मध्य नाइजेरियामा बन्दुकधारीको आक्रमणमा गाउँलेको हत्या र घरमा आगजनी

काठमाडौं । बन्दुकधारीहरूले नाइजेरियाको एक अस्थिर राज्यको मुख्य क्रिश्चियन गाउँमा आक्रमण गर्दा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको छ । साथै २४ ओटा घरहरू जलाएको स्थानीय अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । पठार राज्यमा मुस्लिम र क्रिश्चियन किसानहरूबीचको वर्षौंदेखि संघर्ष चलिरहेको छ । यद्यपि अधिकारीहरूले प्रायः आपराधिक गिरोहहरूलाई हालैका आक्रमणहरूको लागि दोष लगाउँदै आएका छन् । आक्रमणकारीहरूले मङ्गलबार राति पठारको बासा स्थानीय सरकारी क्षेत्रको आन्चा समुदायमा आक्रमण गरेको अधिकारीहरुले बताएका छन् । आक्रमणकारीहरु रातको समयमा बन्दुक लिएर गोली हान्दै आएका र केही समयपछि मात्र सुरक्षाकर्मीहरु पुगेका आन्चा निवासी डिक्सन अटाले टेलिफोनमार्फत एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । ‘गोलीको आवाज सुनेपछि हामी मध्ये केही झाडीमा भाग्न सफल भयौं र यसरी हामी भाग्यौं’, स्थानीय इरिग्वे समुदायका नेता डेभिडसन मलिसन बताए । आक्रमणमा १८ जनाको ज्यान गएको उनले बताए पनि आधिकारिक रुपमा कतिको ज्यान गयो भन्ने खुलेको छैन । ‘दुई घण्टाभन्दा बढी समयसम्म चलेको आक्रमणमा १८ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्,’ मलिसनले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् । २४ ओटा भन्दा बढी घरमा आगजनी हुनुका साथै सवारी साधन, मोटरसाइकल र बाली नष्ट भएको उनले जानकारी दिएका छन् ।
प्रतिक्रिया