अधकल्चो पोखरा क्षेत्रीय विमानस्थल: सम्झौता सकिन लाग्दा ल्याण्ड फिल्डमा अन्योल, ठूला विमान नअट्दा घाटा हुने

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनीयाँ कम्पनी सीएएमसी इन्जिनियरिङसँगको सम्झौता अवधि आगामी असारमा सकिँदैछ । आगामी वर्ष सन् २०२२ देखि विमानस्थल सञ्चालनमा ल्याउने लक्ष्य छ । यतिबेला भवनको फिनिसिङ, फायर फइटिङको लागि पाइप लगाउने, प्लम्बिङ, ढल निर्माणलगायतका काम भइरहेको छ । तर, लक्ष्य अनुसारको कार्यप्रगति भने देखिँदैन । पूर्वाधार निर्माण लगायत विमानस्थलको भौतिक प्रगति अहिलेसम्म ७१ प्रतिशत छ । आगामी छोटो अवधिमै सञ्चालनमा ल्याउने तयारी गरिएको विमानस्थलमा ल्याण्ड फिल्ड साइट हटाउने टुंगो लागिसकेको छैन भने भौगोलिक अवस्थिति र ठूला विमान अट्ने पूर्वाधार क्षमता छैन । यस्तो अवस्थामा विमानस्थल संचालनमा आएपनि अपेक्षित परिणाम नदिने विज्ञहरू बताउँछन् । ल्याण्डफिल्ड साइट हटेन, चराको जोखिम विमानस्थलको डेढ किलोमिटर क्षेत्रमै ‘डम्पिङ साइट’ छ । जहाँ चराको अत्याधिक आवतजावत छ। जहाजलाई चराको जोखिमबाट बचाउन त्यहाँको ‘डम्पिङसाइट’ अन्यत्रै सार्नुपर्ने चौतर्फी माग छ । विमानस्थल सञ्चालनमा ल्याउनु एक वर्षअघिदेखि नै हटाउनुपर्ने भनिएको ‘ल्याण्ड फिल्ड साइट’ हटाउनेबारे अहिलेसम्म पनि टुंगो लागेको छैन । सरकारी निकायले डम्पिङ साइटसम्बन्धी गरेको अध्ययन नै चित्तबुझ्दो नभएको पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउँछन् । घिमिरेका अनुसार विमानस्थलमा नवलपरासी, पाल्पा, गुल्मीतिरका गिद्धहरूको बाक्लो आवतजावत छ । ती चराहरू विमानस्थल आसपासमा विहान आएर बेलुका फर्किने गर्छन् । कतिपय चराहरू त त्यहीं बस्छन् । पोखराको रैथाने चरा मानिने सेतो गिद्धको संख्या तीन सयको हाराहारीमा छन् । ती विमानस्थल वरपर बस्ने–घुम्ने गर्छन । त्यहाँ आहाराको खोजीमा आउने चराको व्यवस्थापन कम्तीमा पनि १÷२ वर्ष अघिदेखि नै गर्नुपर्ने घिमिरे बताउँछन् । ‘त्यहाँबाट उनीहरूलाई बानी पार्न भएपनि धेरै अघि देखि व्यवस्थापन थाल्नुपर्छ,’ घिमिरेले भन्छन्, ‘उचित व्यवस्थापन गरिएन भने पछि चराहरू भौंतारिन सक्छन्, यसले झनै जोखिम बढाउँछ ।’ यसबारे विमानस्थल कार्यालयले नै चिन्ता गर्नुपर्नेमा त्यस्तो चिन्ता नदेखिएको उनी बताउँछन् । ‘व्यवस्थित गर्न भन्यौं भने उल्टो हामीलाई नै विकास विरोधी भनिन्छ, तर, उहाँहरूकै काममा बाधा नपुगोस् भनेर हामीले पूर्ववत् जानकारीमात्रै गराएका हौं,’ घिमिरे थप्छन्, ‘चरा ठोक्किएर दुर्घटना भए एयरलाइन्सले उडान नै गदैनन्, यसले विमानस्थललाई नै समस्या हुन्छ ।’ क्षेत्रीय विमानस्थल भएकाले त्यहाँ धेरै जेट विमानहरू आउँछन् । जेटका लागि त चरा झनै खतरनाक हुने अर्का क्याप्टेन शतिश विक्रम शाह बताउँछन् । ‘अन्यको तुलनामा जेटको गति तिब्र हुने भएकाले त्यसमा चरा ठोक्किनु जोखिमयुक्त हुन्छ,’ शाह भन्छन्, ‘पोखराको आन्तरिक विमानस्थलमै पनि अवतरणका क्रममा चरा ठोक्किरहेका हुन्छन् । पहिला पनि चरा ठोक्किएर जहाजका स्पेयरपार्टस मर्मत गरेर ल्याउने गरिरहेका हौं ।’ यता विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मी ल्याण्ड फिल्ड साइट हटाउने सम्बन्धमा नगरपालिकालाई पटक–पटक पत्राचार गरेको बताउँछन् । ‘नगरपालिकाले डम्पिङ साइटलाई विमानस्थलदेखि ८ किलोमिटर पर सार्ने भनेर मौखिक रुपमा बताएको छ,’ उनले भने, ‘लिखित रुपमा भने ठाउँ तोकेर जवाफ आएको छैन ।’ विमानस्थल सञ्चालनमा आउने ६ महिना अघि ‘डम्पिङ साइट’ सार्ने उनले बताए । अट्दैनन् ठूला विमान गत ३ माघमा विमानस्थलको निरिक्षणमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई निर्माणाधीन क्षेत्रीय विमानस्थलका कारण हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलको भविश्यबारे पत्रकारहरूले प्रश्न सोधे । पत्रकारको गम्भीर प्रश्नमा मन्त्री ढकालले उट्पट्याङ जवाफ दिए, ‘मेरै भविष्य त के हुन्छ थाहा छैन, विमानस्थलको भविष्य कसरी भनौं ?’ यतिबेला मन्त्री ढकालकोमात्रै होइन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकै भविष्यप्रति विज्ञहरूले प्रश्न उठाउँदै आएका छन् । विमानस्थल निर्माण भइसकेपछिको उपलब्धि शून्य हुने बताउँछन् क्याप्टेन शाह । ‘ठूला वमान नअट्ने भएपछि साना विमानबाट फाइदा हुँदैन,’ उनले भने, ‘आफ्नो पेलोड घटाएर साना विमान पनि टाढाबाट आउँदैनन् ।’ क्याप्टेन शाहका अनुसार २ सय ५० भन्दा बढी सिट क्षमता भएका विमान हाल निर्माणाधीन पोखरा क्षेत्रीय विमानस्थलमा आउन सक्दैनन् । यसर्थ विमानस्थल साना जहाजका लागिमात्रै उपयुक्त हुने उनी बताउँछन् । पोखरा समुद्री सतहबाट २ हजार फिट उचाइमा छ । विमानस्थल नजिकै तीन देखि पाँच हजार फिटका डाँडा छन् । ती हाल निर्माणाधीन विमानस्थलको पूर्वदेखि पश्चिमसम्म फैलिएका छन् । त्यसको लागि विमानस्थलनमा पूर्वतिरबाट आएर अवतण गर्नुपर्ने हुन्छ । केहीगरी अवतरण गर्न नसके ओभरसुटका लागि वरिपरिका डाँडाले बाधा पु-याउँछन् । ठूला डाँडाका कारण गति दूरीको व्यवस्थापन हुन सक्दैन । ती