कांग्रेसका बहादुरसिंह लामा प्रदेशसभा सदस्यमा विजयी

काठमाडौं । नुवाकोटको निर्वाचन क्षेत्र नं. २ को प्रदेश–२ मा नेपाली कांग्रेसका उम्मेदवार बहादुरसिंह लामा (तामाङ) निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका तामाङ १७ हजार दुई सय ४९ मत ल्याएर विजयी बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार विजयसिंह लामा (तामाङ) ले नौ हजार एकसय २४ मत ल्याएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।
यसअघि विसं २०७४ मा प्रतिनिधिसभा सदस्यमा समानुपातिक प्रणालीबाट सांसद तामाङ ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार पोष्टबहादुर बोगटीलाई पराजित गर्दै संंविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
यस निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट साझा रूपमा कांग्रेसका उम्मेदवार बहादुरसिंहले एमालेको उम्मेदवार विजयी सिंहभन्दा आठ हजार एक सय २५ बढी मत ल्याएर निर्वाचित भए ।
उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रणप्रसाद न्यौपानेले दुई हजार छ सय २६, मङ्गोल नेशनल अर्गनाइजेशनका दिलमान तामाङले एक हजार ९०, हाम्रो नेपाली पार्टीका वसन्त सापकोटाले सात सय ३० र स्वतन्त्र उम्मेदवार सिंहराज लामाले ३० मत प्राप्त गरे ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नुवाकोटको दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा सदस्यको निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा एक–एक र प्रदेशसभामा दुई–दुई पद भागबण्डा गरेअनुसार सबै स्थानमा विजयी हासिल गर्न सफल भएका छन् ।
प्रतिक्रिया