NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

दुई महिनामा दुई सय २० आरोहीले हिमाल चढे

काठमाडौं । सरकारले गत कात्तिक १ बाट पदयात्रा तथा पर्वतारोहण खुला गरेपछि दुई सय २० आरोहीले हिमाल चढेका छन् । पर्यटन विभाग र नेपाल पर्वतारोहण संघद्धारा प्राप्त तथ्यांक अनुसार कात्तिकयता एक सय १२ विदेशी र एक सय आठ नेपाली नागरिकले हिमाल आरोहण गरेका छन् । पर्यटन विभागले सातवटा हिमालका लागि हालसम्म १४ ‘परमिट’ जारी गरेको थियो । जसमा ५७ विदेशी र १५ नेपाली गरी ७२ जनाले हिमाल आरोहण गरेका छन् । नेपाल पर्वतारोहण संघबाट यही अवधिमा ४१ ‘परमिट’ जारी गरेको छ । उक्त ‘परमिट’ मार्फत् ५५ विदेशी र ९३ नेपाली गरी एक सय ४८ जनाले हिमाल आरोहण गरेको संघ बताउँछ । महामारीका बीच पनि सुरक्षित ढंगमा आरोहण सफल हुनुले नेपाल पर्वतारोहणको लागि खुला भएको सन्देश गइरहेको विभागकी निर्देशक मिरा आचार्य बताउँछिन् । लकडाउनकाबीच पनि हिमाल आरोहणमा देखिएको पर्यटकको आकर्षणले आगामी आरोहण सिजनको सकारात्मक सन्देश दिएको आचार्यको भनाइ छ । ‘कोरोना महामारीमा पर्वतारोहण गाह्रो छैन भन्ने सन्देशका साथ अर्को सिजनको लागि तयारीमा जुटिसकेका छौं ।’ उनले भनिन् । यता नेपाल पर्वतारोहण संघकी उपाध्यक्ष माया शेर्पा पनि आगामी सिजनका लागि तयारीमा जुटेको बताउँछिन् । ‘पर्यटक आर्कषित गर्न ल्याउन सकिने अफरहरूबारे काम गरिरहेका छौं ।’ उनले भनिन् । संघलेमात्र उठायो १० लाख रोयल्टी पर्वतारोहण संघलेमात्र हिमाल आरोहणबाट करिब १० लाख रुपैयाँ रोयल्टी उठाएको छ । जसमा नेपालीबाट एक लाख ७२ हजार र विदेशीबाट आठ लाख ११ हजार रुपैयाँ रोयल्टी संघले संकलन गरेको छ । हिमाल आरोहणका लागि जानेमा विदेशी भन्दा पनि नेपालीको संख्या बढी भएकाले रोयल्टीमा भने असर परिरहेको शेर्पा बताउँछिन् । ६ हजार पाँच सय मिटरसम्मको हिमालका लागि परमिट जारी गर्दै आएको संघले हिमाल आरोहणका लागि विदेशीबाट शरद ऋतुका लागि एक सय २५, बसन्तमा दुई सय २५, शिशिर र गृष्म ऋतुका लागि प्रतिआरोही ७० डलर उठाउँदै आएको छ । नेपालीको हकमा भने यस्तो रोयल्टी दुई हजार रुपैयाँमात्र छ ।