डाँडाकै करण ठूला विमान त्यहाँ घुमाउन र अवतरण गर्न मिल्दैन । विमानस्थल निर्माणका लागि ती डाँडा कटानी गर्ने निर्णय भएको छ । तर, काम सुरु भइसकेको छैन। अर्कातिर डाँडाको बीचैमा फेवाताल छ । विमानस्थल र डाँडाको दूरी नै दुई माइल भन्दा कम छ । जहाजलाई ‘ओभरसुट’ गर्नुप-यो भने दुई ‘नटिकल माइल’मा घुमाइहाल्नुपर्छ, त्यसो गरिएन भने जहाजको पखेटाले डाँडामा छुन्छ । सफा मौसममा त पोखरामा जहाज अवतरण गर्न गाह्रो हुन्छ भने खराब हुँदा त झनै सकस पर्छ । यसकारण पनि ओभरसुट गर्नुपर्ने अवस्था त आउँछ नै । तर त्यसको लागि सम्भवै नभएको विज्ञ बताउँछन् । ‘ओभरसुट भनेकै मौसम खराब भएपछि गर्ने हो,’ उनले भने, ‘त्यसमाथि पोखरा त चेरापुन्जी नै भयो, आकाश गड्गडाउने र पानी पर्ने त भइरहन्छ ।’ अन्तर्राष्ट्रिय विमानस्थल बन्नु भनेको काठमाडौंको लागि विकल्प बन्नु हो । केही गरी काठमाडौंमा मौसम खराब भए या प्राविधिक समस्या आएमा पोखरामा अवतरण गराउनुपर्ने हुन्छ । तर, ठूला विमानका लागि यो सम्भव हुँदैन । हङकङमा अग्ला गगनचुम्बी संरचनाका कारण विमानस्थल नै सार्नुपरेको थियो । त्यस्ता संरचनाका बीचमा विमानस्थल रहेका कारण विमान दुर्घटना बढेपछि विमानस्थल नै सारिएको थियो । दिवंगत क्याप्टेन रतन लामिछानेले आफ्नो पुस्तक ‘आकाशको दुनियाँ’ मा पोखरामा विमानस्थल बनाउनु फजुल खर्चमात्रै भएको उल्लेख गरेका छन् । पोखरा आउने अधिकांश पर्यटक युरोपेली हुन् । तर, युरोपबाट पोखरामा सीधा उडान हुनका लागि ठूला विमान आउनुपर्छ । ठूला विमान आउनका लागि पोखराको भुगोलदेखि मौसमसम्मले साथ दिँदैन । भुटानबाट आउने अधिकांश पर्यटक लुम्बिनी जान्छन् । पोखरा जान रुचाउनेमा भारतीय पर्यटक पर्छन् । त्यसमा पनि अधिकांश पशुपतिनाथको दर्शनमा पुग्छन् । यस्तो अवस्थामा भारतबाटमात्रै आउने पर्यटकलाई केन्द्रित गरेर उडान गर्दा फाइदा नहुने लामिछानेको निश्कर्ष छ । कति भयो खर्च ? विमानस्थलको लागि छुट्याइएको २४ अर्ब लागतमा हालसम्म १२ अर्ब खर्च भएको आयोजना प्रमुख मुनंकर्मीले बताए । यो वर्ष पूर्वाधारका काम सक्ने र सन् २०२२ को पहिलो महिनामा विमानस्थल सञ्चालनमा ल्याउने लक्ष्य छ । मुनंकर्मीका अनुसार उक्त विमानस्थलमा ६० देखि ८० सिट क्षमताका बोइङ–७३७, एयरबस ३१९–३२०, लगायतका विमान आउन सक्छन् । बैंकक, भारत र चीनका शहर र ७ घण्टाको ‘एयर डिस्टेन्स’ मा रहेका ठाउँबाट जहाजले उडान अवतरण गर्नें उनले बताए । विमानस्थलले वर्षमा दश लाख यात्रुलाई सेवा दिन सक्ने जनाइएको छ ।
प्रतिक्रिया