लिपुलेक सडक विस्तार प्रकरण : न गगन बोले न त विश्वप्रकाश, तर बोले धनराज

काठमाडौं । नेपाली राजनीतिमा चुच्चे नक्सा प्रकरण फेरि ब्युँझिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्तामात्र नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पयाधुरामा सडक बनाउँदै गरेको जानकारी दिएसँगै यसले नेपाली राजनीतिमा तरंग ल्याएको हो । यस विषयमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले), विप्लव समूह, नेकपा (एकीकृत समाजवादी), विवेकशील साझालगायतका दलहरू बोलिसकेका छन् । तर, सरकार भने मौन छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका मन्त्री यस विषयमा बोल्छन् भन्नेमा मानिसले त्यति आशा गरेका छैनन् । तर, गत महिनामा सम्पन्न महाधिवेशनबाट उदाएका नयाँ कांग्रेसका दुई युवा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले यस विषयमा मौनता साँध्नु चाहिँ धेरैले आश्चर्यजनक विषय भएको बताइरहेका छन् । जबकि, गगन विश्वप्रकाशहरू प्रतिपक्षमा हुँदा यस विषयमा सामाजिक सञ्जालदेखि संसद्सम्ममा बोलिरहेका हुन्थे । योपटक बोल्नु त परै जाओस् उनीहरूले यस विषयमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाको ध्यानाकर्षणसमेत गराउन सकेका छैनन् । कांग्रेस महाधिवेशनबाट उपसभापतिमा अर्का युवासमेत निर्वाचित भए । उनी हुन् धनराज गुरुङ । धनराजले भने नेपाली भूमिमाथि भारतले दाबा गरिरहेकोबारे हिम्मत गरेर बोलेका छन् । कांग्रेस रुपन्देही क्षेत्र नं. ३ ले आज भैरहवामा आयोजना गरेको कार्यक्रममा उनले सरकार चुप लागेको भन्दै कूटनीतिक नोटमार्फत् समस्या समाधान गर्नुपर्ने माग गरेका छन् । आफ्नै पार्टी सभापति प्रधानमन्त्री रहेको सरकारलाई धनराजले लिपुलेक, कालापानी र लिम्पियाधुराको समस्या समाधान गर्न आग्रह गरेका छन् । ‘अब समस्या समाधान गरी सधैंका लागि हाम्रो भूमि फिर्ता लिनुपर्छ’, उनले भने, ‘यी ठाउँ पछिल्लो समय भारतले अतिक्रमण गरेर सडक नै बनाउन अघि बढेको हो । यसलाई समाधान गर्न ढिलाइ हुँदैन ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि हो भनेर जान्दाजान्दै लिपुलेकसम्म सडक बनाउँदै छौं भन्नु खेदजनक र भत्र्सनाजनक अभिव्यक्ति भएको भन्दै उनले आक्रोशसमेत पोखे ।
प्रतिक्रिया