्तिपुर समीक्षामा भनिएको छ । ओलीको आत्मघाती अहंले ऐतिहासिक अवसर गुमेको नयाँ पत्रिकाको ठम्याइ छ । ‘हिमाल वारिपारि रेल र हिन्द महासागरमा राष्ट्रिय ध्वजावाहक पानीजहाज सञ्चालनको घोषणासमेत गरेका ओलीले पूर्वाधारमा संवेदनशीलता देखाउन सकेनन्, ओलीबाट भविष्य रचनाको आशा बोकेको समाज अहिले उनले गरेको ध्वंशबाट देशलाई जोगाउन सर्वोच्च अदालतको गुहार गर्दैछ,’ ओली सरकारबारे नयाँ पत्रिका समीक्षाको सार छ । भागरथी हत्या प्रकरण, कोरोना खोप खरीद, प्रतिनिधिसभा विघटनबारे सर्वोच्चमा जारी बहसलगायत विषयलाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा समेटेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष