NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

हवाई पूर्वाधार तथा पर्यटनमा सरकारको तीन वर्ष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक समृद्धिको दरिलो आधारको रुपमा पर्यटन क्षेत्रलाई लिएर यसको विकास विस्तारमा जोड दिने जनाएका छन् । सोमबार आफ्नो तीन वर्षको कार्यकालको समिक्षा गर्दै प्रधानमन्त्री ओलीले यो अवधिमा तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको नीतिगत सुधारदेखि पूर्वाधार विकास तथा सम्पदाको पुनःनिर्माणको कामलाई तीव्रता दिएको बताए । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनको क्षेत्रमा प्रधानमन्त्री ओलीले गरेका समिक्षाअनुसार गएको तीन वर्षमा पर्यटकीय पूर्वाधारको महत्वपूर्ण पाटो विमानस्थल निर्माण, विस्तार र स्तरोन्नतिका साथै भूकम्पबाट भत्किएका सम्पदाको पुनःनिर्माणमा आशाजनक काम भएका छन् । कोभिड–१९ महामारीको असहज परिस्थितिमा पनि निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक रहेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार छिटै सञ्चालनमा आउन लागेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थको भौतिक प्रगति ९८ दशमलव आठ प्रतिशत रहेको छ । यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हाल ७० प्रतिशत भौतिक प्रगति रहेको छ । यदि कोभिड महामारी नभइदिएको भए यी विमानस्थल यतिखेर सञ्चालनमा हुन्थे । पर्यटनमन्त्री भानुभक्त ढकाल निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थल क्रमशः पोखरा र भैरहवाको निर्माणलाई तीव्रता दिई छिट्टै सञ्चालनमा ल्याउने गरी कार्य भइरहेको बताउँछन् । पर्यटनमन्त्री ढकालले राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थलमा बाँकी रहेको प्राविधिक काम पनि छिटै सक्ने योजनाका साथ काम अघि बढेको जानकारी दिए । ‘कोभिड–१९ का कारण प्राविधिक जनशक्ति अभावले केही काम बाँकी छ, त्यो समस्या पनि छिट्टै समाधान हुने गरी काम अघि बढाएका छौँ,’ पर्यटनमन्त्री ढकाललेले भने । मन्त्री ढकालका अनुसार भएका विमानस्थलको व्यवस्थित र स्तरोन्नति गरिने छ । क्षेत्रीय विमानस्थलको विकास र स्तरोन्नतिका साथै अन्य विमानस्थलको स्तरोन्नति गर्ने कार्य शीघ्र अघि बढाइने छ । उनले अन्तर प्रदेश हवाई उडानका साथै अन्य बाह्य मुलुकसँगको हवाई सम्पर्क सञ्जाल विस्तारका लागि मन्त्रालयले योजना बनाइरहेको जानकारी दिए । इजरायलसँग सिधा सवाइसेवाको लागि छलफल पर्यटन मन्त्री ढकालले पछिल्लोपटक इजरायलसँग सिधा हवाई उडान सञ्चालनबारे नेपालका लागि इजरायली राजदूतसँग छलफल गरेका थिए । हाल नेपालले विभिन्न ४० मुलुकसँग हवाई सेवा सम्झौतामा हस्ताक्षर गरिसकेको छ । क्यानका महानिर्देशक राजन पोखरेलले कोभिड महामारीले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनामा केही असर परे पनि अहिले निर्माण कार्य पूर्ववत् अवस्थामा फर्किसकेको र पूर्वाधारका निर्माणको कामले गति लिएको बताए । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा आन्तरिक विमानस्थलको व्यवस्थापन र सुदृढीकरणका लागि क्यानले योजनाबद्ध कार्यक्रम अघि बढाएको उनको भनाइ छ । चीनको हुवई प्रान्तको वुहानलगायत शहरमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी रुपमा फैलएसँगै यसले विश्व अर्थतन्त्रलाई शिथिल बनायो । बौरिदैं पर्यटन क्षेत्र महामारीले झण्डै १० महिना मुलुकको विकास तथा आर्थिक क्रियाकलापमा नराम्ररी असर प-यो । कोभिडबाट अर्थतन्त्रका अन्य क्षेत्र जस्तै सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै पुरानै लयमा फर्कने अवस्थामा छ । पर्यटनको महत्वपूर्ण पाटो आन्तरिक हवाई उडान पूर्ववत् अवस्थामा