झापामा मुस्लिमको मदरसा बनाउन हिन्दूले गरे जग्गादान

झापाको विर्तामोड नगरपालिका–३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा निर्माणका लागि एक हिन्दू समाजसेवीले जग्गादान गरेका छन् । मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईंले रु १५ लाख मूल्य पर्ने १२ धुर जग्गा दान दिएको प्रदेशसभा सदस्य एकराज कार्कीले जानकारी दिए । अरु जग्गा सहुलियत मूल्यमा खरिद गरेर आठ कठ्ठा जग्गा पुर्याइने र मदरसा भवन निर्माण गरिने मदरसाका प्रमुख अफरोज खानले बताए । हाल स्थानीय मस्जिदमा कक्षा ४ सम्म मदरसा सञ्चालन हुँदै आएको छ । जग्गा प्राप्त भएको समावेशी टोलमा कक्षा १२ सम्म पठनपाठन हुनेगरी मदरसाको भवन निर्माणका लागि सबै धार्मिक समुदायका दाताहरुलाई आह्वान गरिएको अध्यक्ष खानले बताए । सो क्षेत्रमा मुस्लिम समुदायका १५० परिवार बसोबास गर्दै आएको छ । नजिक कुनै विद्यालय नभएको हुँदा मुस्लिम समुदायका सबै बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन मदरसा स्थापना गरिएको वडाध्यक्ष भोजराज सिटौलाले बताए । समाजसेवी प्रसाईं हिन्दू हुन् । उनको जग्गादानले नेपाली समाजमा परापूर्वकालदेखि कायम रहँदै आएको हिन्दू–मुस्लिमबीचको सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई उजागर गरेको स्थानीय पत्रकार विजय बरालले बताए । जग्गादाता प्रसाईलाई आइतबार एक समारोहबीच मदरसाले सम्मान गरेको छ । मुस्लिम समुदायका बालबालिका शिक्षाको उज्यालोबाट वञ्चित हुन नपरोस् भनेर मदरसा सञ्चालनका लागि आफूले जग्गा दान गरेको उनले बताए । रासस
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया