NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

एयरलाइन्सको ठगीबारे एक वर्षअघि नै टुंग्याइसकेको विषयमा मन्त्री आलेले फेरि बनाए छानबिन समिति

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले एक वर्षअघि नै भएको छानबिनमा फेरि समिति गठन गरेका छन् । छानबिन भएर कारवाही सिफारिश भइसकेको कोरोना महामारीमा यात्रु ठग्ने एयरलाइन्सका विषयमा पुनः छानबिन हुने भएको हो ।  मन्त्री आलेले मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा कोरोनाकोे पहिलो र दोस्रो लहरको बेलामा भएका उद्दार उडानका क्रममा राष्ट्रिय ध्वजावाहकलाई कम उडान दिएको र अन्यले बढी भाडा असुलेको विषयमा छानबिन हुने भएको हो ।  एक वर्षअघि नै सोही विषयमा छानबिन भएर प्रतिवेदन पनि बुझाइसकेको विषयमा फेरि छानविन हुन लागेको विषयमा मन्त्रालयकै अधिकारी अचम्मित छन् । ०७७ मा तत्कालीन सरकारले चार्टर्ड उडानको स्वीकृति पाएका ट्राभल एजेन्सी र एयरलाइन्सले गरेको ठगीबारे छानबिन गरेको थियो ।  मन्त्रालयले प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक देवचन्द्रलाल कर्ण, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, मन्त्रालयका उपसचिव नरहरि घिमिरे, पर्यटक प्रहरी निरिक्षक चन्द्रकिशोर साह सदस्य रहेको छानविन समिति गठन गरेको थियो । समितिले ट्राभल एजेन्सीतर्फ प्रेसिडेन्ट ट्राभल्स र मेगाबाइट ट्राभल्सलाई दोषी ठहर गर्दै कारवाहीको लागि सिफारिश गरेको थियो । साथै एयरलाइन्सतर्फ टर्किस एयरलाइन्स र कतार एयरवेजलाई पनि कारवाहीको लागि सिफारिस गरेको थियो ।  त्यतिबेला समितिमा भाडा महंगो भएकोबारे कुल २५ वटा उजुरी परेका थिए । त्यसमध्ये कतार एयरवेजविरुद्ध १६, टर्किस एयरलाइन्सविरुद्ध ७ र हिमालय एयरलाइन्सविरुद्ध दुईवटा उजुरी परेका  थिए ।  सोही उजुरीमा छानविन गर्दा कतार एयरवेजको ९ वटा टिकटमा निर्धारण गरिएएभन्दा बढी भाडा असुल गरेको पाइयो । यस्तै, टर्किस एयरवेजको दुईवटा टिकटमा र हिमालय एयरलाइन्सको दुईवटा टिकटमाा महंगो भाडा असुलेको समितिको ठहर थियो ।  तर, समितिले दिएको यो सिफारिशको आधारमा अहिलेसम्म कसैमाथि पनि कारवाही भएको छैन । बरू मन्त्री आलेले सोही प्रयोजनका लागि फेरि पनि सहसचिव लुईंटेल, उपसचिव टेकनाराण पौडेल र नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेम ठाकुरसहितको छानविन समिति गठन गरेका छन् ।  सहसचिव लुइँटेलले अबको दश दिनभित्र्र प्रतिवेदन पेश गर्नुपर्ने जानकारी दिए । एउटै प्रयोजनका लागि फेरि छानविन समिति गठन किन ? भन्ने प्रश्नमा भने उनले कुनै पनि प्रतिक्रिया दिन चाहेनन् ।   

ताजा अपडेट

नेपालवाच विशेष