राम्राे जागिरकाे प्रलाेभनमा ठगकाे पछि नलाग्न साउदीस्थित नेपाली राजदूतावासकाे अनुराेध

काठमाडौं । राम्रो रोजगारी पाइने नाममा भइरहेको काम छोडेर ठगहरूको प्रलोभनमा नपर्न नेपाली श्रमिकहरूलाई नेपाली राजदूतावास साउदी अरवले अनुरोध गरेको छ । साउदीबाट फर्कनका लागि चाहिने बहिर्गमन भिसा, हवाइ टिकट, सीसीएमसी फारम भर्न, फोटोकपी खर्च लगाएको शीर्षकमा पनि अनावश्यक रूपमा नेपाली श्रमिकहरू ठगिएका र ट्राभल्समा पुगेकालाई समेत ठगिएको गुनासो आएकाले दूतावासले प्रेस विज्ञप्तिमार्फत सचेत रहन सबैलाई सूचीत गरेको हो । साउदी अरबमा लामो समयदेखि बस्दै आएका केही नेपालीहरूले छद्म नाम/परिचयबाट र फेरिरहने टेलिफोनबाट सिधासादा नेपाली कामदारलाई सम्पर्क गरी ठग्ने गरेका गुनासाहरू दूतावासमा आएका छन् । दूतावासले भनेको छ, ‘भखरै ईकामा (नयाँ भिसा)बनाएका श्रमिकहरूलाई उनीहरूले खाइपाइ आएको तलब भत्ताभन्दा बढी दिने बाहनामा भइरहेको रोजगारी छाड्न प्रेरित गर्ने र गैर–कानूनी हिसाबले काममा लगाउने गरिएको छ । कम्पनी छोडेर भाग्नु गैरकानूनी र अनैतिक हो भने त्यस्ता कामदार भगाउनु अपराध हो ।’ नेपाली दूतावासले साउदी अरवमा कामदारलाई भगाउने र कामदार भाग्ने क्रम बढेकोले यस प्रकारको निन्दनीय काम नगर्न÷नगराउन सम्बन्धित सबैलाइ अनुरोध गरेको छ । साथै मानव तस्करीका रूपमा रहेको कामदार भगाउने अपराधमा संलग्नहरूको अधिकारीहरूले सूक्ष्म हिसाबले खोजी गरिरहेको हुँदा यस प्रकारका आपराधिक क्रियाकलापमा संलग्न नहुन सम्बन्धित सबैलाई सचेत गरेको छ । नेपाली दूतावासले साउदी अरबमा गैर–कानूनी हैसियतमा रहेको व्यक्ति बिरामी भएर उपचार गर्नुपर्दा अस्पतालमा छिर्न नपाइने, दुर्घटना भएर घाइते वा अंगभंग वा अपांग भयो भने त्यसको उपचार र क्षतिपूर्ति नपाइनेसमेत बताएको छ । साथै त्यस्तो व्यक्तिको मृत्यु हुन गएमा मृतकको शव नेपाल पठाउने जिम्मा समेत कसैले नलिने हुँदा कसैको प्रलोभनमा परी वा क्षणिक लाभ हेरेर आफ्नो कम्पनीबाट भाग्ने र गैर कानूनी हैसियतमा बस्ने काम कदापि नगर्न÷नगराउनु सम्बन्धित सबैमा दूतावासले सचेत गराएको छ ।
प्रतिक्रिया