फर्किसकेको छ भने बढी मारमा परेको होटल क्षेत्रमा केही सकारात्मक सञ्चार छाएको छ । विदेशी पर्यटकको आवागमन विस्तारै बढ्दैछ । पर्यटनका अन्य व्यवसाय पनि शुरु भइसकेका छन् । पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटको भिडभाड हुनथालेको छ । कोभिड महामारीकैबीच गत असोज ५ गतेदेखि मुलुकको आन्तरिक उडान शुरु भएको थियो । त्यस्तै गत भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान खुलेको भए पनि उडान सङ्ख्या बढ्न सकेको छैन । कात्तिक महिनादेखि पर्वतारोहण र पदयात्रा खुलेको छ । मङ्सिरबाट पर्यटनका अन्य गतिविधि पनि पुनः सञ्चालन भइसकेका छन् । तुलनात्मक लाभका दृष्टिकोणले मुलुकको अर्थतन्त्रलाई टेवा दिन पर्यटन क्षेत्रको समग्र विकास, परिवर्तित र आधुनिक परिवेश सुहाउँदो सेवा स्तरीकरण तथा पर्यटकीय पूर्वाधार विकासलाई प्रभावकारी रूपमा अघि बढाइएको छ । पर्यटनलाई प्राथामिकतामा राखिने सरकारले पन्ध्रौँ पञ्चवर्षीय योजनाको आधारपत्रमा पनि नेपालको पर्यटन क्षेत्रलाई प्रमुख प्राथमिकतायुक्त क्षेत्रको रुपमा व्याख्या गरेको छ । नेपालको कूल गार्हस्थ्य उत्पादनमा हाल पर्यटन क्षेत्रको तीन प्रतिशत योगदानलाई बढाएर १० प्रतिशत पु-याउने लक्ष्य लिएको छ । नेपालको पर्यटन क्षेत्रलाई विशेष अभियानकै रुपमा प्रवद्र्धन गर्नका लागि सरकारले अघिल्लो वर्ष नेपाल भ्रमण वर्ष २०२० अभियानको घोषणा गरेर सो अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो तर कोभिड महामारीले सो कार्यक्रम स्थगित गरियो । हवाई पूर्वाधारमा उपलब्धि प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सार्वजनिक गरेका सरकारको प्रगति विवरणअनुसार मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग पुनःनिर्माण गरिएको छ । विमानस्थलको धावन मार्गको जीर्णोद्वार गरिएको हो । यो पुनःनिमाण ४० वर्षपछि तोकिएको समयभित्रै सम्पन्न भएको आयोजना मानिएको छ । यस अवधिमा नेपालका ५३ विमानस्थलमध्ये बाह्रै महिना सञ्चालन हुने विमानस्थलको सङ्ख्या २९ बाट ३६ पुगेको छ । यीमध्ये रात्रिकालीन उडानयोग्य विमानस्थलको सङ्ख्या आठ पुगेको छ । विराटनगर, सुर्खेत र महेन्द्रनगर विमानस्थललाई प्रदेश र स्थानीय तहसँग समन्वय गरी विस्तारको काम अघि बढाइएको छ । धनगढी, काठमाडौँ, जनकपुर, विराटनगर र भद्रपुर विमानस्थलमा प्रतिकूल मौसमको समयमा पनि भूउपग्रहमार्फत उडान तथा अवतरण हुने प्रणालीको स्थापना गरिएको छ । सम्पदा तर्फ भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माणको कामले पनि गति लिएको छ । हालसम्म करीब ५६५ सम्पदाको पुनःनिर्माण सकिएको छ । बाँकी सम्पदा पुनःनिर्माणको काम चाँडै सक्ने योजना छ । भूकम्पबाट क्षतिग्रस्त धरहरालाई ‘ऐतिहासिकता झल्कने र आधुनिकता टल्कने’ गरी नेपालको गौरवको रुपमा उभ्याउन सफल भएको छ । अहिले २२ तल्ले धरहराको २१औँ तल्लाको ढलान सम्पन्न भइसकेको छ । यसै वर्ष निर्माण पूरा हुँदैछ। मन्त्रालयको नीतिगत सुधारतर्फ नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरी सेवा प्रदायक र नियामक निकाय बनाउने गरी विधेयक राष्ट्रियसभामा पेश भइसकेको छ । पर्यटन ऐन र हवाई नीतिको अन्तिम मस्यौदा तयार भई अन्तर मन्त्रालय छलफलको क्रममा छ । महत्वपूर्ण पर्यटकीय पूर्वाधारको रुपमा रहेको हस्पिटालिटी क्षेत्रमा अबको दुई वर्षको अवधिमा निर्माणाधीन झण्डै १० वटा पाँचतारे होटल पूर्ण सञ्चालनमा आउनेछन् । काठमाडौँ, भैरहवा, नेपालगञ्ज पोखरामा पाँचतारे होटल थपिएका हुन् । होटल एशोसिएशन अफ नेपाल हानका अनुसार अहिले मुलुकमा करीब चार हजार ८०० श्यया छन् । पर्यटकस्तरीय करीब दुई हजार होटल छन् । रासस

ताजा अपडेट

नेपालवाच विशेष