सरकारको निर्णय अवज्ञा गर्दै कलैयाका निजी विद्यालय, उपमहानगर मौन

युनिक यादव (बारा) । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को सिफारिसमा शिक्षा मन्त्रालयले सोमबार सूचना जारी गर्दै पुस २७ देखि माघ १५ गतेसम्म देशभरका आधारभूत तथा माध्यमिक तहको पठनपाठन भैतिक उपस्थितिमा बन्द गर्न निर्देशन दिएको थियो । कलैया उपमहानगरपालिकाले पनि शिक्षा मन्त्रालयको निर्णय कार्यान्वयन गर्न सूचना जारी गर्दै निर्देशन दिएको छ । तर, शिक्षा मन्त्रालयको निर्णय र कलैया उपमहानगरपालिकाको निर्देशनलाई बाराको सदरमुकाम कलैयाका विद्यालयले लत्याएका छन् । कलैया उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालय बन्द रहेका छन् भने निजीले आफूखुसी विद्यालय सञ्चालन गरेका छन् । केही निजी विद्यालयले विद्यार्थीलाई विद्यालयको पोशाक नलगाइ आउन भनेका छन् । विद्यालयहरूले आज पनि यसरी नै विद्यालय सञ्चालन गरेका छन् । तर, यस विषयमा कलैया उपमहानगरको शिक्षा शाखा मौन छ भने जिल्ला प्रशासन कार्यालय बाराले पनि केही बोलेको छैन । अर्कोतर्फ बारामा कोरोना संक्रमण बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारी कार्यालय र नेताका कार्यक्रमले भिडभाड बुधबार नेकपा (एमाले)को जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रूपमा कलैया आएका केन्द्रीय महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रशासनले स्मार्ट लकडाउन लगाउँदै २५ जनाभन्दा बढी भेला भइ कुनै कार्यक्रम गर्न नपाउने निर्णय गरे पनि यसको ठाडो उल्लंघन भएको छ । कलैया अस्पतालका चिकित्सक भन्छन्, ‘भिडभाड नियन्त्रण नभए बारामा कोरोना संक्रमण झन् बढ्ने खतरा छ ।’ भारतमा कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) व्यापक रूपमा फैलिएपछि नेपालीहरू धमाधम घर फर्किन थालेका छन् । बारा जिल्लामा भने न सीमा नाकामा स्वस्थ्य सावधानी अपनाइएको छ न त जिल्लाभित्रै पनि । जिल्लामा रहेको मटिअर्वा, कवही गोठ, सन्तगञ्ज, सिम्रौनगढ सीमानासहित अन्य कुनै पनि सीमा नाकामा सतर्कता अपनाइएको छैन । हेल्थ डेस्क पनि स्थापना गरिएको छैन । केही नाकामा हेल्थ डेस्क भए पनि ती व्यवस्थित छैनन् । सीमा नाकामा निर्वाध रुपमा आवतजावत हुने गरेको छ । जिल्ला प्रशासन कार्यालयले पनि कोभिड–१९ विरुद्ध केही कदम चालेको देखिएको छैन ।
प्रतिक्रिया