पशुपतिनाथलाई राजनीतिक स्वार्थको लागि उपयोग गरियो : नेकपा नेता

काठमाडौं । नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले पशुपतिनाथलाई राजनीतिक स्वार्थको लागि उपयोग गरिएको बताएका छन् । आइतबार नेकपा केन्द्रीय संघर्ष समितिको चौथो चरणको आन्दोलन घोषणा कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले आफ्ना नेताहरुको प्रस्तुतिलाई गलत ढंगले तोडमोड गरेर धर्म र पशुपतिनाथलाई संकीर्ण राजनीतिक स्वार्थको निम्ति उपयोग गरिएको बताएका हुन् । पशुपतिनाथ विश्वभरिका हिन्दुहरुको आराध्यदेव र आस्थाको केन्द्र भएकाले आफूहरुले सम्मान गर्ने उनको भनाई छ । यस्तो संवेदनशील पक्षलाई निकृष्ट, तुच्छ स्वार्थको निम्ति दुरुपयोग नगर्न पनि उनले सम्बन्धित पक्षलाई अनुरोध गरे । ‘हाम्रो संविधानले नेपाललाई धर्म निरपेक्ष राज्य भनेको छ, त्यसको अर्थ राज्य धर्मबाट अलग हुने भनेको हो । तर नेपाली जनताको धार्मिक आस्थाको, धार्मिक स्वतन्त्रताको हामी उच्च सम्मान गर्दछौँ र त्यसका निम्ति हामीले संघर्ष पनि गरेका हौँ । हरेक व्यक्तिले धर्म मान्न पाउने छुट छ र हरेक व्यक्तिले आफ्नो सनातनदेखिको वा आफ्नो विवेक अनुसारको धार्मिक आस्था अनुसार अगाडि बढ्न पाउने र त्यसलाई मान्न पाउने छुट छ र त्यसको हामि सम्मान गर्दछौँ’ श्रेष्ठले भने, ‘त्यस्तै पशुपतिनाथ विश्वभरिका हिन्दुहरुको आराध्यदेवको रुपमा लिइन्छ र सबै हिन्दुहरुको आस्थाको केन्द्र हो । त्यसकारणले त्यसको पनि हामी उच्च सम्मान गर्छौ । तर हाम्रा नेताहरुको प्रस्तुतिलाई गलत ढंगले तोडमोड गरेर धर्म र पशुपतिनाथ जस्तो धार्मिक संस्थालाई संकीर्ण राजनीतिक स्वार्थका निम्ति उपयोग गर्ने, यस्तो संवेदनशील पक्षहरुलाई निकृष्ट, तुच्छ स्वार्थको निम्ति दुरुपयोग गर्ने काम नगर्न पनि हामी सबै सम्बन्धितहरुलाई अनुरोध गर्न चाहान्छौँ ।’ प्रवक्ता श्रेष्ठले आफूहरु सडक संघर्षमा मात्रै नभई कानुनी मोर्चामा पनि संघर्ष गरिरहेको बताए । सरकारले निर्वाचन गराउनको निम्ति निर्वाचनको मिति घोषणा गरेको होइन भन्नेमा प्रष्ट हुनुपर्ने बताए । संघर्ष सफल बनाएर संसद पुर्नस्थापना गर्ने पनि उनको दाबी छ ।
प्रतिक्रिया