लिपुलेकबारे मोदीको अभिव्यक्तिप्रति सरकारको मौनता आपत्तिजनक : विवेकशील साझा

काठमाडौं । विवेकशील साझा पार्टीले नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको सार्वजनिक अभिव्यक्तिबारे नेपाल सरकारको मौनताप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका प्रवक्ता शरदराज पाठकले आज विज्ञप्ति जारी गर्दै सरकारको मौनतालाई अस्वाभाविक र रहस्यमय भएको बताएका छन् । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि छ’, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिको पूर्णपाठ : लिपुलेकबारे भारतीय प्रधानमन्त्रीको अभिव्यक्ति र नेपाल सरकारको मौनता आपत्तिजनक नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको सार्वजनिक अभिव्यक्तिबारे नेपाल सरकारको अस्वाभाविक एवम् रहस्यमय मौनताप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि छ । कूटनीति निःसन्देह आवेग र उत्तेजनाको विषय हाइन । तर अन्तर्राष्ट्रिय कानुनविपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि लगातार ठाडो हस्तक्षेप गर्ने भारतको मिचाहा प्रवृत्ति पुनरावृत्त हुँदा नेपाल सरकारले समयमै आवश्यक प्रतिवाद गर्न नसक्ने हो भने त्यसका दूरगामी असर मुलुकले भोग्नुपर्ने हुन्छ । नेपाली भू–भागमा छिमेकीको मनपरी देशप्रेमी कुनै पनि नागरिकलाई स्वीकार्य छैन । नेपाली भूमिमा गरिआएका सबै खाले संरचना निर्माण कार्य तत्काल रोक्नुपर्ने दह्रो अडानसहित भारतसँग अविलम्ब कूटनीतिक संवाद अघि बढाउन विवेकशील साझा पार्टी सरकारलाई आग्रह गर्दछ । शरदराज पाठक प्रवक्ता विवेकशील साझा पार्टी ३० पुष, २०७८ ।
प्रतिक्रिया