हिमालय एयरलाइन्सको जहाजबाट यात्रुको आठसय डलर चोरी

काठमाडौं । निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सको जहाजबाट यात्रुको डलर चोरी भएको छ । गत २७ पुसमा दिउँसो १ बजेर ४५ मिनेटको फ्लाइटमा काठमाडौंबाट ढाका पुगेका ती यात्रुको लगेजबाट आठ सय डलर हराएको हो । आफ्नो पैसा हराएको भन्दै ती यात्रुले यतिबेला वायुसेवा कम्पनीमा पत्राचार गरेका छन् । ढाका विमानस्थल पुगेर सिसिटिभी फुटेज हेर्दा पनि केही प्रमाण भेट्न नसकेकोबारे उनले उक्त पत्रमा उल्लेख गरेका छन् । उक्त डलर राखिएको खाम नै च्यातेर पैसा चोरिएको उनले जनाएका छन् । हिमालयका एक अधिकारीका अनुसार यसबारे कम्पनीको आन्तरिक टोलीले छानबिन गरिरहेको छ । उनका अनुसार विमानस्थलमा पुगेपछि यात्रुको लगेज जहाज चढाउनेलगायतका ग्राउण्ड ह्याण्डलिङको काम नेपाल वायुसेवा निगमले गर्ने हो । ‘ग्राउण्ड ह्याण्डलिङको काम निगमले गर्छ अनि गोलमाल हामीले गरेको भन्ने आरोप आउँछ,’ उनले भने, ‘तर, हाम्रो यात्रु भएको हुँदा त्यसमा हामीले सहयोग गर्नैपर्छ । त्यसकारण आन्तरिक छानबिन नटुंगिएसम्म भन्न सकिने अवस्था छैन ।’
प्रतिक्रिया