लिपुलेक सडक विस्तार प्रकरणबारे माओवादी केन्द्र पनि बोल्यो, कांग्रेस मौन

काठमाडौं । नेपाली राजनीतिमा चुच्चे नक्सा प्रकरण फेरि ब्युँझिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्तामात्र नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पयाधुरामा सडक बनाउँदै गरेको जानकारी दिएसँगै यसले नेपाली राजनीतिमा तरंग ल्याएको हो । यस विषयमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले), विप्लव समूह, नेकपा (एकीकृत समाजवादी), विवेकशील साझालगायतका दलहरू आधिकारिक रूपमै बोलिसकेका छन् । तर, सरकार र यसको नेतृत्व गरेको नेपाली कांग्रेस भने मौन छ । सरकारमै सहभागी भएको अर्को प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले भने यस विषयमा मौनता खोलेको छ । माओवादी केन्द्रका अन्तर्राष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले आज विज्ञप्ति जारी गर्दै लिपुलेकमा भारतले शक्तिको बलमा गरेको हस्तक्षेप गरेको भन्दै त्यसको भर्त्सना गरेका छन् । उनले नेपालको सार्वभौम अधिकार र भौगोलिक अखण्डतामाथिको हस्तक्षेप बन्द गर्न भारतलाई चेतावनीसमेत दिएका छन् । भारतलाई पञ्चशील सिद्धान्तको अवलम्बन गर्न र नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि हस्तक्षेप तथा अतिक्रमण बन्द गर्न प्रकाशले चेतावनी दिएका छन् । ‘हामी भारतीय पक्षलाई सबैको सार्वभौमिक समानताको सम्मान गर्ने पञ्चशीलको सिद्धान्तको अवलम्बन गर्न र नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि हस्तक्षेप एवं अतिक्रमण नगर्न जोडदार माग गर्दछौं । शक्तिको बलमा गरिएको भारतीय यस्तो कार्यको हामी घोर भर्त्सना गर्दछौं’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । लिपुलेक प्रकरणमा भारतीय प्रधानमन्त्री मोदीले दिएको अभिव्यक्तिबारे नेपाल सरकारको मौनताप्रति दुःख लागेको उनले बताएका छन् । अधिकांश पार्टीले भारतीय कदमको भत्र्वना गरिहँदा कांग्रेस भने मौन छ । यसबारे उसले हालसम्म आधिकारिक धारणा राखेको छैन । यद्यपि, उपसभापति धनराज गुरुङले भने आजैमात्र यस विषयमा आवाज उठाएका छन् । कांग्रेस रुपन्देही क्षेत्र नं. ३ ले आज भैरहवामा आयोजना गरेको कार्यक्रममा उनले सरकार चुप लागेको भन्दै कूटनीति नोटमार्फत् समस्या समाधान गर्नुपर्ने माग गरेका छन् । आफ्नै पार्टी सभापति प्रधानमन्त्री रहेको सरकारलाई उनले लिपुलेक, कालापानी र लिम्पियाधुराको समस्या समाधान गर्न आग्रह गरेका छन् । ‘अब समस्या समाधान गरी सधैंका लागि हाम्रो भूमि फिर्ता लिनुपर्छ’, उनले भने, ‘यी ठाउँ पछिल्लो समय भारतले अतिक्रमण गरेर सडक नै बनाउन अघि बढेको हो । यसलाई समाधान गर्न ढिलाइ हुँदैन ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि हो भनेर जान्दाजान्दै लिपुलेकसम्म सडक बनाउँदै छौं भन्नु खेदजनक र भर्त्सनाजनक अभिव्यक्ति भएको भन्दै उनले आक्रोशसमेत पोखेका छन् । सम्बन्धित समाचार लिपुलेक सडक विस्तार प्रकरण : न गगन बोले न त विश्वप्रकाश, तर बोले धनराज
प्रतिक्रिया